देउवाले देखाएको राजनीतिक इमान

डा. सुरेश चालिसे १४ फागुन २०७९ १४:५३
48
SHARES
देउवाले देखाएको राजनीतिक इमान

नयाँ संविधानसभा बनेर दुईवटा आमनिर्वाचन सम्पन्न भइसक्दा पनि राजनीतिक स्थिरता नहुँदा आमनागरिकमा निराशा छाएको छ। विकासको गन्तव्यमा पुग्ने काममा अवरोध भइरहेको छ। त्यस्तो निराशा केही समयअघि सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि स्पष्ट भएको थियो। किनकि स्थापित भनिएका दलहरूलाई जनताले कम विश्वास गर्ने अवस्था आएको छ। यसको कारण अरू नभएर स्वयं दल र तिनका नेताहरू नै हुन्।

मूल राष्ट्रिय समस्याको समाधान दिन सक्ने राजनीतिक दल नेपाली कांग्रेस हो। कांग्रेस ठूलो दल भएर पनि प्रतिपक्षमा बस्न बाध्य थियो। तर अब आठदलीय गठबन्धन गर्दै मुलुकलाई निकास दिन ठोस कदम अघि बढेको छ। यसको नेतृत्व कांग्रेसले गरेको छ। संविधान राम्ररी प्रयोगमा नआउँदै यसका प्रावधानउपर चारैतिरबाट आक्रमण हुन थालेको विषय उठिरहेको छ।

यसै क्रममा रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने निर्णय सराहनीय छ। चुनौती सामनाका लागि उच्च नैतिक शक्ति र दृढइच्छाशक्ति पहिलो आवश्यकता हो भन्दै आउनुभएका पौडेलका लागि अब अवसर आएको छ। राष्ट्रिय आत्मबल उठाउन होस् वा राष्ट्र विकासको ठोस गति अघि बढाउन पौडेलजस्ता निष्ठावान् व्यक्तित्व आवश्यक थियो। कांग्रेसले त्यही आधारमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको हुनुपर्छ।

पौडेलले मुलुकमा सुशासन र प्रभावकारी प्रशासनकै कुरा उठाउँदै आउनुभएको छ। त्यसैले उपयुक्त व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएर कांग्रेस सभापति शेरबहादुर देउवाबाट गिर्दो राजनीतिक साख बचाउने काम भएको छ। आमनागरिकमा राष्ट्रपतिको उम्मेदवारप्रति निकै चासो थियो। अब त्यो चासो जितहारमा पुगेको छ।

हरेक क्षेत्रमा अति राजनीति र अति दलीयकरण भयो भन्ने व्यक्ति पौडेलले आठ दलको साझा उम्मेदवारसहित राष्ट्र प्रमुखमा उम्मेदवारी दिएपछि आशाका नयाँ किरण देखापरेका छन्। अहिले देखाएको निराशा र असन्तुष्टिको जवाफ सुशासन र जवाफदेही शासन व्यवस्था हो। त्यसका लागि हामी कति तयार छौँ? भन्ने प्रश्न उठाइरहने व्यक्ति पौडेल महत्त्वपूर्ण पद नजिक पुग्नुभएको छ। यसमा उहाँको सकारात्मक योगदान हुने विश्वास गर्न सकिन्छ।

शेरबहादुर देउवाको तुलना समकालीन अन्य नेतासँग गर्नै मिल्दैन। देउवामा जत्तिको राजनीतिक संस्कार अन्यमा विरलै छ। आफूले बोलेको विषयलाई सम्बोधन गुर्न सभापति देउवाको विशेषता हो।

कुनै पनि क्षेत्र राजनीतिक प्रभावमुक्त छैन। तसर्थ यसलाई समाधान गर्नेतर्फ लाग्नुको हामी सबैको जिम्मेवारी हो। गुटगत स्वार्थ र विवादमा अल्झिनुभन्दा दुवैथरीको साझा सूत्र र सिद्धान्त बन्न सक्ने ‘निमुखालाई न्याय र विपन्नलाई आय’ भन्ने सूत्रमा एकताबद्ध भएर राष्ट्र निर्माणमा सरिक हुन सक्ने कि नसक्ने भन्नेमा पौडेलको चिन्ता रहँदै आएको छ।

अब उहाँले जलस्रोतलगायत प्राकृतिक संशाधन र परराष्ट्र सम्बन्धसहितका राष्ट्रका मूल मुद्दामा राष्ट्रिय सहमति गराउने र काम अघि बढाउन प्रयास गर्नुपर्नेछ। म त भन्छु– अहिले मुलुकसामु राजनीतिक र आर्थिक संकट जोडिएर आउन लागेको छ। सहरीकरणको प्रवृत्तिले ग्रामीण अर्थतन्त्र कमजोर बनेको छ।

लोकतन्त्रका प्रमुख संस्थाहरू अत्यन्तै कमजोर अवस्थामा पुगेका छन्। अदालत, अख्तियार, प्रशासनयन्त्र अस्तव्यस्त रहेको विषयमा पौडेल आफैँ जानकार हुनुहुन्छ। राजनीतिक दलहरूप्रतिको जनाधार ओरालोलाग्दो छ। नेतृत्वको विश्वसनीयता र प्रभाव समाजमा कत्ति पनि छैन। देशको भरोसाको केन्द्र बन्नुपर्ने नेपाली कांग्रेसको अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ। यस्तो अवस्थामा नागरिकले भरोसायोग्य व्यक्ति खोजिरहेका छन्। त्यसैले पौडेलको उम्मेदवारीले थप आस बढाएको छ। यस्तो अवस्थामा राष्ट्र प्रमुखको हैसियतमा उहाँले निर्वाह गर्ने भूमिका पनि महत्त्वपूर्ण हुनेछ।

पौडेललाई उम्मेदवारका रूपमा अघि सार्नु कांग्रेस सभापति शेरबहादुर देउवाको अब्बल निर्णय हो। यस प्रकरणमा सभापति देउवाले राजनीतिक इमानदारी देखाउनुभएको छ। देउवाको तुलना समकालीन अन्य नेतासँग गर्नै मिल्दैन। देउवामा जत्तिको राजनीतिक संस्कार अन्यमा विरलै छ। आफूले बोलेको विषयलाई सम्बोधन गुर्न सभापति देउवाको विशेषता हो।

मेले देउवासँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर नपाए पनि सम्पर्कमा रहेर काम गरेको छु। उहाँ नेविसंघको नेतृत्व गर्दा म पनि त्यही नेविसंघबाट आएको हो। त्यो लामो संलग्नताका कारण उहाँलाई काबिल नेताका रूपमा लिइन्छ।

अहिलेसम्मको अवस्था नियाल्दा रामचन्द्रको जित हुन्छ। उहाँको जित राष्ट्रको आवश्यकता हो। राष्ट्रपति पदमा निष्ठा भएको मानिस नै बस्नुपर्छ। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी विधयेक अड्कनु दुःखद हो। मुलुकमा राजनीतिक स्थायित्व एकदमै आवश्यक छ। पौडेल राष्ट्रपति हुँदा दुईपक्षीय बल मिल्छ।

(अमेरिका र बेलायतका लागि पूर्वराजदूत एवम् तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कूटनीतिक सल्लाहकार डा. चालिसेसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =