प्रजातन्त्र दिवस विशेष

राजा त्रिभुवनको दिल्लीबाट बिदाइ र काठमाडौँमा स्वागत हुँदा…

सन्तोष खडेरी ७ फागुन २०७९ ९:५६
1.1k
SHARES
राजा त्रिभुवनको दिल्लीबाट बिदाइ र काठमाडौँमा स्वागत हुँदा… गौचर हवाईअड्डामा राजा त्रिभुवनलाई स्वागत गर्दै प्रधानमन्त्री मोहनशमशेर र नेपालका लागि भारतीय राजदूत सीपीएन सिंह।

२००७ साल कात्तिकमा स्वनिर्वासनमा भारत पुगेका राजा त्रिभुवन १०६ दिनपछि सोही ४ फागुनमा नेपाल फर्किएका थिए। उनको भारत निर्वासनको उद्देश्य देशमा १०४ वर्षदेखि कायम राणा शासनको अन्त्य गराउन सहयोग लिनु थियो। यहाँ उनको भारतयात्रा र नेपाल फिर्तीको समारोहलाई त्यतिबेला प्रकाशित केही समाचारका आधारमा चर्चा गरिएको छ।

राजा त्रिभुवनले नेपालस्थित भारतीय राजदूत सीपीएन सिंहमार्फत भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको पूर्ण आश्वासन पाएर सन् १९५० को ६ नोभेम्बरको बिहान ०९ः४५ मा भारतीय दूतावास (त्यतिबेला भारतीय दूतावास हालको राष्ट्रपति कार्यालय शीतल निवासमा थियो।) मा परिवारसहित शरण लिएका थिए।

राणा शासनले राजा त्रिभुवनलाई दूतावासबाट फर्काउन नखोजेको होइन। तर उनीहरूको प्रयास सफल हुन सकेन। यथार्थ के भयो भने त्यति बेला राजा त्रिभुवन दूतावासभित्र पस्नासाथ क्षणिक समयका लागि मात्र होइन कालान्तरसम्मका लागि नेपाल कमजोर र भारत बलियो हुन पुग्यो। नेपालको राज्यसत्तामा भारतको हात सधैँ माथि र नेपालको तल पर्न पुग्यो।

राजा त्रिभुवन दूतावासबाट फर्किन नमानेपछि ७ नोभेम्बरमा प्रधानमन्त्री मोहनशमशेरले भारदारीसभा र तथाकथित संसद्को निर्णयबाट राजा त्रिभुवनलाई गद्दीच्युत गराए। राणा प्रशासनले त्रिभुवनका नाति ज्ञानेन्द्रलाई नयाँ राजा घोषित गर्‍यो।

यसै बेला भारतीय दबाब १० नोभेम्बरका दिन प्रधानमन्त्री मोहनशमशेरले राजा त्रिभुवनलाई सपरिवार भारत जान अनुमति दिए। ११ नोभेम्बरमा भारतीय वायुसेनाका दुईवटा विमानमा सवार भएर राजपरिवार गौचर हवाईअड्डाबाट अपराह्न १२ः२३ मा दिल्लीका लागि उडेको थियो।

एकातिर राजा त्रिभुवनको सपरिवार भारतको स्वनिर्वासन, अर्कोतिर राणा शासनविरुद्ध नेपाली कांग्रेसको सशस्त्र आन्दोलनका कारण राणा शासन थप दबाबमा थियो। राणा सरकारका प्रतिनिधिका रूपमा दिल्लीमा वार्ता गर्न विजयशमशेर, केशरशमशेर र नरेन्द्रमणि आचार्य दीक्षित खटिएका थिए। स्वनिर्वासन भनिए पनि त्रिभुवन भारतमा भारत सरकारका बन्दीजस्ता थिए।

भारतीय भूमि प्रयोग गरेर नेपाली कांग्रेसले सशस्त्र आन्दोलनमा गरिरहेकाले उसमा पनि भारतीय प्रभाव थियो। भारत सरकारले मध्यस्थता गरिरहेको भनिए पनि राणा प्रतिनिधिमण्डलको वार्ता नेपाली पक्षसँग नभएर भारतसँग थियो। राणाको कुरा सुनेर पहिले आफू सहमत भएमा पछि राजा र कांग्रेसलाई मनाउने भारतीय योजना थियो।

सोही योजनाअनुसार घटनाक्रम अघि बढ्यो। राजाका रूपमा त्रिभुवनको निरन्तरता, निर्वाचन नभएसम्म अल्पकालीन रूपमा राणा कांग्रेस संयुक्त संयुक्त मन्त्रिमण्डल जसको नेतृत्व मोहनशमशेरले गर्ने सहमति भयो। त्यसपछि राजा त्रिभुवन नेपाल फर्किन सहमत भए। नेपाली कांग्रेसले पनि सशस्त्र आन्दोलन फिर्ता लियो।

साथै राजा त्रिभुवनको नेपाल फिर्ती प्रक्रिया पनि अघि बढ्यो। भारत सरकारले १३ फेब्रुअरीमा विज्ञप्ति जारी गर्दै राजा त्रिभुवन १५ फेब्रुअरीमा नेपाल फर्किने जानकारी गरायो। ११ नोभेम्बरमा राजा त्रिभुवन दिल्लीमा उत्रँदा प्रधानमन्त्री नेहरू आफैँ उपस्थित भएर स्वागत गरेजस्तै बिदाइमा समेत आफैँ उपस्थित थिए।

हैदरबाद हाउसमा बसिरहेका राजा त्रिभुवन त्यहाँबाट १५ फेब्रुअरीमा बिहान १०ः४५ मा पालम हवाईअड्डा पुगेका थिए। राजा त्रिभुवनका साथदुई रानी, तीन छोरालगायत थिए।

हवाईअड्डामा राजा त्रिभुवनलाई भारतका प्रधानमन्त्री नेहरूले स्वागत गरे। नेहरूका साथमा राष्ट्रपति डा. राजेन्द्रप्रसाद, गृहमन्त्री राजागोपालाचारीलगायत थिए। भारतीय परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालले उपस्थित केन्द्रीय मन्त्रीमण्डलका अन्य सदस्यहरू, भारत सरकारका अन्य उच्च पदस्थ अधिकारीहरूसँग राजाको परिचय गराए।

दिल्लीस्थित अधिकांश विदेशी कूटनीतिक वृत्तका अधिकारीको समेत त्यहाँ उपस्थिति थियो। नेपालसँग कूटनीतिक सम्बन्ध रहेका र दिल्लीमा रहेर नेपालको समेत जिम्मेवारी हेर्ने गरी नियुक्त अमेरिकी र फ्रेन्च राजदूत तथा दिल्लीका लागि ब्रिटिस राजदूत बिदाइमा आएका थिए। भारतका लागि नेपाली राजदूत कमान्डिङ जनरल सिंहशमशेर जबरा राजालाई बिदाइ गर्न उपस्थित थिए।

सन् १९५१ को फेब्रुअरी १५ मा राजा त्रिभुवन दिल्लीबाट काठमाडौँ फर्कँदै गर्दा  बिदाइ गर्दै भारतका राष्ट्रपति डा. राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु लगायत भारत सरकारका मन्त्रीहरू।

विदेशी कूटनीतिक अधिकारीहरूसँग हात मिलाइसकेपछि त्यहीँ हवाईअड्डामा उपस्थित राष्ट्रपति डा. राजेन्द्रप्रसादले राजालाई बिदाइ गरे। केहीबेरको भलकुसारीपछि राजा त्रिभुवनलाई हवाईअड्डामा भारतीय सेनाले सलामी गर्‍यो। राजा हवाईजहाजभित्र बसेर ठिक ११ बजे दिल्लीबाट नेपालका लागि उडे।

दिल्लीबाट फर्किँदा राजा त्रिभुवनले सेतो टोपी, घिउरङको मयलपोस, चुरीदार सुरुवाल, त्यसबाहिर खैरो रङको कोट, गलबन्दी, अगाडि चुच्चोमा कालो र बाँकीमा सेतो रङको जुत्ता पहिरेका थिए। राजा र उनका तीन छोरा युवराज महेन्द्र र अधिराजकुमारहरू हिमालय र वसुन्धरा साथमै थिए। ती तीन भाइको पोसाक पनि दौरासुरुवालमा थियो। राजाको विमान उड्नुभन्दा केही समयअघि मात्रै उनीहरू सामान र परिवारका अन्य सदस्य अर्को विमानमा सवार भएर काठमाडौँतर्फ उडिसकेका थिए।

त्यतिबेला प्रकाशित समाचारअनुसार उक्त विमानमा त्यहाँको विदेश मन्त्रालयका जोइन्ट सेक्रेटरी एसएन हक्सरसमेत सवार भई काठमाडौँ आएका थिए। उनी त्यसै दिन बेलुकी सोही विमानमा दिल्ली फर्किएका थिए। (दी इन्डियन एक्स्प्रेस, १६ फेब्रुअरी १९५१)

राजा त्रिभुवन दिल्लीबाट आउने जानकारी भएपछि उनलाई स्वागत गर्न हजारौँ नागरिक गौचर हवाईअड्डा पुगेका थिए। नेपालमा छापिएको एक समाचारअनुसार त्यस दिन गौचर हवाईअड्डादेखि नारायणहिटी राजदरबारसम्म राजाको स्वागतका लागि लाखौँ मानिस जम्मा भएका थिए। (जागरण साप्ताहिक २०११–फागुन ११)

११ बजे दिल्लीबाट उडेको राजाको विमान ३ बजे काठमाडौँस्थित गौचर हवाईअड्डामा अवतरण भयो। १०६ दिनको दिल्ली बसाइपछि पहिले भन्दा बढी शक्तिशाली (राणामा निहित शक्ति राजामा सरेको थियो) भएर फर्किएका थिए। राजा फर्किँदा नेपालको सत्ताको केन्द्रमा दिल्लीले आफूलाई उभ्याउन सफल भएको थियो। त्यसबेलादेखि सुरु भएको दिल्लीको उपस्थिति आजसम्म कायमै छ।

गौचर हवाईअड्डादेखि ४ माइलको दूरीमा रहेको नारायणहिटी राजदरबारसम्म सडकमा ठाउँठाउँमा स्वागतद्वारदेखि जनता लामबद्ध भएर उभिएका थिए। नेपाली कांग्रेस, नेपाल प्रजा परिषद्, परोपकार संघका सदस्यलगायतका अन्य आमनेपाली स्वागतका लागि स्वतस्फूर्त रूपमा त्यहाँ पुगेका थिए। राजालाई स्वागत गर्नका लागि प्रधानमन्त्री मोहनशमशेर आफैँ हवाईअड्डा पुगेका थिए।

काठमाडौँमा राजा सवार विमान ओर्लनुभन्दा केही समयअघि नेपाली कांग्रेसका नेताहरूसमेत छुट्टै विमानबाट गौचर हवाईअड्डामा ओर्लिएका थिए। कांग्रेसका नेताहरूमा बीपी कोइराला, सुवर्णशमशेर, मातृकाप्रसाद कोइराला, महावीरशमशेरलगायत थिए। उपस्थित जनताले सबै नेताहरूको भव्य स्वागत गरेका थिए।

राजा ओर्लनासाथ ब्यान्ड बाजाले राजाको स्वागत गर्‍यो। उपस्थित भीड राजाको छेउमा ह्वात्तै अगाडि बढ्दा त्यहाँ राजालाई सम्हालिन गाह्रो भएको थियो। भीडको बीचबाट राजा त्रिभुवन त्यहाँ टाँगिएको पालमा छिरे। पालमा प्रधानमन्त्री मोहनशमशेर र भारतीय राजदूत सीपीएन सिंह थिए। भीड अनियन्त्रित हुने देखेपछि मेजर जनरल विजयशमशेरले परोपकार संघका प्रमुख दयावीर समक्ष भीड पन्छाउन अनुरोध गरे। दयावीरले भीड पन्छाए।

राजा त्रिभुवनको स्वागतका लागि काठमाडौँमा निर्माण गरिएको स्वागतद्वार।

पुण्यप्रभा, सुशीला लगायतका महिला, दयावीर र डा. देवव्रतदास समेत स्वागतका लागि उक्त पालमा पसे। पालभित्र राजा त्रिभुवनको देब्रेपट्टि प्रधानमन्त्री मोहनशमशेर बसेका थिए। डा. देवव्रतदास र दयावीरले राजालाई फूलमाला अर्पण गरे। त्यहाँ उपस्थित भारतीय राजदूत सीपीएन सिंहले फोटोग्राफरहरूलाई बोलाएर फोटो खिचाए। त्यसपछि बालकृष्ण शमशेरले राजाको पाउमा फूल अर्पण गरेका थिए। ‘राजा त्रिभुवन जिन्दाबाद’को नारा गुञ्जियो। गौचर हवाईअड्डादेखि राजदरबारसम्म मानिसहरू लाम लागेर विभिन्न बाजा बजाउँदै अघि बढिरहेका थिए। (जागरण साप्ताहिक २०११–फागुन ११)

त्रिभुवन नेपाल फर्किएको ४ दिनपछि १९ फेब्रुअरी अर्थात् ७ फागुनमा शाही घोषणा जारी गरे। नारायणहिटी राजदरबारबाट जारी सोही घोषणासँगै १०४ वर्षअघि तत्कालीन राजा सुरेन्द्रले जंगबहादुर राणालाई उनका सन्तान दरसन्तानले राज्य सञ्चालन गर्न पाउने अधिकार खारेज भयो। मन्त्रीमण्डलमा कांग्रेसका प्रतिनिधि सम्मिलित भएसँगै मुलुकको राज्यसत्तामा आमनागरिकको समेत प्रतिनिधित्व हुन गएको थियो।

तस्बिर स्रोत : इलुस्ट्रेटेड लन्डन न्युज पत्रिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =