‘अभ्यस्त पिचले जित सहज’

हिमाल प्रेस ९ फागुन २०७९ १९:५४
6
SHARES
‘अभ्यस्त पिचले जित सहज’

काठमाडौँ- नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचले जित सहज भएको प्रतिक्रिया दिएका छन्। नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक श्रृंखला क्लिन स्विप गरेपछि उनले उक्त प्रतिक्रिया दिएका हुन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलबार सम्पन्न श्रृंखलाको अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटले जितेको थियो।

जितमा उत्कृष्ट योगदान पनि दिएका पौडेलले घरेलु मैदानमा गरेको अभ्यासले सफलता पाएको बताए। जितका लागि २१३ रनको लक्ष्य पाएको नेपाली टिमलाई हारको संघारबाट जोगाउनमा कप्तान पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए। १०१ बल खेलेका उनले नटआउट ९५ रन बनाएपछि नेपाल जित्न सफल भएको हो।

जितपछि आफूलाई निकै राहत मिलेको कप्तान पौडेलले बताए। उनले युएईमा हुन लागेको अर्को श्रृंखलामा पनि यसै लयलाई निरन्तरता दिने लक्ष्य रहेको पनि बताए। दुबईमा हुने श्रृंखलाका लागि खेलाडीको विषयलमा छलफल भइरहेको समेत उनको भनाइ थियो।

नयाँ प्रशिक्षकको नियुक्त भएसँगै ब्याटिङ सुधारमा केन्द्रित भएको टोलीले सम्पन्न श्रृंखलाबाट सुधारको संकेत दिएको छ। प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई दिएको जिम्मेवारी सही तरिकाले प्रयोग गर्दा सफलता पाएको बताए। घरेलु दर्शकको उल्लासपूर्ण साथले पनि खेलाडीलाई सहज बनाएको उनको भनाइ थियो।

घरेलु मैदानमा पसिना बगाएर यादगार श्रृंखला बनाउँदा आफूलाई पनि खुसी लागेको प्रशिक्षक देशाईको भनाइ थियो। खेलाडीको प्रदर्शनले नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने पुष्टि गरेको उनको भनाइ थियो।

प्रकाशित: ९ फागुन २०७९ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =