६९ लाख ४१ हजार नेपाली निरक्षर

हिमाल प्रेस १० चैत २०७९ १७:४४ | Friday, March 24, 2023
६९ लाख ४१ हजार नेपाली निरक्षर भेरिगंगा नगरपालिकाले सञ्‍चालन गरेकाे माेबाइल कक्षा : तस्बिर युनिसेफ

काठमाडौँ- राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुगेको तथ्य सार्वजनिक गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार  सार्वजनिक गरेको जनगणनाको नतिजाअनुसार कुल जनसंख्याको २३.८ प्रतिशत अर्थात् ६९ लाख ४१ हजार १७० जना निरक्षर छन्।

दस वर्षमा साक्षरता दर १० प्रतिशतले वृद्धि भएको छ। २०६८ सालको जनगणनामा नेपालको कुल साक्षरता दर ६५.९ प्रतिशत थियो। जसमा पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत  थियो।

राष्ट्रिय जनगणनामा पाँच वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरूको शैक्षिक अवस्थासम्बन्धी विवरण संकलन गरिएको थियो। जनगणनाको नतिजाले देशका पाँच वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल दुई करोड ६६ लाख ७५ हजार ९७५ जनसंख्यामा दुई करोड ३ लाख ४१ हजार ६२३ जना पढ्न र लेख्न दुवै जान्ने देखाएको छ। नेपालमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत पुगेको छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत छ।

प्रदेशगत आधारमा अध्ययन गर्दा बागमतीमा सबैभन्दा धेरै ८२.१ प्रतिशत साक्षरता दर छ भने मधेश प्रदेशमा सबै भन्दा कम ६३.५ प्रतिशत छ। यस्तै जिल्लागत रूपमा काठमाडौँमा सबैभन्दा बढी ८९.२३ प्रतिशत र रौतहटमा सबैभन्दा कम ५७.७५ साक्षरता दर छ। काठमाडौँ जिल्लामा पुरुष ९४.१९ र महिला ८४.१६ प्रतिशत साक्षर छन्।

यसैगरी गाउँपालिकामा भन्दा नगरपालिकामा बढी सारक्षरता दर बढी छ। भने तराईमा भन्दा पहाडमा बढी साक्षर छन्। पहाडमा ८०.९ प्रतिशत सारक्षर छन् भने तराईमा ७३.१ प्रतिशत र हिमालमा ७२.८ प्रतिशत छन्।

जनगणनामा प्राप्त नतिजाअनुसार कुल साक्षर जनसंख्याको सबैभन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरू प्राथमिक तहको कक्षा १ देखि ५ सम्म मात्र उत्तिर्ण गरेका छन्। निम्न माध्यमिक तह कक्षा ६ देखि ८ सम्म उत्तिर्ण गरेका व्यक्ति १९.९ प्रतिशत छन्। एसईई मात्र उत्तीर्ण गर्ने ९.५ प्रतिशत र उच्च शिक्षा हासिल गर्ने १९.५ प्रतिशत छन्। यस्तै १.८ प्रतिशत व्यक्तिहरूले अनौपचारिक शिक्षा अध्ययन गरेको देखिएको छ।

जनगणनाको नतिजाअनुसार सबैभन्दा धेरै व्यक्तिले व्यवस्थापन क्षेत्रका विषय ३५.१ प्रतिशतले अध्ययन गरेका छन्। शिक्षाशास्त्र अध्ययन गरेका व्यक्तिले २९.९ प्रतिशत, मानविकी तथा सामाजिक शास्त्र ११.५ प्रतिशतले अध्ययन गरेका छन्।

यस्तै विज्ञान, स्वास्थ्य, चिकित्साशास्त्र, इन्जिनियरिङ, कम्प्युटर, सूचना प्रविधि, कानुन, कृषि, वन र पशुविज्ञान, पशुचिकित्सा, मत्स्यपालन विषय अध्ययन गर्ने क्रमशः ७.१ प्रतिशत,४.४ प्रतिशत, ३.० प्रतिशत, १.२ प्रतिशत, ०.८ प्रतिशत, ०.७ प्रतिशत, ०.३ र ०.२ प्रतिशत छन्।

 

प्रकाशित: १० चैत २०७९ १७:४४ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast