‘ऊर्जा क्षेत्रमा लगानीका नयाँ स्रोत खोज्न आवश्यक’

हिमाल प्रेस १६ फागुन २०७९ २१:४५
6
SHARES
‘ऊर्जा क्षेत्रमा लगानीका नयाँ स्रोत खोज्न आवश्यक’

काठमाडौँ- सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानीका नयाँ स्रोत खोज्न आवश्यक रहेको औंल्याएका छन्। अमेरिकी सहयोग नियोग (युएसएड) ऊर्जा नेपाल कार्यक्रमले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रका लागि वित्तपोषण’ विषयक कार्यशालाका वक्ताहरूले नेपालको ऊर्जा क्षेत्रमा अहिले भइरहेका लगानीका स्रोत मात्र पर्याप्त नरहेकाले नयाँ स्रोतका लागि पहल गर्नुपर्ने औंल्याएका हुन्।

नेपालको दीर्घकालीन ऊर्जा सुरक्षाका लागि ठूलो लगानी आवश्यक रहेकाले लगानीका स्रोतहरूमा विविधीकरण खोजिनुपर्ने जानकारहरूको धारणा छ। कार्यशालामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत् क्षेत्रमा उत्पादन, प्रसारण र वितरण तीनवटै क्षेत्रमा लगानी आवश्यक रहेको बताए।

त्यसका लागि विद्युत् प्राधिकरणले पूँजी लगानी योजना (क्यापिटल इन्भेस्टमेन्ट प्लान) बनाउन लागेको उनको भनाइ छ। ‘दीर्घकालीन योजनासहितको क्यापिटल इन्टेस्टमेन्ट प्लान तयार भइरहेको छ’ उनले भने, ‘यसले उत्पादन, प्रसारण, वितरणलगायतका क्षेत्रमा हामीलाई लगानीको आवश्यकता कति हो भन्ने अध्ययन गरेको छ।’

उत्पादनतर्फ माथिल्लो अरुण, दूधकोसी, अरुण–४, तामाकोसी–५, चैनपुर सेती, मोदीखोलालगायत जलविद्युत् आयोजना निर्माणका लागि तयारी अवस्थामा रहेको भन्दै घिसिङले ती आयोजनामा लगानी जुटाउनु चुनौती रहेको बताए।

त्यस्तै प्रसारण आयोजना र वितरण प्रणाली सुदृढीकरणका लागि पनि लगानी चाहिने उनको भनाइ छ। विद्युत् प्रसारणतर्फ पूर्व–पश्चिम जोड्नेगरी चार सय किलोभोल्ट (केभी) क्षमताका दुईवटा आयोजना, भारतसँग जोड्ने तीनवटा अन्तरदेशीय प्रशारणलाइन र चीनसँग जोड्ने एउटा अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि प्राधिकरणले पहल थालिसकेको उनको भनाइ थियो।

प्राधिकरणले अघि सारेका स्मार्ट मिटरिङ आयोजना र ग्रीन हाइड्रोजन कार्यक्रमका लागि पनि वित्तीय स्रोत आवश्यक रहेको घिसिङले बताए। कार्यक्रममा युएसएडका ऊर्जा विशेषज्ञ शंकर खागीले नेपाल ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुन थप लगानी आवश्यक रहेकाले लगानीको स्रोत खोजिनुपर्ने बताए। ‘हामीले हरेक वर्ष ऊर्जा उत्पादन बढाइरहेका छौँ’ उनले भने, ‘वर्षात्को समय विद्युत् बेच्न सक्ने अवस्था अहिले रहे पनि सुख्खा मौसममा आयात नै गर्नुपरेको छ।’ यस्तो अवस्थामा ऊर्जा सुरक्षाका लागि चाहिने आवश्यक लगानीको स्रोत जोहो गुर्नपर्ने उनको भनाइ थियो।

युएसएड ऊर्जा नेपाल कार्यक्रमका ऊर्जा तथा वित्तीय क्षेत्र विशेषज्ञ सतिश जोशीले नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानी आवश्यकता रहे पनि त्यसका लागि स्रोत जुटाउन निकै चुनौतीपूर्ण रहेको बताए। लगानी जुटाउन प्रयोग भइरहेका विद्यमान स्रोतबाहेक अरु स्रोत खोज्नतर्फ लाग्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १६ फागुन २०७९ २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =