 सांकेतिक तस्बिर।
                             सांकेतिक तस्बिर।
                                            बागलुङ- बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन्। बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए।
घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।
हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिए।
छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बालिका हत्याका विषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो ।
अहिले बालिकाको शव पोष्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ। सायरले केकति कारणले छोरीको हत्या गरे भन्ने विषयमा अझै नखुलेको र अनुसन्धान जारी रहेको उपरीक्षक थापाले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 