अमरसिंह थापा खोज्दै तुल्सी सर

राजाराम बर्तौला १३ फागुन २०७९ ८:१४
80
SHARES
अमरसिंह थापा खोज्दै तुल्सी सर

तुलसी औषधीय गुणयुक्त वनस्पति हो। हिन्दूहरूले धार्मिक रूपमा यसलाई विष्णु अवतार मान्छन्। त्यसैले होला घर बनाउँदा आँगनमा दाइना पारेर तुलसी रोप्नु भनिएको।

हेटौँडा उपनगरपालिका-११ को नवलपुरलाई आफ्नो सिर्जनाले, विज्ञताले सुवासित बनाउने दुइटा व्यक्तित्व छन्, तुल्सी थापा र वसन्त बिडारी। यी दुवै माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्। एउटाले आफूलाई अध्यापनमा पूर्ण समर्पित गरेका छन्। अर्को, बीचमै अध्यापन कार्य छोडेर अनुशीलन, परिशीलन र पुन: प्राध्यापनमा तल्लीन छन्।

एकजना साहित्य सिर्जनामा रमाएका छन्। अर्कोले लुम्बिनी तथा तिलौराकोटको विषयमा अनुसन्धानात्मक कृति प्रकाशित गरेका छन्। साहित्यकार तुल्सी भैँसेबाट नवलपुरमा आएर स्थायी निवासी भएका छन् भने वसन्त आफ्नो कर्मक्षेत्र लुम्बिनीलाई नै स्थायी निवास बनाएर बसेका छन्।

यसपालि हेटौँडा जाँदा तुल्सी सरसँग भेट्ने अवसर पाइयो। उहाँकै घरमा फरासिली बहिनी मेनकाले बनाएको सुस्वादिष्ट भोजन खाने सौभाग्य तुल्सी सरसँगै पाएँ। स्वास्थ्य समस्याले गर्दा उहाँ हिँडडुल गर्न त्यति सहज मान्नुहुन्न। मसँग भावनात्मक रूपमा नजिक भएकाले गफिन र भोजन गर्न राजी हुनुभयो।

उहाँको कथासंग्रह ‘फरक आकाश’ र कवितासंग्रह ‘एक निमेष अनन्तको’ पढे पनि ‘अमरसिंहको खोजीमा’मा नाटक भने पढ्न पाएको थिइनँ। उहाँको योगदानको कदर गर्दै गत असोजमा ‘बुढ्यौली साहित्य समाज मकवानपुर’ले अभिनन्दन गरेको थियो। साथै उहाँबारे ग्रन्थ प्रकाशन गरेको छ।

नौनीजस्तै नरम, कमलजस्तै कोमल हृदयका धनी, गुणी गुरुको जीवनका भोगाइ सुन्नुभन्दा आफ्नो दु:खेसोको पोको बिसाउनमा समय खेर फालेछु। बिदा हुने बेला उहाँबाट ‘व्यक्तित्वका आयाममा तुल्सी थापा’ नामक पुस्तक हातमा पाएँ।

उहाँका कवितासँग परिचित थिएँ। उहाँको कथा शिल्पबारे पनि जानकार थिएँ। तर नाटकीय विधामा उहाँभित्र रहेको आयातनको भेउसम्म पनि थाहा पाएको रहेनछु। पुस्तकमा १५ वटा व्यक्तित्व, १२ वटा कृतित्व, चारवटा रचना, एक स्वानुभूति, चारवटा संवार्ता र तुल्सी थापाका तीनवटा रचना समावेश गरिएका छन्।

ठाकुर शर्मा भण्डारीले लेख्नुभएको ‘फरक आकाश’ भित्रका कथाप्रतिको समीक्षात्मक लेख, एलबी क्षेत्रीको ‘तुल्सी थापा सर र म : एक अनुभूति’ र निमेष निखिल लिखित ‘एक निमेष अनन्तको : दार्शनिक चेतका दाना कविता’ पढ्दा नेपाली साहित्यमा उहाँको योगदानको अलग व्यक्तित्व देखिन्छ।

आफ्नै गाउँमा ‘नलेज भिलेज’ रहेछ। कहिले आएर थपक्क बसेछ थाहापत्तो भएन।

बेलाबेलामा सन्दर्भ मिलाएर दर्शनका पोका पनि खोल्नुहुन्छ, तुल्सी सर। धार्मिक मिथकको कसिलो प्रयोगसहित जहाँ महाभारत गान्धारीको आँखाको पट्टिभित्रबाट चिहाउँछन् र वर्तमान समाजको केस्रा उधिन्न खोज्नुहुन्छ। जसको ‘छहारीमा बसेको छ उसैलाई ढाल्न खोज्दछ मान्छे’ भन्दै सामाजिक विसंगति देखाउनुहुन्छ। चिनीसँग मिठास खोज्नुपर्ने दिन सम्झाउनुहुन्छ, तुल्सी सर। किताबबारे विचार पोख्तै भन्छन् ठाकुर शर्मा भण्डारी-

‘बोझिलो छ कतै याम अधुरो छ कथा ध्वनि,
अस्वीकृत कथापात्र कतै आकाशमा पनि,
कतै छुट्छन् कतै मिल्छन् स्थगित अवतार छन्,
सधैँ रुमल्लिने मान्छेका भिन्न भिन्न विचार छन्।’

धेरैले उनलाई प्रयोगकर्मी साहित्यकार भन्न रुचाएका छन्। ख्यातिप्राप्त लेखन आख्यानकार ध्रुवचन्द्र गौतमसमेत यही राय व्यक्त गर्छन्। विशेषत: ‘दाना’ कवितालाई इङ्गित गरेर। त्यो कविता जापानी हाइकु प्रकृति र प्रवृति नै हो। तर तुल्सी सरको ‘दाना’कवितामा नेपाली हावाको सुवास छ। मसिना, सूत्रबद्ध अनि मिहीन अर्थभाव लुकेको कविता चेत सादृश्य अभ्यन्तर हो। चेतनाको कुनै कुनामा टुच्च घोचेर फुत्त निस्कने। ‘शान्ति’ शीर्षकमा उनी लेख्छन् –
‘हैन कहाँ छौ हो तिमी?
खोज्दै छु म तिमीलाई
युद्धमा हारेदेखि’

भन्छन् नि कविता सापेक्षित हुनुपर्छ। ‘विडम्बना’ शीर्षकमा भन्छन् –

‘युद्ध किन भयो?
अचम्म, थाहा हुन्न
वीरयोद्धालाई पनि’

र यो पनि, विवशता नै हामी जनता जनार्दनको। चुनाव आउँछ नेताजीको बाचाकसम आउँछ। देश बनाउने सपना हुरी बनेर आउँछ। चुनाव सकिन्छ। सरकार बन्छ। तब देखिन्छ असली चरित्र। खोजेको जनार्दन तर फेरि पनि भेटिन्छन् दुर्योधन र धृतराष्ट्रहरू। हाम्रो नियति।

‘श्रीकृष्ण रिक्सा चलाउँछन्
भेटिँदैन कोही अर्जुन
सधैँ सवार दुर्योधन हुन्छन्’

यही एउटा कृति पढ्न बाँकी थियो। त्यो धोको पनि पूरा भएको छ। ‘अमरसिंहको खोजीमा’ नाटक पनि पढियो। नेपालको इतिहासमा दुईवटा पात्र छन् एकै नाम ‘अमरसिंह थापा’ भएका। दुवै गोरखाका। एउटा सिरानचोकका र अर्को बोर्लाङका। सिरानचोकका अमरसिंहचाहिँ उमेरले जेठा पनि भएकाले बडाकाजी हुन् र अर्को बोर्लाङका अमरसिंहचाहिँ नेपालको मुख्तियार भीमसेन थापाका पिता हुन्। नाटकले खोजेको अमरसिंह सिरानचोकका बडाकाजी हुन्। जसको नेतृत्वमा नेपालको सिमाना पश्चिममा सतलजसम्म पुगेको थियो। एउटा परिवारले आफ्नो सर्वस्व नेपालको स्वाधीनता रक्षाको लागि समर्पण गरेको गर्विलो इतिहासको लेखन हो, नाटक अमरसिंहको खोजीमा।

नेपालको इतिहासमा अमरसिंह एउटा सिंहको जस्तै अदम्य साहस र राष्ट्रियताको प्यास भएको सग्लो व्यक्तित्व हो। त्यो आफ्नो साँध र सिमानाको रक्षाको खातिर ढाल बनेर दरिलोसँग उभिने पर्खाल होे। त्यही नायकको परिकल्पना हो, अमरसिंहको खोजीमा।

नेपालको दसगजा मिचिँदै गर्दा, मेची र महाकालीको किनार धकेलिँदै गर्दा वा हिमालका हिमाली गोरेटा च्यापिँदै गर्दा कसैको छाती पोलेको वा आँखा बिझाएको देखिँदैन अहिले। माटोको साइनोसँग राष्ट्रियताको साइनो किन कमजोर भयो भन्ने चिन्ता देखिन्छ नाटककारमा। त्यसैले त होला फेरि नेपालीको मनभित्र, मुटुभित्र एउटा फेरि अर्को अमरसिंह खोजिरहेछन् लेखक।

प्रकाशित: १३ फागुन २०७९ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =