विदेशी लगानीकर्ताको समस्या समाधान गर्न कानुन बनाउँदैछौँ : प्रधानमन्त्री

हिमाल प्रेस ३० फागुन २०७९ १२:५४ | Tuesday, March 14, 2023
विदेशी लगानीकर्ताको समस्या समाधान गर्न कानुन बनाउँदैछौँ : प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानीकर्ताका समस्या समाधान गर्न एकल बिन्दु सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।

मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल-चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै उनले यस विषयमा कानुन बनाएर संसद्‍‍बाट  पारित गर्ने क्रममा रहेको बताएका हुन्।

‘सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुने गरी वातावरण बनाउन प्रतिबद्ध छ,’ उनले भने। उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे। प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन् सोङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाकाहरू खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।

नेपाल र चीनका व्यपारीहरूबीच सोमबारदेखि छलफल सुरु भएको हो । बैठकमा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ।

प्रकाशित: ३० फागुन २०७९ १२:५४ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast