बागलुङ : एक शिक्षकका भरमा सिंगो विद्यालय

हिमाल प्रेस २७ फागुन २०७९ ८:०३ | Saturday, March 11, 2023
बागलुङ : एक शिक्षकका भरमा सिंगो विद्यालय

बागलुङ- बागलुङको एक विद्यालयमा शिक्षक अभावका कारण एकै शिक्षकका भरमा चलाउनु पर्ने भएको छ।

विद्यालयका प्रधानाध्यापक सेवानिवृत्त भएपछि १ महिनादेखि गलकोट नगरपालिका–७ टोकरीगाउँस्थित देउराली प्राथमिक विद्यालयमा स्थानीय ज्योति थापाले पढाउँदै आएका छन्। १ महिना अगाडि प्रधानाध्यापक केयरसिंह थापा सेवानिवृत्त भए। अर्की १ शिक्षिकाले विवाह गरिन्। त्यसपछि विद्यालयको सबै जिम्मेवारी शिक्षिका ज्योति थापाको काँधमा आयो।

विद्यालयमा १९ विद्यार्थी छन्। ३ र ४ कक्षा खाली छ । हाल १, २ र ५ कक्षामा पढाइ हुन्छ । १ कक्षामा १०, २ कक्षामा ५ र ५ कक्षामा ४ विद्यार्थी अध्ययनरत छन्।

३ वटा कक्षाका विद्यार्थीलाई पठनपाठन एक्लै गराउँदा समस्या भएको शिक्षक थापा बताउँछन्। विद्यालयमा अझै २-३ जना शिक्षकको आवश्यकता छ।

‘एक्लै छु, घरमा अपरझट काम पर्दा, बिरामी परे भने विद्यालय नै बन्द हुन्छ, सबै विद्यार्थीलाई एकै ठाउँ राखेर पढाउने गरेको छु,’ शिक्षक थापाले भन्छन्, ‘प्रअ सरले अवधि पुगेर राजीनामा दिनुभयो, रुपा मिस विवाह बिदामा हुनुहुन्छ, अस्ती २ दिन आउनुभएको थियो, त्यसपछि आउनुभएको छैन।’ शिक्षक थापाले अहिले विद्यार्थीलाई बहुकक्षा शिक्षा प्रणालीअनुसार अध्यापन गराइरहेकी छन्।

कुनै बेला विद्यार्थीले भरिभराउ हुने देउराली प्राथमिक विद्यालय मात्र होइन, बढ्दो बसाइँसराइले गाउँ नै सुनसान बनेको छ। विद्यालयमा २ जनाको स्थायी दरबन्दी रहे पनि अहिले रिक्त छ । हाल एक्लै अध्यापन गराउँदै आएकी ज्योति थापालाई केही महिना अगाडि घुम्टे युवा परिवार जापानले १ वर्षको तबल दिने गरी राखेको हो।

गलकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रनारायण सापकोटाले विद्यालयमा २ स्थायी शिक्षक आउने जानकारी दिए । तर कहिले आउने यकिन नभएको उनको भनाइ छ । सापकोटाले स्थायी शिक्षिक नआउँदासम्म अर्को विकल्प नभएको बताए। नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले व्यवस्थापन समितिले अहिलेसम्म यसको बारेमा जानकारी नगराएको भन्दै विद्यालयको अवस्था बुझेर शिक्षकको व्यवस्थापन गर्ने बताए।

प्रकाशित: २७ फागुन २०७९ ८:०३ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast