शिक्षकहरूको मापसे परीक्षण गर्दै हलेसी नगरपालिका

हिमाल प्रेस ९ चैत २०७९ १९:३४ | Thursday, March 23, 2023
शिक्षकहरूको मापसे परीक्षण गर्दै हलेसी नगरपालिका

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले जाँडी-रक्सी खाए/नखाएको परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ।

नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक दिनहुँ जाँड-रक्सी खाएर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात वटा ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो।

मापसे परीक्षण गर्ने छ उपकरण नगरपालिकाभित्रका छ वटा प्रहरी चौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको हलेसी तुवाचुङकी मेयर विमला राईले बताइन्।

‘विगतका वर्षमा वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै जाँड-रक्सी खाएर प्रश्नपत्र सिरानी लगाएर सुतेको घटना छन्’, उनले भनिन् ,‘कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत जाँड-रक्सी खाएर कार्यालयमा अनियमित हुने गरेका गुनासो छ, यी सबै गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले मापसे परीक्षण गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको हो।’

जाँड-रक्सी खाएर सार्वजनिकस्थलमा हुने झैझगडामा संलग्नको जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी पालिकाको छ।

ब्रेथलाइजरको अभावमा अहिलेसम्म स्वास्थ्य संस्थादेखि इलाका प्रहरी कार्यालय हलेसीमा समेत मुख सुँघेर जाँच गर्नुपर्ने बाध्यता अन्त्यका लागि पनि उपकरण खरिद गर्ने निर्णय गरिएको जनाइएको छ। मध्यपहाडी लोकमार्गले छोएको नगरपालिकामा चालकले जाँड-रक्सी खाए/नखाएको पत्ता लगाउनसमेत उपकरण सहयोगी हुने पालिकाले जनाएको छ।

आवश्यक परेको समयमा जाँड-रक्सी खाने सबैको जाँच गर्न उपकरणको प्रयोग गरिने मेयर राईले बताइन्। विशेषगरी शिक्षकलाई लक्षित गरेर ब्रेथलाइजर ल्याउने निर्णय गरिएको हो। १० वटा पालिका रहेको खोटाङमा अहिलेसम्म जाँड-रक्सी खाए÷नखाएको परीक्षण गर्ने डिजिटल उपकरण छैन।

ट्राफिक प्रहरी कार्यालयमा कसैले जाँड-रक्सी खाए/नखाएको परीक्षण गर्न कम्तीमा पाँच/सात मिनेट लाग्ने पुरानो प्रविधिको उपकरणमात्र रहेको ट्राफिक प्रहरी प्रमुख हिमालय पौडेलले बताए। -रासस

प्रकाशित: ९ चैत २०७९ १९:३४ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast