कृषि क्षेत्रमा अनुदान कटौतीबारे संसद्‍मार्फत सरकारकाे ध्यानाकर्षण

हिमाल प्रेस ५ चैत २०७९ १५:०४ | Sunday, March 19, 2023
कृषि क्षेत्रमा अनुदान कटौतीबारे संसद्‍मार्फत सरकारकाे ध्यानाकर्षण

काठमाडौँ- कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा सांसदहरूले कृषि क्षेत्रका समस्याबारे संसद्मा सरकारको ध्यानाकर्षण गरएका हुन्।

सांसद रामकृष्ण यादवले मल र दूधको मूल्यवृद्धि गरिएको भन्दै घटाउन सरकारसँग माग गरे। सांसद रुपा जोशी चौधरीले कर्णाली नदी टीकापुर बस्तीमा छिर्नसक्ने सम्भावना भएकाले बेलैमा व्यवस्थापन हुनुपर्ने बताइन्।

सांसद भानुभक्त जोशीले गतवर्षको बेमौसमी वर्षाले बझाङमा एकै परिवारका सात जनाको निधन भई प्रधानमन्त्री, गृहमन्त्रीलगायतले अवलोकन गरी बाढी प्रभावित क्षेत्र घोषणा गरे पनि अझै राहत नपाएको सुनाए।

सांसद महेश बर्तौलाले मलमा दिएको अनुदान कटौती गर्दा किसानमाथि ज्यादती भएको, सुकुम्बासीले लामो समयदेखि जग्गाधनी पुर्जा पाउन नसकेकाले सरकारले ध्यान दिनुपर्ने बताए।

सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुरेमा २०७१ साउनमा गएको पहिरो पीडितका लागि संकलन भएको दुई करोड रुपैयाँभन्दा बढी राहत वितरण नगरिएको भन्दै छिटो वितरण गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद राजेन्द्रकुमार केसीले आर्थिक अवस्थालाई लयमा फर्काउन विशेष कार्यक्रम ल्याउन माग गरे। किसानले तरकारीको मूल्य नपाएर फालिरहेकाले राहत दिन पनि उनको माग थियो। सांसद लीलानाथ श्रेष्ठले कृषि क्षेत्रमा दिँदै आएको अनुदान कटौती गरी मूल्यवृद्धि गरिएकाले त्यसमा राहत दिइनुपर्ने माग गरे।

प्रकाशित: ५ चैत २०७९ १५:०४ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast