६८ वर्षअघि आजकै दिन जुरिचमा बितेका राजा त्रिभुवनको यस्तो थियो शवयात्रा [भिडियो सहित]

सन्तोष खडेरी ३० फागुन २०७९ ५:३२
1.2k
SHARES
६८ वर्षअघि आजकै दिन जुरिचमा बितेका राजा त्रिभुवनको यस्तो थियो शवयात्रा [भिडियो सहित] दिवंगत राजा त्रिभुवनको पार्थिव शरीरलाई स्विट्जरल्यान्डको जुरिचस्थित क्यानटोनल विमानस्थलतर्फ लैजाँदै सेनाका जवान। तस्बिर स्रोत : गेट्टी इमेजेज

काठमाडौँ– शाह वंशीय राजामध्ये राजा त्रिभुवन लोकप्रिय मानिन्छन्। मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ राणा शासन हटाउन त्रिभुवनले विशेष योगदान दिएका थिए। राणाहरूको विरोध गरेकै कारण उनी गद्दी छाडेर भारत जानुपरेको थियो। यस्ता राजालाई नेपाली जनताले ४९ वर्षकै उमेरमा गुमाउनुपर्‍यो। तत्कालीन राजाको निधन र शवयात्राका विषयमा उतिबेलाका अखबारहरूमा समावेश समाचारका आधारमा यो सामग्री तयार पारिएको हो।

६८ वर्षअघि १३ मार्च १९५५ को अपराह्न ३ बजेर १५ मिनेटमा स्विट्जरल्यान्डको जुरिचस्थित क्यान्टन अस्पतालमा तत्कालीन राजा त्रिभुवनको निधन भएको थियो। सन् १९०६ को ३० जुनमा काठमाडौँमा जन्मिएका राजा त्रिभुवन निधन हुँदा ४९ वर्षका थिए। दोस्रो पटकको युरोप यात्राका लागि ३० अक्टोबर १९५४ मा भारतको बम्बईबाट प्रस्थान गरी इजिप्टको कायरो, इटालीको रोम हुँदै ६ नोभेम्बरमा जुरिच पुगेका थिए। यो उनको उपचारका लागि दोस्रोपटक जुरिच यात्रा थियो।  साथमा उनका दुई बडामहारानी कान्ति राज्यलक्ष्मी देवी र ईश्वरी राज्यलक्ष्मी देवी थिए। (इभिनिङ स्टार ३१ अक्टोबर र ०७ नोभेम्बर १९५४)

 जुरिचमा उपचार गरेपछि  फ्रान्स पुगेका राजा त्रिभुवन  सन् १९५५ को जनवरीदेखि ८ मार्चसम्म  स्वास्थ्यलाभका लागि त्यहीँ बसेका थिए। ८ मार्चमा पुनः उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। उनलाई रेलबाट जुरिच लैजान असम्भव भएपछि विशेष एम्बुलेन्सबाट ९ मार्चमा जुरिच पुर्‍याइएको थियो। उनको उपचार जुरिचको क्याटन्स अस्पतालमा भएको थियो।

जुरिच पुगेको चार दिनपछि उपचारकै क्रममा मार्च १३ मा राजा त्रिभुवनको निधन भयो।  क्यान्टन अस्पतालको शय्यामा हृदयाघातका कारण यति छिटो अचानक उनको निधन भयो कि अस्पतालमा उनको साथमा रहेका उनका दुवै रानी राजाको शय्यासम्म पनि पुग्न पाएनन्। सँगै भएर पनि राजाको निधन हुँदा उनको शय्या सम्म पुग्न नपाउँदा रानीहरूले साह्रै पछुतो मानेका थिए। (इभिनिङ स्टार १५-मार्च-१९५५)

राजा त्रिभुवन जीवित छँदै सोही फेब्रुअरी ११ मा फ्रान्सको निसबाट आफ्नो अनुपस्थितिमा नेपालको राज्यसत्ता सञ्चालनको अख्तियारनामा युवराज महेन्द्रलाई सुम्पिएका थिए। उता राजा त्रिभुवनको निधन हुनासाथ अर्को दिन मार्च १४ मा राजाको उत्तराधिकारीका रूपमा रहेका युवराज महेन्द्रले नेपालको राजगद्दी सम्हालेका थिए। १४ मार्चका दिन ४ बजेर १५ मिनेटमा नयाँ राजाका रूपमा महेन्द्र हनुमानढोका राजदरबार पुगेर राजगद्दीमा आसीन भएका थए।

पशुपति आर्यघाटमा राजा त्रिभुवनको अन्त्येष्टि गरिँदै। 

राजा त्रिभुवनको पार्थिव शरीरलाई त्यहाँबाट नेपालसम्म ल्याउन उनका कान्छा छोरा अधिराजकुमार वसुन्धरा पत्नी हेलनका साथ खटिएका थिए। निधन भएको ४ दिनपछि १७ मार्चको बिहान ७:१५ मा त्रिभुवनको पार्थिव शरीरलाई क्यान्टन अस्पतालबाट सीधै जुरिचको क्यानटोनल विमानस्थलमा लगिएको थियो। नेपालको राष्ट्रिय झन्डामा बेरिएको राजाको पार्थिव शरीरलाई सेनाका जवानले विमानस्थलको धावनमार्गमा उड्न तम्तयार विमानसम्म बोकेर ल्याउँदा स्विस सेनाको टुकुडीले शोक धुनका साथ राष्ट्रिय सलामी अर्पण गरेको थियो। त्यहाँ स्विस अधिकारीहरूसमेत उपस्थित थिए। स्विस एयरलाइन्सको डगलस डी.सी. ०४ विमानले उनको पार्थिव शरीरलाई जुरिचबाट नयाँदिल्लीको पालम हवाईअड्डामा पुर्‍याएको थियो। (स्विस अखबार ‘फ्रेबर्गर’ १८-मार्च-१९५५)

स्विस एअरलाइन्सको विमान १८ मार्चको बिहान ८ बजे पालम हवाईअड्डामा अवतरण भएको थियो। पालम हवाईअड्डामा राजा त्रिभुवनको पार्थिव शरीरलाई काठमाडौँसम्म लैजान भारतीय वायुसेनाको एउटा जहाज तयार थियो। त्यस्तै दिवंगत राजाका दुई रानीहरू, अधिराजकुमार वसुन्धरा, अधिराजकुमारी हेलन, साथमा रहेका अन्य नेपाली सहयोगी सदस्यहरूलाई काठमाडौँ लैजान नेपाल सरकारले परिचालन गरेको अर्को जहाज तयारी अवस्थामा थियो। सबैजना जुरिचबाट दिवंगत राजाको पार्थिव शरीर बोकेको स्विस एयरलाइन्सको त्यही विमानमा दिल्लीसम्म आएका थिए।

तत्कालीन राजा त्रिभुवन।

भारत सरकार मातहतको सूचना विभागले दिवंगत राजा त्रिभुवनको शव पालम हवाईअड्डामा आइपुग्ने जानकारीसहित प्रेसजगत्‌लाई सूचना जारी गरेको थियो। बिहान ८ बजे स्विस एयरलाइन्सको विमान पालम हवाईअड्डामा अवतरण हुनासाथ भारतीय सेनाका ६ जना जर्नेलले नेपाली राष्ट्रिय झन्डामा बेरिएको राजा त्रिभुवनको पार्थिव शरीरलाई विमानबाट ओरालेर सैनिक जिपमा राखेका थिए।

स्विस एयरलाइन्सको विमानदेखि २५० मिटर पर रहेको भारतीय वायुसेनाको विमानसम्म शवलाई सैनिक गाडीबाट स्थानान्तरण गर्नुपूर्व करिब १० मिनेटसम्म भारत सरकारका तर्फबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको थियो। अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नका लागि भारतका प्रधानमन्त्री जहवारलाल नेहरू विमानस्थल पुगेका थिए। नेहरुले दिवंगत राजा त्रिभुवनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाएका थिए। त्यतिबेला अन्तर्राष्ट्रिय समाचार एजेन्सीले खिचेको एउटा भिडियो दृश्यमा राजा त्रिभुवनको पार्थिव शरीरमा भारतीय राष्ट्रिय झन्डा ओढाएको देखिन्छ। (अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको तत्कालीन समयको भिडियो)

भारतीय साहित्यकार ‘आचार्य चतुरसेन’ को त्यतिबेला प्रकाशित अर्को एक लेखअनुसार त्यहाँ उनलाई भारतीय राष्ट्रिय सम्मान अर्पण गर्दा नेपाल-भारत दुवै मुलुकको राष्ट्रिय झन्डा ओढाइएको थियो। (भारतीय साहित्यकार ‘आचार्य चतुरसेन शास्त्री’ को लेख ‘धर्म और पाप’) लेखमा दुवै देशको झन्डा भनिए पनि नेपालको त्रिकोणात्मक झन्डामाथि भारतको चारपाटे झन्डा राख्दा त्यहाँ नेपालको झन्डालाई भारतीय झन्डाले पूरै ढाकेको थियो।

शवमा भारतका राष्ट्रपति एवं उपराष्ट्रपतिका तर्फबाट उपमिलिटरी सेक्रेटरीले पुष्पगुच्छा चढाएका थिए। पालम हवाईअड्डामा भारतको संघीय सरकारका मन्त्री, दिल्ली प्रान्तका मुख्यमन्त्री, जल,वायु र स्थल सेनाका तिनै सेनाध्यक्ष, सांसदहरू, भारतीय सरकारी अधिकारी, त्यहाँस्थित विदेशी कूटनीतिक नियोगका पदाधिकारी एवं पत्रकारको उपस्थिति थियो।

युरोपमा उपचार चल्दै गर्दा रानीहरूका साथमा त्रिभुवन।

दिल्लीबाट रानीहरू,अधिराजकुमार, अधिराजकुमारीलगायतका अन्य सदस्यहरू नेपाल सरकारले व्यवस्था गरेको अर्को जहाजमा काठमाडौँ फर्किएका थिए। त्यसै विमानमा दिल्लीस्थित नेपाली राजदूत महेन्द्रविक्रम शाहसमेत फर्किएका थिए। उक्त विमान १२:०५ मा नेपाल ओर्लिएको थियो। सोही दिन अपराह्न १२:२० मिनेटमा राजा त्रिभुवनको पार्थिव शरीरलाई बोकेको भारतीय वायुसेनाको विमान गौचर हवाईअड्डामा ओर्लिएको  थियो। विमानको अग्रभागमा नेपाल र भारतका झन्डा फहराइएका थिए। गौचर हवाईअड्डामा ठूलो संख्यामा नेपलीहरूको उपस्थिति थियो।

विमानबाट शवलाई ब्राह्मणहरूले ओरालेका थिए। त्यसपछि हवाई अड्डामा तैनाथ नेपाली सेनाको कालीबहादुर दलले सलामी अर्पण गरेको थियो। त्यससँगै त्यहीँ तोपसमेत पड्काइएको थियो। गौचर हवाईअड्डामा राजा त्रिभुवनको पार्थिव शरीरमाथि सबैभन्दा पहिले नयाँ राजा महेन्द्रका तर्फबाट प्रधानसेनापति किरणशमशेर जबराले फूलमाला चढाएका थिए। त्यसपछि भारतका राष्ट्रपतिका प्रतिनिधिका रूपमा दिल्लीबाट आएका मेजर जनरल यदुनाथ सिंह, ब्रिटिस राजदूत, भारतीय राजदूत, फ्रेन्च कन्सलर, कार्यवाहक अमेरिकी राजदूत, भारतबाट अन्तिम संस्कार समारोहमा सहभागी हुन आएको विशेष भारतीय प्रतिनिधिमण्डल, नेपालको मन्त्रिपरिषद् सदस्यहरू, मुस्ताङका राजा, मुस्ताङी राजकुमार, ज‌ंगी तथा निजामती कर्मचारीले फूलमाला चढाएर राजाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

हवाईअड्डामा आधा घन्टा राखेपछि आर्यघाटतर्फ शवयात्रा सुरु भएको थियो। शवयात्राको अघिल्लो लहरमा प्रहरीका मोटरसाइकल थिए। त्यसपछि सैनिक जिप थिए। पछिपछि जंगी पोसाक पहिरिएका  ब्यान्डसहितका सैनिक दल थिए। सैनिकका पछाडि ब्राह्मणहरूले राजा त्रिभुवनको पार्थिव शरीर बोकिरहेका थिए। शवका पछाडि माहिला र कान्छा अधिराजकुमारहरू हिमालय र वसुन्धरा थिए। अधिराजकुमारहरूका पछाडि विदेशी मुलुकका प्रतिनिधि, मन्त्री, नेताहरू, सैनिक अधिकारीहरू, मन्त्रालयका सचिवहरू, प्रहरी अधिकारीहरू थिए। सोही अपराह्न ०४:४५ बजे पशुपति आर्यघाटमा राजा त्रिभुवनको शवलाई माहिला अधिराजकुमार हिमालयले दागबत्ती दिएका थिए। राजाको अन्तिम संस्कारमा लाखौँ नेपालीको उपस्थिति थियो। (गोरखापत्र १९-मार्च-१९५५)

जब एलिजाबेथ द्वितीया त्रिभुवनको निधनमा समवेदना दिन दोधारमा परिन्

राजा त्रिभुवनको निधन हुँदा उनी उनी ४९ वर्षका थिए। नेपालको कूटनीतिक सम्बन्ध बेलायत, अमेरिका, भारत र फ्रान्ससँग मात्र सीमित थियो। ब्रिटिस सरकारका तर्फबाट नेपालका राणा शासकलाई ब्रिटिस सेनाको मानार्थ उपाधि प्रदान गर्ने प्रचलन थियो।  ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र भएपछि पनि ब्रिटिस प्रचलनको सिको गर्दै भारतले नेपालका राणा शासकहरूलाई भारतीय सेनाको मानार्थ जनरलको पदवी प्रदान दिन थालेको थियो।
सन् १९५१ मा नेपालमा राणाशासनको पतन भएपछि भने ब्रिटिस र भारत दुवै सरकारले नेपालका राजालाई आआफ्नो सेनाको मानार्थ जनरलको उपाधि प्रदान गर्न सुरु गरे। यसै क्रममा भारत सरकारले २६ जनवरी १९५३ मा राजा त्रिभुवनलाई भारतीय सेनाको मानार्थ जनरल र दसवटै गोर्खा राइफल्सको मानार्थ कर्नेलको उपाधि प्रदान गरेको थियो। (दी गजेट अफ इन्डिया २६ जनवरी १९५३)

ब्रिटिस सरकारले सन् १९५२ मा नै उनलाई ब्रिटिस सेनाको मानार्थ जनरलको पदवी प्रदान गरेको थियो। तर जनरलको तरबार भने दुई वर्ष पछि सन् १९५४ को मेमा काठमाडौँमा हस्तान्तरण गरेको थियो। (दी लिडर पोस्ट, २८ मे १९५४)

राजा त्रिभुवनको निधन हुँदा उनी ब्रिटिस र भारत सरकारको मित्रराष्ट्र नेपालका राष्ट्राध्यक्ष त थिए नै, सँगसँगै उनीहरूको सेनाका मानार्थ जनरलसमेत थिए।  त्यो भूमिकालाई उनको निधनपछि अन्तिम श्रद्धाञ्जलिका लागि अतिरिक्त के गर्नुपर्ने हुन सक्छ भनेर त्यहाँ चर्चा चलेको रहेछ। अतिरिक्त केही गर्न नपर्ने तर उनको अन्तिम श्रद्धाञ्जलि समारोहमा भारतीय सेनाको प्रतिनिधि पठाउने निर्णय भयो।

नेपालसँग कूटनीतिक सम्बन्ध भएका मुलुकका राष्ट्राध्यक्षले समवेदना सन्देश पठाएका थिए। समवेदना सन्देश पठाउने ब्रिटिस राजपरिवारको प्रचलन भने अलिक फरक थियो। कुनै पनि मुलुकका राजाको निधन हुँदा दिवंगत राजाका रानीलाई समवेदना सन्देश पठाउने ब्रिटिस प्रचलन रहेछ।

राजा त्रिभुवनका दुई रानी भएकाले कुन रानीलाई सम्बोधन गरी समवेदना सन्देश पठाउने भन्ने त्यहाँ द्विविधा भयो। त्यसैले प्रचलित मान्यता तोड्दै महारानी एलिजाबेथ द्वितीयाले सीधै छोरा अर्थात् नयाँ राजा महेन्द्रको नाममा समवेदना सन्देश पठाइन्। (दी स्पोक्स्म्यान रिभ्यु १६ मार्च, १९५५)

भारतका राष्ट्रपतिले भने समवेदना सन्देश पठाउने मध्यमार्गी बाटो अपनाए। उनले अंग्रेजीमा पठाएको समवेदना सन्देशमा दुवै रानीलाई सम्बोधन गर्ने गरी लेखिएको थियो। ‘देअर म्याजस्टिस दी क्विन्स अफ नेपाल’ लेखिएको थियो। (भारतीय राष्ट्रिय अभिलेखागार)

भारतका राष्ट्रपति डा. राजेन्द्र प्रसादले दिवंगत राजाका दुइटै रानी र उनका छोरा नयाँ राजा महेन्द्रलाई समवेदना सन्देश पठाए। त्यस्तै प्रधानमन्त्री जहवारलाल नेहरुले नयाँ राजा महेन्द्र, दुवै रानीलाई राष्ट्रपतिझैँ सम्बोधन गरी त्यस्तै आफ्ना समकक्षी प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई समवेदना सन्देश पठाएका थिए।

आर्काइभबाट

प्रकाशित: ३० फागुन २०७९ ५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =