सांसदहरूले काठमाडौँ उपत्यकामा घर जग्गा खरिद गर्न नमिल्ने व्यवस्था गरौं : प्रेम सुवाल

हिमाल प्रेस १० फागुन २०७९ १४:५०
6
SHARES
सांसदहरूले काठमाडौँ उपत्यकामा घर जग्गा खरिद गर्न नमिल्ने व्यवस्था गरौं : प्रेम सुवाल

काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले काठमाडौँ उपत्यकामा घर जग्गा खरिद गर्न नमिल्ने कानुन बनाउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले यस्तो बताएका हुन्। उनले सांसद चुनिएर काठमाडौँ आएका नेताहरूलाई यहाँ घर जग्गा चाहिने र यसको व्यवस्था मिलाउन उपत्यकाका सांस्कृतिक र पुरातात्त्विक महत्त्वका सम्पदाहरू मासिने क्रम बढेको उनको भनाइ छ।

‘सांसदहरूलाई घर जग्गाको व्यवस्था मिलाउनका लागि यहाँका सम्पदा मास्ने क्रम बढेको छ। ललितपुरको सुनाकोठी-ठेचो र चापागाउँका पुरानो बस्ती भत्काएर सडक विस्तार गरिएकोमा जनताको विरोध छ। काठमाडौँमा घर भत्काएर सडक चौडा गरिदैमा सडक जाम हट्ने छैन। पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाडौँ उपत्यकामा खाद्यन्न आपूर्ति अवरुद्ध हुने र यहाँका जनता भोकभोकै मनुपर्ने अवस्था छ। ०७२ सालको जस्तो ठूलो भूकम्प काठमाडौँमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौं जनताको मृत्यु हुने अवस्था छ। यसकारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय जनतासँगै घर बनाएर बस्नुपर्ने, काठमाडौँ उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानुन बनाउन जरुरी छ,’ उनले भने, ‘जथाभावी यस्तो काम गर्ने काठमाडौँ उपत्यका विकास प्राधिकरण अभिलम्ब खारेज गर्न आवश्यक छ।’

उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभावी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसले ठूलो विपद् ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सांसद सुवालले भक्तपुरस्थित नगरकोट सडक खण्डको निर्माण कार्य सम्पन्न गराउन पनि सरकारलाई सचेत गराए। ८ वर्षदेखि सो सडकखण्डको निर्माण कार्यले पूर्णता नआएकोमा उनले आपत्ति छ।

प्रकाशित: १० फागुन २०७९ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =