 
                             
                                            पर्वत- कुश्मा नगरपालिका १० नं वडाले मृतकका परिवारसँग वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ।
सो वडाभित्र रहेका विपन्न परिवारमा कुनै सदस्यको मृत्यु भएमा उनका परिवारलाई रकम अभावका कारण काजक्रिया गर्न अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको वडाको भनाइ छ।
‘सरकारी सेवामा रहेका र आर्थिकरूपमा सम्पन्न परिवारलाई बाहेक वडामा मृत्यु भएका प्रत्येक मृतकका परिवारलाई जनही १० हजार रुपैयाँ दिने गरेका छौँ’, वडाध्यक्ष रामचन्द्र सुवेदीले भने, ‘यस आर्थिक वर्षदेखि सुरु गरेका हौँ र यसलाई आगामी दिनमा निरन्तरता दिइने छ। मृतकका परिवारलाई काजक्रिया खर्च भनेर रकम भुक्तानी दिने गरेका छौँ।’
पर्वतमा मृतक परिवारसँग वडाको यो नौलो कार्यक्रम भएको स्थानीय राजु पौडेलले बताए। उनले वडाको यस कार्यक्रमले विपन्न परिवारलाई राहत मिलेको प्रतिक्रिया दिए। सामान्य काजक्रियाकै लागि पनि बिपन्न परिवारले त ऋण धन गर्नुपर्ने अवस्था रहँदै आएकामा वडाको यस कार्यक्रमले थोरै भए पनि राहत दिएको उनको भनाइ छ।
वडाध्यक्ष सुेवदीले भने, ‘यो रकम धेरै होइन सामान्य हो, तर पनि जनताका प्रतिनिधि आफ्ना नागरिकलाई दुःख परेका बेला सान्त्वना र समवेदना लिइ घर–घरमै भेट्न जाने एउटा माध्यम मात्र हो।’
मृतकको परिवारले रकम प्राप्त गर्न वडा कार्यालयमा मृत्यु दर्ता गर्नुपर्ने हुन्छ। त्यसपछि वडाध्यक्ष सो रकम लिएर मृतकको घरमा पुग्ने गर्दछन्। यस वडामा जम्मा घरधुरी छ सय २३ र जनसंख्या चार हजार पाँच सय ३४ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 