अन्डर–१९ क्रिकेट विश्वकप : विगतकाे सफलता दोहोर्‍याउन होइन, छनोट नै चुनाैतीपूर्ण

हिमाल प्रेस १० फागुन २०७९ १५:५६
12
SHARES
अन्डर–१९ क्रिकेट विश्वकप : विगतकाे सफलता दोहोर्‍याउन होइन, छनोट नै चुनाैतीपूर्ण

काठमाडौँ- हालसम्म अन्डर–१९ विश्वकपका १४ संस्करण आयोजना भएका छन्। तीमध्ये सात संस्करण नेपालले खेलेको छ। उमेर समूहको विश्वकपमा नेपालले पाएको सबैभन्दा ठूलो सफलता क्वार्टरफाइनल हो। सन् २०१६ मा बंगलादेशी भूमिमा भएको विश्वकपमा नेपाल संयोगवश घरेलु टिमसँग पराजित भएको थियो।

नेपाल त्यसपछि अन्डर–१९ विश्वकपमा छनोट हुन सकेको छैन। नेपाल २०२० विश्वकपकाे नजिक पुगेको थियो। तर मलेसियामा भएकाे छनाेटमा वर्षा खलनायक साबित भएपछि नेपालको विश्वकप खेल्ने सपना पूरा हुन सकेन।

एसियाली छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल डीएल पद्धतिका आधारमा संयुक्त अरब इमिरेट्स यूएई सँग एक रनले पराजित हुन पुग्यो। बाँकी चार खेल जितेको नेपाल छनोट अंक तालिकामा दोस्रो स्थानमा सीमित हुँदा यूएईले विश्वकपमा स्थान पक्का गरेको थियो।

सन् २०२२ विश्वकपका लागि भने छनाेट प्रतियाेगिता गरिएन। काेभिड महामारीका कारण छनाेट प्रतियाेगिता नभएपछि अघिल्लाे  संस्करणको छनोटका आधारमा यूएई वेस्ट इन्डिजले आयाेजना गरेकाे विश्वकपका लागि छानिएको थियो।

मलेसियामा निराश बनेको त्यस नेपाली युवा टिमका कतिपय खेलाडी हाल सिनियर टिमको सदस्य छन्। त्यस टिमका कप्तान रोहित पौडेल सिनियर टिमको कप्तानी गरिरहेका छन्। त्यसैगरी सन्दीप जोरा, कुशल मल्ल, आशिफ शेखलगायतका खेलाडी पनि सिनियर टिममा छन्।

यसपालि विश्वकप छनोट यूएईमा हुँदैछ। यूएईमा नेपाली युवा टिमको कप्तानी देव खनालले गर्नेछन्। गुल्शन झा सिनियर टिममै रहने भएपछि १७ वर्षीय देवलाई टिमको नेतृत्वकर्ता बनाइएको हो। मुख्यप्रशिक्षक भने जगत टमाटा नै छन्। टमाटा र देव दुवैले नेपाल विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन्।

‘समग्र रुपमा हाम्रो टिम सन्तुलित छ। जिल्ला र प्रदेशस्तरबाट खेलाडी छानेर टिम निर्माण गरिएको हो। ५५–६० दिनस बन्द प्रशिक्षणमा बितयौँ। सिनियर टिमसँग पनि अभ्यास खेल खेलियो। सिनियर टिमसँग खेल्दा यी खेलाडीहरुको प्रदर्शन राम्रो रह्यो। जसले गर्दा यिनीहरु उत्सहित छन्,’ सन् २०१६ मा नेपाललाई क्वार्टरफाइनलसम्म पुर्‍याएका टमाटाले भने।

अनुभवी प्रशिक्षक टमाटा गुल्शनको अनुपस्थितिले टिमलाई घाटा भएको स्वीकार गर्छन्। यद्यपि गुल्शन नहुने बित्तिकै प्रदर्शनमा ठूलो असर नपरिहाल्ने उनको भनाइ थियो। अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा छानिन नेपालले यूएईबाहेक मलेसिया, कुवेत, सिंगापुर र हङकङको चुनौती पार गर्नुपर्नेछ।

मुख्यप्रशिक्षक टमाटा यूएई मात्र नभई बाँकी सबै टिमसँगको खेल महत्त्वपूर्ण हुने बताउँछन्। ‘उद्देश्य विश्वकपमा छनोट हुने राखेपछि सबैलाई एक–एक गरी हराउनु पर्छ। यसकारण यूएईसँगको खेल मात्र महत्त्वपूर्ण हो भन्न मिल्दैन,’ राष्ट्रिय खेलकुद परिषद्मा बुधबार बिहान आयोजित बिदाइ कार्यक्रमपछि टमाटाले भने।

कप्तान देवले विश्वकप छनोटलाई लिएर आफूहरु आत्मविश्वासी रहेको बताए। पोखरामा राखिएको बन्द प्रशिक्षण र अभ्यास खेलका कारण टिमको तयारी राम्रो भएको उनको भनाइ छ। ‘हामीमा आत्मविश्वास छ। टिमको सबैभन्दा बलियो पक्ष फास्ट बलिङ हो। हाम्रो उद्देश्य छनोटमा च्याम्पियन बन्ने हो। विश्वकप खेल्ने हो। म कप्तान र सिनियर खेलाडी भएकाले टिममा सबैभन्दा ठूलो जिम्मेवारी मेरै हो,’ देवले भने।

नेपालबाट एकदिवसीय क्रिकेट खेलिसकेका देव उमेर समूहको विश्वकपको छनोटमा राम्रो प्रदर्शन गर्दै सिनियर टिममा फर्कन चाहन्छन्। ‘उमेर समूहको टिममा राम्रो गर्नसके भने सिनियर टिममा पुनरागमन गर्नसक्छु भन्ने विश्वास छ,’ देव आशावादी देखिए।

गुल्शनको अभाव टिममा महसुस हुने भए पनि बाँकी खेलाडीले उनको अभाव पूर्ति गर्ने कप्तान देवको विश्वास थियो। मुख्य प्रशिक्षक टमटासँग गहिरो अनुभव भएकाले उनको नेतृत्वमा छनोटमा अपेक्षित नतिजा ल्याउने देवको भनाइ थियो।

‘जगत गुरु हाम्रो टिमको लक्की चार्म हो। मैले यो कुरा सधैँ भन्दै आएको छु। उमेर समूहमा एउटा टिम असाध्यै राम्रो अरु नराम्रो भन्ने हुँदैन। सबै टिमसँग उही लयमा खेल्नुपर्छ। गुल्शन यो टिमको सबैभन्दा ठूलो सम्पत्ति थिए। ब्याटिङ बलिङ दुवैमा उनी अब्बल छन्। उनी टिमको मुख्य खेलाडी मात्र होइन लिडर पनि थिए। उनको अभाव महसुस हुनेछ। तर अब बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ। आशा छ हामी गुल्शनलाई विश्वकपमा लिएर जानेछौँ,’ देवले भने।

अन्डर–१९ विश्वकपको बाटो
आईसीसी अन्डर–१९ क्रिकेट विश्वकप २०२४ मा कुल १६ टिमले सहभागिता जनाउनेछन्। आयोजक श्रीलंकासहित ११ टिम यो विश्वकपका लागि स्वतः छनोट भइसकेका छन्। अब बाँकी पाँच स्थानका लागि क्षेत्रीय छनोट हुन लागेको हो।

क्षेत्रीय छनोटमा छानिन डिभिजन–२ का टिमहरू सन् २०२२ को अगस्टदेखि सेप्टेम्बरसम्म प्रतिस्पर्धामा थिए।

नाइजेरियामा भएको अफ्रिकातर्फको डिभिजन–२ प्रतिस्पर्धाबाट घरेलु टिम नाइजेरिया, केन्या र सिरिया लियोन क्षेत्रीय छनोटमा उक्लिएका छन्। एसियाबाट हङकङ र सिंगापुर अनि युरोपबाट गन्र्सी, इटाली र नर्वे क्षेत्रीय छनोट खेल्न छानिएका छन्।

अब अमेरिका, अफ्रिका, एसिया, युरोप र पूर्वीएसियामा क्षेत्रीय छनोट हुँदैछन्। उत्तर, मध्य र दक्षिण अमेरिकी टिमहरु प्रतिस्पर्धामा उत्रने अमेरिकातर्फको छनोट अगस्ट ११ देखि १७ सम्म क्यानडामा हुँदैछ। जहाँ आयोजक क्यानडासँगै अर्जेन्टिना, बर्मुडा, सुरिनाम र अमेरिका भिड्नेछन्।

जुलाई २३ देखि २९ सम्म तान्जानियाले आयोजना गर्ने अफ्रिकाको क्षेत्रीय छनोटमा तान्जानियाबाहेक केन्या, नामिबिया, नाइजेरिया, सिरिया लियोन र युगान्डा सहभागी हुनेछन्।

फेब्रुअरी २४ बाट मार्च २ सम्म हुने एसियाली छनोटमा आयोजक यूएई, नेपाल, सिंगापुर, मलेसिया, कुवेत र हङकङ भिड्नेछन्। युरोपेली छनोट अगस्ट ६ देखि १२ सम्म नेदरल्यान्ड्समा हुने तालिका छ। जहाँ नेदरल्यान्ड्ससँग गन्र्सी, इटाली, जर्सी, नर्वे र स्कटल्यान्ड प्रतिस्पर्धामा उत्रनेछन्।

पूर्वीएसियातर्फको छनोटमा फिजी, इन्डोनेसिया, जापान, न्युजिल्यान्ड, पपुवा न्यु गिनी, समोआ र भानुआतु प्रतिस्पर्धामा उत्रनेछन्। यो छनोट जुन १२ बाट २१ सम्म अस्ट्रेलियामा हुनेछ।

प्रत्येक क्षेत्रीय छनोटबाट एक–एक टिम उमेर समूहको विश्वकपमा छानिनेछन्। क्षेत्रीय छनोटबाट छानिने पाँच टिमले छनोट भइसकेका ११ टिमसँग विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्। गत संस्करणको विश्वकपमा गरेको प्रदर्शनका आधारमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्टइन्डिज र जिम्बाबे आउँदो विश्वकपका लागि सिधैँ छानिएका हुन्।

एसियाली छनोटमा नेपाल
यूएईको अजमानमा हुने एसियाली छनोटमा नेपालले आयोजक यूएई, मलेसिया, कुवेत, सिंगापुर र हङकङको सामना गर्नेछ। हङकङ र सिंगापुर डिभिजन–२ छनोट हुँदै क्षेत्रीय छनोटमा आइपुगेका हुन् भने बाँकी टिम स्वतः छानिएका हुन्।

नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरको सामना गर्नेछ। फेब्रुअरी २४ मा पहिलो खेल खेलेपछि नेपालले भोलिपल्ट कुवेतको सामना गर्नेछ। त्यसैगरी फेब्रुअरी २७ मा हङकङ, २८ मा मलेसिया र मार्च २ मा यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

अन्डर-१९ विश्वकपमा नेपाल
सन् १९८८ : सहभागी/छनोट नभएको
सन् १९९८ : सहभागी/छनोट नभएको
सन् २००० : सुपर लिग चरण
सन् २००२ : समूहमा तेस्रो, प्लेट च्याम्पियनसिपको फाइनलमा पराजित
सन् २००४ : समूहमा तेस्रो, प्लेट च्याम्पियनसिपको समूहमा तेस्रो
सन् २००६ : समूहमा तेस्रो, न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पियनसिप विजेता
सन् २००८ : समूहमा तेस्रो, प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित
सन् २०१० : छनोट नभएको
सन् २०१४ : छनोट नभएको
सन् २०१६ : क्वार्टरफाइनलमा बंगलादेशसँग पराजित भएको
सन् २०१८ : छनोट नभएको
सन् २०२० : छनोट नभएको
सन् २०२२ : छनोट नभएको

प्रकाशित: १० फागुन २०७९ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =