कांग्रेस नेतृत्वमा आठदलीय गठबन्धन नै नबनेको ओलीको दाबी

हिमाल प्रेस १३ फागुन २०७९ १६:४७
10
SHARES
कांग्रेस नेतृत्वमा आठदलीय गठबन्धन नै नबनेको ओलीको दाबी

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वमा आठदलीय गठबन्धन नै नबनेको दाबी गरेका छन्।

शनिबार राष्ट्रपति पदमा पार्टी उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएपछि प्रतिनिधिसभा भवनमा सञ्चारकर्मीहरूसँग बोल्दै यस्तो बताएका हुन्। आठदलबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको उनको भनाइ छ।

सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरूको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीको तर्क छ।

नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताउँदै उनले नेम्वाङलाई राष्ट्रपति पदमा विजयी गराउनका लागि सिंगै नेपाली जनताको, मिडिया क्षेत्रको पनि साथ रहने बताए।

‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरूको तर्फबाट अत्यन्तै अनुभवी, कानुनविद्, लामो समय सभामुखजस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएका, संविधान निर्माणका संविधानसभा अध्यक्षको हैसियतले महत्त्वपूर्ण भूमिका पूरा गर्नु भएका सफल राजनीतिज्ञको रूपमा परिचित माननीय सुवासचन्द्र नेम्वाङजीलाई आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको रूपमा उठाएका छौं,’ उनले भने,’पुस १० गते नै राष्ट्रपति पद एमालेले पाउने विषयमा टुंगो लागिसकेको हो। यसो भएर यसमा सहमत सबै पक्ष यसमा सबै पक्ष प्रतिबद्ध भएर लाग्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं।’

उनले कांग्रेस उम्मेदवारलाई कांग्रेसलाई समर्थन गर्ने कुरा प्रधानमन्त्री प्रचण्डजीले कसरी भन्नु भयो? भन्दै प्रश्न गरे।

प्रकाशित: १३ फागुन २०७९ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =