एमसीसीको कार्य प्रगति ७ प्रतिशत

हिमाल प्रेस ५ चैत २०७९ १८:२६ | Sunday, March 19, 2023
एमसीसीको कार्य प्रगति ७ प्रतिशत

काठमाडौँ– मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले चालु आर्थिक वर्षको समष्टिगत भौतिक प्रगति ६.९७ भएको जनाएको छ। यस्तै वित्तीय प्रगति पनि ६.९७ प्रतिशत नै रहेको एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए।

करिब ७४ अर्ब ३४ करोड रुपैयाँको आयोजनामा हालसम्म करिब ५ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ। समितिले हालसम्मको प्रगति र कार्यसम्पादन सन्तोषजनक रहेको जनाएको हो।

विष्टका अनुसार ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको सम्झौता सम्पन्न भई काम अघि बढेको छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा आयोजनाको हालसम्मको कार्य प्रगति र भावी योजनाबारे एमसीए-नेपालका कार्यकारी निर्देशक विष्टले अवगत गराएका थिए।

बैठकमा प्रसारण लाइनअन्तर्गत नुवाकोटको रातमाटे, रुपन्देहीको बुटवल र तनहुँको दमौलीमा सबस्टेसन निर्माण ठेक्काका लागि १० दिनभित्रै बोलपत्र आह्वान हुने, प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि परामर्श सेवाको बोलपत्रको सूचना प्रकाशित गर्ने विष्टले जानकारी गराए।

आयोजनाले १० जिल्लामा जग्गाको मुआब्जा निर्धारण समिति गठन गरी दर घोषणा, जग्गा आयोजनाको नाममा दर्ता, प्रसारण लाइनको भोगाधिकार क्षेत्र निर्धारण र मुआब्जा वितरण, वन क्षेत्रमा हटाउनुपर्ने रूख गणना लगायतका कार्यलाई मुख्य क्रियाकलापका रूपमा राखेको छ।

आयोजनालाई समयसीमाभित्रै सम्पन्न हुने ६ वटा पूर्वसर्तमध्ये आधारमध्ये राष्ट्रिय गौरवको आयोजना घोषणा, विद्युत् नियमन आयोगको ऐन तर्जुमा र गठन, योजना कार्यान्वयन सम्झौता, बुटवल-गोरखपुर प्रसारण लाइन निर्माणबारे नेपाल-भारतबीच सहमति र संसद्‍द्वारा सम्झौता अनुमोदन सम्पन्न भइसकेको छ।

आयोजनाका लागि जग्गा प्राप्ति, रूख कटान र निर्माण क्षेत्रमा सहज पहुँच सुनिश्चित गर्ने कार्य भने अझै बाँकी छ।

एमसीसी आयोजना विद्युत् र सडक सञ्जाल विस्तार एवम् मर्मतमा केन्द्रित छ। आयोजनाका लागि अमेरिकी सरकारको ५० करोड डलर अनुदान र नेपालका तर्फबाट १३ करोड डलर उपलब्ध हुनेछ। आयोजनाको सम्पूर्ण तयारी पूरा भएपछि वास्तविक निर्माण अवधि ४२ महिना रहने छ।

प्रकाशित: ५ चैत २०७९ १८:२६ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast