काठमाडौँ– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेकपा एमालेले सत्तास्वार्थको राजनीति गरेको बताएका छन्। सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
आफूले राष्ट्रपति नपाउँदैमा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत फिर्ता लिनु देश विकासका लागि नभएर निषेधको राजनीति भएको उनले दाबी गरेका छन्।
‘एउटाले अर्को दललाई निषेध गर्नुभन्दा एउटाले अर्कोलाई सपोर्ट गर्ने हो। तर एमालेले निषेधको राजनीति गरेको छ। आफूले सभामुख पाउँदा सबै ठिक, आफूले राष्ट्रपति नपाउँदै सबै बेठिक भन्ने हुँदैन। एमाले साँच्चै निष्ठाको राजनीति गर्छ भने एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा उसले पाएका पदहरू पनि फिर्ता गरोस्,’ साहले भने।
उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आफ्नो पार्टीको निर्णय भएको बताए।
‘हाम्रो पार्टीले अघिल्लो पटक पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थियौं। अहिले पनि हाम्रो पार्टीले प्रचण्डलाई विश्वासको मत दिन्छ,’ उनले भने।

                                             
                                             
                                             
                                             
                                             

