चितवन-२ उपनिर्वाचन : दल दर्ताका लागि आयोगको आह्वान

हिमाल प्रेस ७ फागुन २०७९ १३:२७
6
SHARES
चितवन-२ उपनिर्वाचन : दल दर्ताका लागि आयोगको आह्वान

काठमाडौँ- निर्वाचन आयोगले चितवन २ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने चाहने राजनीतिक दललाई दर्ताको लागि आह्वान गरेको छ। वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन हुँदैछ।

आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ।

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ।

उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको छ। आगामी चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक भएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ।

यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।


–––

प्रकाशित: ७ फागुन २०७९ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =