क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुई लाख दिने प्रधानमन्त्रीको घोषणा

हिमाल प्रेस ११ फागुन २०७९ १६:०५
32
SHARES
क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुई लाख दिने प्रधानमन्त्रीको घोषणा तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही दुई लाख रुपैयाँसहित सम्मान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरे।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूसँगको भेटमा प्रचण्डले खेलाडीको हौसला बढाउन पुरस्कार घोषणा गरेको बताए। नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्याण्डसँगको खेलमा जित हात पारेको थियो। नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपाल पहिलो पटक क्लिन स्विप गरेको थियो।

खेलाडीसँग प्रधानमन्त्रीले जितपछि आफू पनि खुसी भएको बताए। ‘छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ। यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो। यस पटक सबै खेल जितेर तपाईंहरूले नेपाली जनताको शीर ठाडो बनाउने ऐतिहासिक भूमिका खेल्नुभएको छ,’ उनले भने,’नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु।’

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि युएई जाँदैछ।

प्रकाशित: ११ फागुन २०७९ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =