गाउँपालिका अध्यक्षको मिलेमतोमै नदी दोहन, वडाध्यक्ष बेखबर

हिमाल प्रेस १६ चैत २०७९ १८:५५ | Thursday, March 30, 2023
गाउँपालिका अध्यक्षको मिलेमतोमै नदी दोहन, वडाध्यक्ष बेखबर

प्युठान- यहाँको माडी नदीमा नदीजन्य सामग्रीको अवैध उत्खनन् थालिएको छ। प्युठानको माण्डवी गाउँपालिका–१ त्रिवेणीधाम नजिकै माडीबाट ढुंगा, गिट्टि, बालुवालगायत सामग्रीको अवैध उत्खनन् थालिएको हो।

काठमाडौँमा केन्द्रीय कार्यालय रहेका श्रीआशिष ठेकेदार कम्पनी र श्रीजयन्ति ठेकेदार कम्पनीले जोइन्ट भेन्चर (जेभी)मा नदीजन्य सामग्रीको अवैध उत्खनन् गरेर घाटगद्दी गरेको छ। माण्डवी गाउँपालिकाले नदीजन्य सामग्री उत्खनन्का लागि कार्यपालिकाबाट कुनै पनि निर्णय गरेको छैन। तर, गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसन)ले नदीजन्य सामग्री उत्खनन्का लागि आफ्नै हस्ताक्षरको पत्र दुइटै कम्पनीलाई दिएका छन्।

माण्डवी गाउँपालिका वडा १ का अध्यक्ष बामबहादुर बूढाले गाउँपालिकाबाट वडामा कुनै जानकारी नआएको बताए। ‘अनुमति नलिई अवैध रूपमा नदीजन्य सामग्री उत्खनन् भइरहेको छ,’ उनले भने, ‘मैले पालिका अध्यक्षलाई यो विषयमा पटक–पटक जानकारी गराएको छु। यस्ता क्रियाकलाप गर्दा कार्यपालिकाबाट निर्णय गरेर मात्रै गर्नुपर्छ। तर, अध्यक्षज्युले मान्नु भएन।’

अवैध नदी उत्खनन्प्रति आफ्नो घोर आपत्ति रहेको बूढाले बताए। ‘गाउँपालिकाको पत्रमा वडासँग सहमति भएको लेखे पनि वडासँग कुनै सहमति भएको छैन,’ अध्यक्ष बूढाले भने।

केहि समयअघि सो स्थानमा निर्माण कम्पनीले उत्खनन् गर्दा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लवका कार्यकर्ताहरूले उत्खनन् गर्दै रहेको अवस्थामा जेसीभीको साँचो नियन्त्रणमा लिएका थिए। यस विषयमा आफूलाई कुनै जानकारी नभएको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले बताए।

ठेकेदार कम्पनीका प्रतिनिधिले वडासँग सम्झौता गर्न खोज्दा वडाअध्यक्षले सहमति नगरेपछि पालिकाको पत्रअनुसार काम गरिरहेका बताएका छन्। स्थानीयसँग प्रत्यक्ष जोडिएका यस किसिमका विषयहरूमा गाउँपालिकाले कार्यपालिकाबाट निर्णय गराएर मात्रै काम गर्न पाइन्छ।

प्रकाशित: १६ चैत २०७९ १८:५५ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast