तिलौराकोटमा पर्यटकलाई पलाँसको निम्तो (तस्बिरहरू)

विनोद परियार १७ फागुन २०७९ १०:२८
250
SHARES
तिलौराकोटमा पर्यटकलाई पलाँसको निम्तो (तस्बिरहरू)

लुम्बिनी- शिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको आगमनसँगै तिलौराकोटमा पलाँस फुलिरहेको छ। सिद्धार्थ गौतमले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु दरबारभित्र पलाँसले पर्यटकलाई स्वागत गरेको छ।

सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि दरबार त्यागेका थिए। त्यसैले तिलौराकोट दरबार बौद्धमार्गीहरूको श्रद्धाको स्थल मानिन्छ। यही स्थलमा यतिखेर पलाँस र केही सिमलका राताम्ते दृश्यले पर्यटकलाई लोभ्याएको छ।

बुद्धकालमा पलाँस, बर, पिपल, बेल, बाँस, अशोक जस्ता वृक्षहरूको चर्चा गरिएको छ। त्यसो त प्राचीनकालदेखि नै पलाँसलाई औषधि मूलोको रूपमा प्रयोग हुँदै आएको छ। यो रूखमा ब्रह्मा, विष्णु र महेश तीनवटै देवताको बास हुन्छ भन्ने शास्त्रीय मान्यतासमेत छ।

अक्टोबरदेखि मार्च महिनासम्म नेपालमा बौद्धमार्गीहरूको आवागमन बढी हुन्छ। यो भ्रमणका लागि अनुकूल मौसम पनि हो।

फागुन दोस्रो सातादेखि चैतको पहिलो सातासम्म तिलौराकोटमा पलाँस फुल्ने हुँदा आकर्षक देखिने लुम्बिनी विकास कोषका तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यले बताए।

उनका अनुसार तिलौराकोटमा दैनिक एक हजारदेखि १२ सय जनासम्म पर्यटक आउने गरेका छन्। विशेष गरी म्यानमार, श्रीलंका, थाइल्याण्ड, माल्दिभ्स, भारतसहित नेपालका आन्तरिक पर्यटकहरूको भीड लागेको छ। साउनदेखि हालसम्म ३८ हजार बढी पर्यटकले तिलौराकोट भ्रमण गरेको आचार्यले जानकारी दिए।

प्रकाशित: १७ फागुन २०७९ १०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + three =