कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

हिमाल प्रेस १७ चैत २०७९ ७:४५ | Friday, March 31, 2023
कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (शुक्रबार) दोस्रो पटक विश्वासको मत लिँदैछन्।

सत्तामा सहभागी दलमध्ये राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । शर्मा पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

पुस १० गते एमालेसहितको गठबन्धन बन्दा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी केन्द्रका २५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा शर्मा नियुक्त भएका हुन्।

तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपरेको हो। कर्णालीमा कांग्रेस सत्ता बाहिर नै छ।

एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने र नदिने विषयमा कांग्रेसले अहिलेसम्म कुनै निर्णय गरेको छैन।

कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । बहुमत नभएकै कारण कर्णालीमा हाल दुई दल मिलेर सरकार चलाइरहेका छन् ।

एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा विनोद शाह, सामाजिक विकासमन्त्रीमा टेकराज पछाईं र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा जितबहादुर मल्ल छन् ।

एमाले सत्ताबाट नबाहिरिएको र कांग्रेस आफैंले नेतृत्व गर्न पाउनुपर्ने तर्क गर्दा राजनीतिक समीकरण कस्तो बन्छ भन्ने शुक्रबार नै तय हुने एमालेका एक नेताले बताए । उनका अनुसार संसदीय दलको बैठकपछि मात्रै अन्तिम निर्णय लिने तयारीमा एमाले देखिन्छ।

प्रकाशित: १७ चैत २०७९ ७:४५ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast