अब ४ सहरबाट पोखरामा रात्रिकालीन उडान

हिमाल प्रेस २७ फागुन २०७९ ७:५२ | Saturday, March 11, 2023
अब ४ सहरबाट पोखरामा रात्रिकालीन उडान

पोखरा- पर्यटकीय नगरी पोखरा केन्द्रित गरी देशका ४ सहरबाट रात्रिकालीन उडान सुरुआत भएको छ। शुक्रबारदेखि पोखरा–भद्रपुर सीधा हवाई उडान पनि सुरुआत भयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको दुई महिनापछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले रात्रिकालीन उडान सुरुआत गरेको हो।

बुद्धका जहाज काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट रात्रिकालीन उडान भएका हुन्। बिहीबार राति पोखरामा रात्रिबासपछि शुक्रबार बिहान पुनः ती सहरमा उडान भरेर शुक्रबार राति फेरि फर्किएका हुन्।

आन्तरिक उडानमै सीमित यो अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागु भएपछि रात्रिकालीन उडान भने सम्भव भएको विमानस्थल प्रमुख विक्रमराज गौतमले बताए। यसअघि गत गत साता सौर्य एयरलायन्सको ३३ यात्रु बोकेर आएको जहाज राति पौने ९ बजे सफल अतवरण भएको थियो।

विमानस्थल प्रमुख गौतमले भने, ‘बुद्धको उडानसँगै अब रात्रिकालीन उडान नियमित भएको छ । त्यसको लागि सिंगो पोखरा सिटीलाई त्यहीअनुरुप चलायमान बनाउनतर्फ सबैले ध्यान दिनुपर्छ।’

रात्रिकालीन उडान काठमाडौं–पोखरा ७ः३५ बजे, पोखरा–काठमाडौं ५ः३० भद्रपुर–पोखरा ६ः५५ नेपालगञ्ज–पोखरा ७ः३० भैरहवा–पोखरा ७ः२५ नियमित हुने छन्। विमानमा ९० प्रतिशत बढी अकुपेन्सी रहेको बुद्ध एयरका स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए।

यो सेवाले विभिन्न सहरबाट पोखरा घुम्न आएकाहरुलाई सहज हुने बरालले बताए । एयरलायन्सका एटिआर–७२ जहाज तथा एटिआर–४२ जहाजबाट उडान हुनेछ।
अंग्रेजी नयाँ वर्षको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गरेका हुन्। त्यसयता बुद्धसहित यती, श्री, सौर्य, गुणले बिहानदेखि दिउँसो ४ बजेसम्म उडान भर्दै आएका थिए।
यसैबीच, शुक्रबार पोखरादेखि भद्रपुरका लागि बुद्धले सीधा हवाई उडान सुरुआत गरेको छ। जहाजमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित पर्यटन व्यवसायी र पत्रकारको टोली थियो.।

शुक्रबार बिहान सवा ६ बजे पोखराबाट भद्रपुरका लागि जहाज उडेको हो । एटिआर–७२ जहाजमा ४८ यात्रु थिए । जहाज शुक्रबार राति पोखरा फर्किएको छ। अहिले एउटामात्र उडान रहेकोमा यात्रु संख्या बढेमा उडान सख्या थप्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २७ फागुन २०७९ ७:५२ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast