मर्दैछ काठमाडौँवासीको फोक्सो

श्रवण शर्मा १४ फागुन २०७९ १०:१७
252
SHARES
मर्दैछ काठमाडौँवासीको फोक्सो

काठमाडौँ उपत्यका डाँडाहरूले घेरिएको एउटा ठूलो खड्कुँलो हो। उपत्यका वरिपरि डाँडामा भएको जंगल राजधानीको फोक्सो हो।  ‘फोक्सो’ सास फेर्ने प्रमुख शारीरिक संयन्त्र वा अंग। हावाको शुद्धता मापन गर्ने विधिको हिसाबमा भन्ने हो भने बिहीबार काठमाडौँको हावामा धुलाको अणु तत्त्व (पार्टिकुलेट म्याटर) १५८ थियो। जबकि ५० माथि जानु खतराको संकेत हो। यसले मानिसको श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या बढाउँछ। ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मिनरी डिजिज’को मूल कारण वायु प्रदूषण हो।

प्रायः सबै सभ्यता र प्राचीन दार्शनिकले आफ्ना लेख वा प्रवचनमा हावाको प्रसंग ल्याएका छन्। हावा आँधी र मौसमलाई माया सभ्यतामा ‘भगवान्’ भनिन्थ्यो। भारतवर्षका हिन्दूले वायु भनेझैँ।

काठमाडौँ उपत्यका हिन्दू र बुद्धिस्ट सभ्यताले सिञ्चित गरेको मानव बसोबास हो। हिन्दू मान्यतामा वायुलाई भगवान् भन्दै प्राणी जगत्‌का  प्राणरक्षक मानिएको छ। प्रतापी पुरुष रामायणकालीन हनुमान र महाभारतकालीन भीमलाई वायुपुत्र भनिन्छ। बाबा रामदेवको योग पद्धतिको प्रसारणले नेपालमा पनि बिहानबिहान अनुलोम-विलोम गर्नेहरूको संख्या कम छैन, घरभित्र र बाहिर पनि।

हास्यास्पद के छ भने जो अनुलोम-विलोम भनिने सास लामो तान्ने र छाड्ने प्रक्रिया अवलम्बन गर्दैछन्, सायद तिनीहरू पनि वायु प्रदूषणका कारक हुन सक्छन्। साथै स्वस्थ हुन तानिएको वायुमा मिसिएको ‘पार्टिकुलेट म्याटर’ अर्थात् अणुतत्त्व मानव स्वास्थ्यका लागि घातक ठानिएको पीएम २.५ को मात्रा कति होला? यी अनुलोमी-विलोमीहरूले विचार गरेका होलान्? काठमाडौँको आकाशमा विचरण गरिरहेका स्वयं वायुदेव पनि एनके ९५ मास्क लगाइरहेका होलान्, सायद। र ठान्दा हुन्, ‘आफैँले रचना गरेको यस पवित्र वायुमण्डलमा बाँच्नै कठिन भयो।’

वायु प्रदूषण के हो?

हावामा धुलाको कण मानव स्वास्थ्यका लागि हानिकारक मानिएका ठोस तथा तरल पदार्थको समष्टिको एकमुस्ट मापन वा प्रतिक्रिया हो वायु प्रदूषण। प्रदूषित वायुमा रहेका हानिकारक अणुमध्ये कार्बन मोनोक्साइड एक किसिमको ग्यास हो। यो विषालु हुन्छ। हावाभन्दा यसको मात्रा केही कम हुन्छ। अर्को, लिड हो। लिड एक प्राकृतिक धातु तत्त्व हो। यो धातु पृथ्वीको माथिल्लो सतहमा पाइन्छ। यसमा टक्सिक बढी हुन्छ। टक्सिक भनेको विषाक्त पदार्थ हो।

त्यसैगरी नाइट्रोजेन अक्साइड पनि विषाक्त ग्यास हो। उच्च तापमा कुनै इन्धन बाल्नाले यो ग्यास उत्पादन हुन्छ। गाडीहरू यसका कारक हुन्। अक्सिजन मोलेकुल अर्थात् अक्सिजनका अणुले बन्ने ओजोन ग्यास पनि मानव स्वास्थ्यको दुश्मन हो र वायु प्रदूषणको कारण पनि।

धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले काठमाडौँमा सास फेर्न नसकिने वायु प्रदूषण रहेको समाचार सम्प्रेषण गरिरहेका छन्। विमानस्थल बनाएपछि पर्यटक ह्वार्ह्वारी नेपाल पस्नेछन् भन्ने सरकारी आकलनलाई विश्व सञ्चारमाध्यमबाट प्रेषित गरिएका यस्ता समाचारले कस्तो प्रभाव पारिरहेका होलान्?

असाध्यै साना अणु हुन् पार्टिकुलेट म्याटर। यो ठोस र तरल दुवै पदार्थबाट बनेको हुन्छ। मान्छेले सास लिँदा यी अणु फोक्सोमा जान्छन् र फोक्सोको प्वाल टालेर मानिसलाई बिरामी पार्छन्। एस्बेस्टोस एक किसिमको खनिज पदार्थ हो। यसबाट हजारौँ किसिमका औद्योगिक उत्पादन बनाइन्छ। यसका सानासाना कण हावामा तैरिरहन्छन्। ती कण फोक्सोमा पुगेको अवस्थामा श्वासप्रश्वासमा समस्या उत्पन्न गर्छन्।

बेन्जेन हाइड्रो कार्बन एक तरल पदार्थ हो। चुरोट, जंगल डढेलो यसका प्रमुख स्रोत हुन्। यसले बोनम्यारो र रातो रक्तकोष घटाउँछ। यो पनि प्रदूषित हावामा तैरिरहेको हुन्छ। राजधानीको वायुमा यिनै तत्त्वको बाहुल्य छ। वायु प्रदूषण यिनैका कारण भइरहेको छ।

वायु प्रदूषणका कारण

जलवायु परिवर्तनका कारण आकाशे पानीको समय र चरित्र दुवैमा अन्तर आएको छ। नेपालमा पश्चिमी वायुले पार्ने हिउँदे झरी यसपालि परेकै छैन। हिउँदे पानी पार्ने मौसमी प्रणाली विकसित नभएका कारण पानी पर्न नसकेको हो। खासगरी मेडिटेरेनियन समुद्रमा उत्पन्न हुने मौसमी चक्रको विकास र त्यसको पूर्वीभागतिरको यात्राले नेपालमा हिउँदे पानी पार्ने हो। यसपालि पर्न सकेन।

पानी नपर्नाले जमिन सुख्खा भयो। सुख्खा जमिनबाट धुलाका कण वायुमण्डलमा मिसिए। हावामा ओस नभएका कारण धुलाका सुख्खा कण वायुमण्डलमा घुमिरहने भए। चिसो हुन्थ्यो भने ती अणु जमिनमा खस्ने सम्भावना बढी रहन्थ्यो।

कच्ची सडक, इँटाभट्टा र यातायात, अव्यवस्थित र असुरक्षित निर्माण, निर्माण सामग्रीको असचेत ढुवानी, विद्युतीय र खनिज तेलको अत्यधिक प्रयोग, औद्योगिक क्रियाकलाप आदि वायु प्रदूषणका प्राथमिक कारण हुन्।

वायु प्रदूषण र मानव स्वास्थ्य

काठमाडौँको वायुमण्डलमा घुमिरहेको हावामा पार्टिकुलेट म्याटर २.५ को मात्राभन्दा बढी छ। पार्टिकुलेट म्याटर २.५ भन्नुको तात्पर्य वा त्यसको आकार के हो भन्ने प्रश्न उठ्न सक्छ। मान्छेको कपालको गोलाइभन्दा तीन हजार गुना सानो आकार हो पार्टिकुलेट म्याटर २.५ भनेको। अब भन्नुस्, यति सूक्ष्म अणु तत्त्वलाई मानिसको स्वत: सञ्चालित पद्धतिले फोक्सोमा प्रवेश गर्न कसरी रोक्न सक्छ? हावाको गुणस्तर मापन गर्ने विधिअनुसार मापन गर्दा हावाको शुद्धताको मात्रा ५० हुनुपर्नेमा राजधानीमा फागुन ११ को सूचकांकमा १५८ पाइएको छ।

यो भनेको मानव स्वास्थ्यका लागि प्रतिकूल अवस्था हो। धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले काठमाडौँमा सास फेर्न नसकिने वायु प्रदूषण रहेको समाचार सम्प्रेषण गरिरहेका छन्। विमानस्थल बनाएपछि पर्यटक ह्वार्ह्वारी नेपाल पस्नेछन् भन्ने सरकारी आकलनलाई विश्व सञ्चारमाध्यमबाट प्रेषित गरिएका यस्ता समाचारले कस्तो प्रभाव पारिरहेका होलान्?

क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज अर्थात् लामो समयसम्म रहने खोकी, श्वासप्रश्वास बिरामी नेपालको एक ठूलो स्वास्थ्य समस्या हो। नेपालमा अस्पतालमा वा उपचारका क्रममा हुने मानव मृत्युको सन्दर्भमा यो रोग दोस्रो श्रेणीमा पर्छ वा दोस्रो प्रमुख कारण छ। श्वासप्रश्वाससम्बन्धी रोगले हुने मृत्युमा नेपालजस्तो कम आय भएका अविकसित देशको प्रतिशत ९० हाराहारी छ। नेपालमै पनि यो रोगबाट हुने मृत्युमा यो दोस्रो ठूलो रोग हुन गएको छ। सार्वजनिक स्वास्थ्य अवस्था कमजोर भएको मुलुक हो नेपाल। वायु प्रदूषणको मात्रा बढ्दै जाने हो भने नेपालको स्वास्थ्य सेवा क्षमताले श्वासप्रश्वासका रोगीको उपचार गर्न सक्ने छैन।

तस्बिर : मार्को प्यानजेट्टी, डीडब्ल्यू जर्मनी

वायु प्रदूषणमा दोषी को हो?

जलवायु परिवर्तन र सांसारिक तापमानमा आएको परिवर्तन पहिलो दोषी हो भने नेपाल सरकार दोस्रो दोषी र नेपाली नागरिक (हामी) तेस्रो दोषी हौँ। आआफ्नो थाप्लामा पर्ने दोषका भागलाई व्याख्या गर्दा यसो भन्न सकिन्छ। पानी नपर्नु पर्यावरणीय चक्रमा आएको परिवर्तनको प्रतिफल हो। यो जलवायु परिवर्तन र सांसारिक तापमानमा आएको वृद्धिले हुन पुग्यो। त्यसकारण पहिलो दोष जलवायु परिवर्तनलाई जान्छ। दोस्रो दोषको भागी नेपाल सरकार हो। म राज्य भन्न चाहन्नँ। राज्यको काम गर्ने सरकार भएको हुनाले राम्रा-नराम्रा सबै कामको जिम्मेवारी सरकारको हुन्छ।

काठमाडौँको हरियाली कहाँ गयो? रिङरोड वरिपरिका रूख कहाँ गए? राजधानीका सानाठूला नदी कसले प्रदूषित बनायो? सडकको धुलो उठाउन र कच्ची बाटोबाट आउने यातायात साधनलाई एउटा मापदण्ड पूरा गरेरमात्र सडक प्रवेश गर्ने पद्धति किन बसाउन सकिएन? पूर्वाधार निर्माणको स्वास्थ्य र वातावरण मानक बनाउने अधिकार छ-छैन नेपाल सरकारसँग?

सडक किनारामा रूख रोप्न दलीय सहमति गर्नुपर्छ। नेपालमा राजनीतिक दल तिनका नेता र तिनले चलाएको सरकार राजनीतिक दलका सीमित वा एक दर्जन नेताको सम्पूर्ण विलासिता र परमानन्दका लागि क्रियाशील छ। आफ्ना पदका लागि नेता रातारात नसुती र नखाई पनि वार्ता गर्दै पदीय भागबण्डा निर्धारण गर्न भ्याउँछन्। तर सडक किनारामा रूख रोप्ने, सडकको धुलो उठाउने, पूर्वाधार र निजी निर्माणका लागि वातावरणीय मानक तयार पार्नका लागि कतै बैठक बसेको, छलफल भएको तपाईँ हामी कसैले सुनेका छौँ? छैनौ। समस्या यहीँ छ।

काठमाडौँ वरिपरि अवस्थित डाँडाका जंगल राजधानीको फोक्सो हो। यिनै डाँडाको जंगलमा भएका रूखले उपत्यकाको कार्बन उत्सर्जन संग्रहण गर्छन् र अक्सिजन दिइरहेका छन्। शिवपुरी, फुलचोकी, चन्द्रागिरि, नागार्जुनको जंगल नहुने हो भने काठमाडौँ मानव बसोबास प्रतिकूल हुन जान्छ।

रूखले कार्बनडाइ अक्साइड अवशोषण गर्छ। रूखका पातले हावाका विकिरणयुक्त कण वा अणुलाई नष्ट पार्ने क्षमता राख्छन्। रूखमा लाग्ने झ्याउले धुलो संग्रहण गर्छन्। यति सामान्य कुरा पनि सरकारी संयन्त्रलाई थाहा नभएको पक्कै होइन। बरु मानवीयता, मानव स्वास्थ्य र धर्तीको समग्र स्वास्थ्यप्रति संवेदनशील नभएको अवश्य हो।

उदाहरण हेरौँ, कलंकी-महाराजगन्ज हुँदै कोटेश्वरसम्मको रिङरोड विस्तारको अत्तोपत्तो छैन। तर रिङरोड वरिपरिका रूख काटिएको १० वर्ष हुन लाग्यो। सडक बन्ने सुनिश्चित नभई सडक किनारका रूख ढाल्न किन हतार भयो?

हामी नेपालीमा प्रश्न गर्ने संस्कार विकसित भएन। अब प्रश्न सोधौँ- मन्त्रीलाई, सांसदलाई, सरकारी संयन्त्रमा रहेका आधिकारिक व्यक्तिलाई, राजनीतिक दल र तिनका प्रत्येक नेता कार्यकर्तालाई प्रश्न सोधौँ। वायु प्रदूषण नियन्त्रणका लागि तपाईंले कहाँ कुरा उठाउनुभयो? तपाईंको पार्टीको बैठकमा के कुरा उठ्छन्, के विषयमा तपाईंहरू छलफल गर्नुहुन्छ? नागरिक एजेन्डा तपाईंहरूको राजनीतिको कार्यसूचीमा किन पर्दैनन्?

माथि भनिएको छ, काठमाडौँ वरिपरि अवस्थित डाँडाका जंगल राजधानीको फोक्सो हो। यिनै डाँडाको जंगलमा भएका रूखले उपत्यकाको कार्बन उत्सर्जन संग्रहण गर्छन् र अक्सिजन दिइरहेका छन्। शिवपुरी, फुलचोकी, चन्द्रागिरि, नागार्जुनको जंगल नहुने हो भने काठमाडौँ मानव बसोवास प्रतिकूल हुन जान्छ।

शिवपुरी र फुलचोकी काठमाडौँ उपत्यकाको पानीका स्रोत हुन्। पानीका यी मुहान कसले मास्यो, यी जंगल कसले मासिरहेको छ र के प्रयोजनका लागि जंगल सखाप पारिएको हो? सीमित मानिसको व्यवसाय सञ्चालन र पैसा कमाउने प्रयोजनका लागि धर्तीको पर्यावरण सन्तुलनमा योगदान गरिरहेका जैविक विविधतायुक्त सम्पूर्ण वन मास्नमा सरकार नै उद्यत छ। त्यसकारण दोषी सरकार छ। सरकार चलाउनेहरू दोषी छन्। उनीहरूका दोषका कारण आमनिर्दोष मानिस सास फेर्न कठिन महसुस गरिरहेका छन् र कतिपय मरिरहेका पनि छन्।

अब तेस्रो दोषीको कुरा गरौँँ। हामी नेपाली नागरिक हौँ, तेस्रो दोषी। आज प्रत्येक मान्छेका हातमा स्मार्ट फोन छ। मास मिडियाले मिनेटमिनेटमा विभिन्न खाले सूचना सम्प्रेषण गरिरहेका छन्। पर्यावरण, स्वास्थ्य, पारिस्थितिकी (इकोलोजी), पारिस्थितिक प्रणाली (इकोसिस्टम), जैविक विविधता र यसको महत्त्वसम्बन्धी समाचार जतासुकै पढ्न पाइएको छ। मानिसले आफ्नो घरायसी काम गर्दा, निजी व्यवसाय सञ्चालन वा निजी पूर्वाधार निर्माण गर्दा न्यूनतम पर्यावरणीय मानक अवलम्बन गर्न स्वीकार गरिरहेका छैनन्। त्यसकारण नागरिक पनि दोषी छौँ।

पर्यावरण सचेतनाका लागि विद्यालयस्तरदेखि नै पाठ्यक्रम विकास गर्न ढिला भइसकेको छ। नेपाल सरकारले विकास निर्माण, घरायसी प्रयोजन, सार्वजनिक प्रयोजनका कार्य गर्दा अवलम्बन गर्नैपर्ने पर्यावरणीय मानक विकास गरी लागू गर्न ढिला गर्नै हुँदैन। यद्यपि वायु प्रदूषण सांसारिक उहापोह नै हो तर स्थानीय तवरमा नियन्त्रणका धेरै काम गर्न नसकिने होइन।

सरकारको कर्तव्य र दायित्व नागरिकको हरसम्भव प्रयत्नद्वारा रक्षा गर्नु हो। मानिसको अकाल, असामयिक र उपचार हुन नसकी हुने मृत्यु परिवारलाई भावनात्मक पीडा हो भने राज्य वा सरकारका लागि राजकीय दायित्व पूरा गर्न नसक्नुका साथै आर्थिक नोक्सानी पनि। श्वासप्रश्वास रोगका उपचारका लागि जेजति औषधि आयात गरिन्छ, औषधि मूल्यको अनुपातमा थोरै रकम वायु प्रदूषण नियन्त्रणमा लगाइने हो भने राजधानीको हावाको गुणस्तर सुध्रिन सक्छ।

[जलवायु परिवर्तन, इकोलोजिकल सन्तुलन र पर्यावरणका क्षेत्रमा निरन्तर कलम चलाइरहने शर्मा प्रकृतिको अधिकार (द राइट अफ नेचर) अभियन्ता हुन्।]

प्रकाशित: १४ फागुन २०७९ १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 5 =