इलामको रोङमा व्यवसायिक गुन्द्रुक उत्पादन

हिमाल प्रेस २९ फागुन २०७९ ८:२८ | Monday, March 13, 2023
इलामको रोङमा व्यवसायिक गुन्द्रुक उत्पादन

इलाम- इलामको रोङ गाउँपालिकामा व्यवसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो।

गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रुपमा गुन्द्रुक उत्पादन थालिएको बताए। उनले ‘ब्रान्डिङ’ गरेर बजारमा लैजाने तयारी भइरहेको जानकारी समेत दिए।

प्रायः भान्सामा अमिलो खाद्य पदार्थ बढी मन पराइन्छ। गुन्द्रुकको माग समेत उच्च रहने ठहर गर्दै गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनमा लागेको जनाइएको छ। गुन्द्रुक बजार पुर्‍याइसकेपछि ८० प्रतिशतभन्दा बढी रकम गाउँमा प्रवेश गर्ने अनुमान गरिएको छ । साथै स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारी समेत सिर्जना हुने भएकाले पनि यसको काम अगाडि बढाइएको अध्यक्ष स्याङ्बोको भनाइ छ।

गुन्द्रुक उत्पादनका लागि कारखाना नै सञ्चालन गरिएको छ। यसको प्रशोधनका लागि कामदार राखिएको छ। सरसफाइका लागि पर्याप्त व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ। साथै पहिला सागलाई तीन पटकसम्म धोएर मात्र ‘प्रोसेसिङ’ को काम अगाडि बढाइन्छ।

यसरी खेर जाने सागलाई गाउँमा नै खाद्य वस्तु निर्माण हुन थालेपछि किसान खुसी भएका छन्। उनीहरुले सडेर जाने वस्तुबाट नै गुन्द्रुक निर्माण हुने र बिक्री गरिने भएपछि उत्पादन खेर नजाने बताउन थालेका छन्। अध्यक्ष स्याङ्बोका अनुसार गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य प्रतिकिलो १० निर्धारण गरिएको छ। साग गाउँपालिकाको कारखानालाई दिने किसानले सागमा प्रतिकेजी छ अनुदान पनि पाउने व्यवस्था गाउँपालिकाले गरेको छ।

त्यस्तै गुन्द्रुकमा प्रतिकेजी ८० अनुदानको व्यवस्था छ । त्यो पनि अन्ततः किसानकै भागमा पर्ने गाउँपालिकाको भनाइ छ।
नबिकेको साग पुन गाउँमा नै बिक्री हुने भएपछि खेती गर्न पनि जाँगर चलेको रोङ– ५ की मेनुका राईको भनाइ छ। रायोको साग प्रतिकेजी १६ मा बिक्री हुँदै आएको छ। सहकारीमार्फत यसको काम अगाडि बढाइएको छ।

प्रकाशित: २९ फागुन २०७९ ८:२८ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast