 
                             
                                            काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट विद्यार्थीसँगठन अखिल क्रान्तिकारीले माओवादी आन्दोलनले संस्थागत गरेका उपलब्धिलाई नै सर्वोच्च अदालतले जोखिममा पारेको आरोप लगाएको छ।
संगठन अध्यक्ष पन्चा सिंहले विज्ञप्ति जारी गर्दै यस्तो जनाएकी हुन्। माओवादी जनयुद्धले संस्थागत गरेको उपलब्धि रक्षामा उभिएर संगठनले त्यसकै खिलाफमा जान खोज्ने तथाकथित षडयन्त्रको डटेर प्रतिवाद गर्ने उनको भनाइ छ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन मुद्दा सर्वाेच्च अदालतमा दायर हुनु आपत्तिजनक भएको अखिल क्रान्तिकारीको निष्कर्ष छ।
‘हामी चाहन्छौँ द्वन्द्वकालीन मुद्दाहरूबारे सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत छिटोभन्दा छिटो काम सम्पन्न होस्। तर विभिन्न बहनामा हिजो टीआरसी विधेयक रोकेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न नदिने को हुन हामीले चिनेका छौँ त्यस्ता शक्तिहरूको विरुद्ध संघर्ष गर्न अखिल क्रान्तिकारी सधैँ तयार छ,’ विज्ञप्तिमा उल्लेख छ।
अखिल क्रान्तिकारीले माओवादी आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक निर्वाचन प्रणालीलगायत उपलब्धिहरूका विरुद्ध षड्यन्त्र भएको निष्कर्ष निकालेको छ।
सर्वोच्च अदालतमा ज्ञानेन्द्रराज आरणलगायतले पार्टी अध्यक्षउपर अनुसन्धान र अभियोजनको माग गर्दै रिट निवेदन दायर गर्नु र संक्रमणकालीन न्यायको विषयलाई फौजदारी कानुनको नियमित प्रक्रियाबाट सुनुवाइ गर्न खोज्ने प्रयासको संगठनले विरोध गर्ने विज्ञप्तिमा उल्लेख छ।
‘यो कदम पर्ण रूपमा वृहत शान्ति सम्झौताको मर्म एवम् संक्रमणकालीन न्यायको सिद्धान्तका विरुद्धमा छ। हामी यस कार्यको घोर भत्सर्ना गर्दछौँ। यस निर्णयले संविधानको मर्म एवम् विचार तथा अभिव्यक्ति स्वतन्त्रता अपमान गरेको हाम्रो निष्कर्ष छ’,विज्ञप्तिमा उल्लेख गरिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 