लिग-२ समीकरण र नेपालको अबको बाटो

हिमाल प्रेस १३ फागुन २०७९ २१:२४
14
SHARES
लिग-२ समीकरण र नेपालको अबको बाटो

काठमाडौँ- नामिबियाले लिग-२ को आफ्नो अन्तिम खेलमा शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) माथि सात विकेटको जित दर्ता गरेको छ। यही जितसँगै अफ्रिकी टिमले लिग–२ मा पाँच खेलको पराजयको शृंखला पनि अन्त्य गरेको छ। हालै नेपालमा भएको शृंखलामा चारै खेल हारेको नामिबियले यूएईमा घरेलु टिमसँग पहिलो खेलमा पनि पराजय भोगेको थियो।

३६ औँ खेल जितेसँगै नामिबियाले लिग–२ मा ३९ अंक जम्मा गरेको छ। अगस्ट, २०१९ बाट सुरु लिग-२ मा नामिबियाले कुल १९ खेल जित्यो। लिग-२ का शीर्ष दुई स्थान यसअघि नै स्कटल्यान्ड र ओमानले कब्जा गरिसकेका छन्। च्याम्पियन बनेको स्कटल्यान्डले ३६ खेलबाट ५० र ओमानले ४४ अंक बटुले। शीर्ष दुईमा रहेसँगै यी दुई टिमको आउँदो जुन-जुलाईमा हुन विश्वकप छनोटमा सहभागिता पक्का भएको छ।

लिग–२ का तीन टिम विश्वकप छनोटमा छानिने व्यवस्था छ। स्कटल्यान्ड र ओमानले जिम्बोबेमा हुने छनोटमा स्थान पक्का गरेसँगै बाँकी तेस्रो तथा निर्णायक स्थानका लागि नामिबिया, अमेरिका, यूएई र नेपालबीच प्रतिस्पर्धा चलिरहेको छ।

नामिबिया जस्तै अमेरिकाले पनि लिग–२ का सबै ३६ खेल खेलिसकेको छ। अमेरिकाले ३५ अंकसहित लिग-२ समापन गरेको हो। यूएई र नेपालले २८-२८ खेल खेलेर क्रमशः आठ-आठ खेल्न बाँकी छ। लिग-२ का बाँकी दुई शृंखलामा यी दुई टिमसँगै पुछारको पपुवा न्युगिनी (पीएनजी) भिड्नेछन्।

चुनौती एकदिवसीय मान्यता जोगाउने
नेपालले यही फेब्रुअरी र मार्चमा एक–एक शृंखला खेल्दैछ। आउँदो सोमबारबाट यूएईमा हुने शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिमबाहेक पीएनजीसँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपाल मार्च २ मा यूएईसँग, मार्च ३ मा पीएनजी र मार्च ५ मा फेरि यूएईसँग भिड्नेछ।

यूएईको भ्रमण सकेर घर फर्कने नेपाली टिमले केही दिनको आरामपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पीएनजी र यूएईको सामना गर्नेछ। लिग-२ मा प्रत्येक टिमले एक विपक्षीसँग ६-६ खेल खेल्नुपर्ने तालिका छ। जस अनुसार नेपालले यूएई र पीएनजीसँग बाँकी चार–चार खेल यूएईमा र नेपालमा खेल्न लागेको हो।

नेपालले यसअघि लिग-२ मा यूएईसँग उसकै मैदानमा दुई खेल खेलिसकेको छ। मार्च, २०२२ मा पुबुदु दासानायकेको प्रशिक्षणमा यूएई पुगेको नेपाली टिमले त्यसबेला ४८ र ९९ रनको हार व्यहोरोको थियो। त्यही शृंखलामा नेपालले पीएनजीलाई भने दुवै खेलमा पन्छाएको थियो।

नयाँ प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा खेलिरहेको नेपालले शनिबार यूएई जानुअघि घरेलु मैदानमा च्याम्पियन स्कटल्यान्ड र तेस्रो स्थानको नामिबियालाई दुई-दुई पटक हराएको थियो। घरेलु मैदानमा शृंखला क्लिनस्विप गरेपछि नेपालको एकदिवसीय मान्यता बच्ने सम्भावना बलियो बनेको हो।

एकदिवसीय मान्यता जोगाउन नेपालले लिग-२ को शीर्ष पाँचमा आफूलाई पार्नु पर्नेछ। जुन हालका लागि नेपालको प्राथमिक लक्ष्य हो। एकदिवशीय मान्यता जोगाउन नेपाल कम्तीमा पाँचौँ हुन आवश्यक छ। अब बाँकी आठ खेलमध्ये पाँच खेल जिते नेपालले १० अंक थप्दै चौथो स्थानको अमेरिकालाई उछिन्नेछ।

आठमध्ये सात खेल जिते नेपालको ४० अंक हुनेछ। जुन तेस्रो स्थानको नामिबियाभन्दा एक अंक बढी हो। यो लक्ष्य महत्त्वकांक्षी भए पनि नेपाली टिम उत्साहित छ। यसका दुई कारण हुन्, जित लय र घरेलु मैदानमा हुने अन्तिम चार खेल।

विश्वकप छनोट
अक्टोबर-नोभेम्बर २०२३ मा भारतले आईसीसी क्रिकेट विश्वकप आयोजना गर्दैछ। जहाँ १० टिम सहभागी हुनेछन्। आयोजकका नाताले भारत विश्वकपमा स्वतः छनोट भइसकेको छ। अब बाँकी नौ स्थानमध्ये सात स्थान आईसीसी क्रिकेट विश्वकप सुपर लिगका शीर्ष सात टिमले ओगट्नेछन्।

२० जुलाई, २०२० देखि सुरु भएको सुपर लिग ३१ मे, २०२३ मा सकिँदैछ। सुपर लिगको शीर्ष सातमा हाल न्युजिल्यान्ड, भारत, इंग्ल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तान छन्। आठौँ देखि १३ औँ स्थानसम्म वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, जिम्बाबे र नेदरल्यान्ड्स छन्। आयोजक भारत शीर्ष सातमा रहँदा आठौँ स्थानसम्मका टिमले विश्वकपमा स्थान पक्का गर्नेछन्।

सुपर लिगका बाँकी पाँच टिम विश्वकप छनोटमा सहभागी हुनेछन्। छनोटमा सुपर लिगका पाँच, लिग-२ का शीर्ष तीन र ‘क्वालिफायर प्लेअफ’ बाट आउने दुई टिम गरी कुल १० टिम प्रतिस्पर्धामा उत्रनेछन्। यहाँ शीर्ष दुईमा स्थान बनाउने टिम विश्वकपमा पुग्नेछन्।

लिग-२ को शीर्ष तीनमा नपरे?
यस्तोमा उठ्ने प्रश्न हो, लिग-२ को शीर्ष तीनमा नपरे नेपालको आगामी बाटो के हो? नेपालले ‘क्वालिफायर प्लेअफ’ मा भाग लिनेछ। लिग-२ को पुछारका चार टिमसँगै च्यालेन्ज लिगबाट उक्लिएको दुई टिमले ‘क्वालिफायर प्लेअफ’ मा प्रतिस्पर्धा गर्नेछन्। च्यालेन्ज कपको समूह ‘ए’ बाट क्यानडा र समूह ‘बी’ बाट जर्सी ‘क्वालिफायर प्लेअफ’ मा पुगिसकेका छन्। माथि उल्लेख गरे जस्तै ‘क्वालिफायर प्लेअफ’ को शीर्ष दुईमा परे मात्र नेपाल विश्वकप छनोटमा पुग्नेछ।

लिग–२ मा बाँकी खेलः

दुबई, यूएईमा
पीएनजीविरुद्ध नेपाल, फेब्रुअरी २७
पीएनजीविरुद्ध यूएई, फेब्रुअरी २८
नेपालविरुद्ध यूएई, मार्च २
पीएनजीविरुद्ध नेपाल, मार्च ३
पीएनजीविरुद्ध यूएई, मार्च ५
नेपालविरुद्ध यूएई, मार्च ६

कीर्तिपुर, नेपालमा
नेपालविरुद्ध पीएनजी, मार्च ९
पीएनजीविरुद्ध यूएई, मार्च १०
नेपालविरुद्ध यूएई, मार्च १२
नेपालविरुद्ध पीएनजी, मार्च १३
पीएनजी यूएई, मार्च १५
नेपालविरुद्ध यूएई, मार्च १६

प्रकाशित: १३ फागुन २०७९ २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =