झापाको मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

हिमाल प्रेस १४ फागुन २०७९ १७:२९
14
SHARES
झापाको मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

काँकडभिट्टा– परिवर्तन थिएटरले प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव सुरु गरेको छ। फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका-१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन्।

१० वर्षदेखि झापामा नाट्यकला प्रवर्द्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य विधालाई व्यावहारिक रूपमा चिनाउन उत्सव आयोजना गरिएको थिएटरकी अध्यक्ष कविता नेपालले बताइन्।

हरेक दिन ४ नाटक मञ्चन हुने सो उत्सवमा उत्कृष्ट विद्यालयले पुरस्कार पाउनेछन् भने नाटक लेखन, अभिनय र निर्देशनबारे प्रशिक्षणसमेत सञ्चालन हुनेछ।

पश्चिम बंगालका प्रसिद्ध नाट्यकर्मी विश्वजित रोयले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको जनाउँदै अध्यक्ष नेपालले उत्सवमा मेचीनगरको परिवर्तन थिएटर र दमकको कदम थिएटरले आफ्नो नाटक प्रस्तुत गर्ने जानकारी दिइन्।

झापाको मेचीनगर, बिर्तामोड र दमकका कलाकर्मीले थिएटर स्थापना गरेको भए पनि मेचीनगर नगरपालिकाबाट नाटक घर निर्माणका लागि ५ वर्षदेखि आश्वासन मात्र पाइरहेको अध्यक्ष नेपालले गुनासो गरिन्।

‘नाटक घर बनाउन बजेट दिनुहोस् भनेर ५ वर्षभित्र दर्जनौँ फाइल पेस गरेर प्रस्ताव लग्यौँ, तर सहयोग पाएका छैनौं,’ उनले भनिन्।

नेपालमा रंगकर्मी नाटक देखाएर जीवन धान्नसक्ने अवस्थामा नरहेको बताउँदै उनले समाज रूपान्तरण र जनचेतना अभिवृद्धिको सशक्त माध्यमका रूपमा रहेको नाट्य कलाप्रति राज्यका सबै तहले उपेक्षा दर्शाउँदा कलाकार पलायन भइरहेको गुनासो गरिन्।

प्रकाशित: १४ फागुन २०७९ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =