लिग-२ : राेकिएन नेपाल, नामिबियामाथि लगातार दोस्रो जित

हिमाल प्रेस ६ फागुन २०७९ १७:१९
20
SHARES
लिग-२ : राेकिएन नेपाल, नामिबियामाथि लगातार दोस्रो जित

काठमाडौँ- नेपालले घरेलु मैदानमा जारी त्रिदेसीय शृंखलामा नामिबियालाई दोस्रो पटक पराजित गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको शृंखलामा नेपालले नामिबियालाई शनिबार तीन विकेटले हराएको हो। यसअघि मंगलबारको खेलमा नेपालले अफ्रिकी टिममाथि दुई विकेटको जित हासिल गरेको थियो।

मोन्टी देशाई मुख्यप्रशिक्षक बनेपछि नेपालले लगातार तेस्रो जित हासिल गरेको हो। भारतका देशाईका लागि यो शृंखला सुरुवाती जिम्मेवारी हो।

तीन ब्याट्सम्यानले अर्धशतक बनाएपछि नामिबियाले दिएको २७४ रनको विशाल लक्ष्य नेपालले १५ बल बाँकी रहँदा पूरा गरेको थियो। घरेलु टिमका लागि आशिफ शेखले सर्वाधिक ८१ रन बनाउँदा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पनि अर्धशतक प्रहार गरे।

यो जितपछि लिग–२ मा नेपालको २४ अंक भएको छ। २७ खेल खेलेको नेपाल छैटौँ स्थानमा यथावत छ। पराजित नामिबिया भने ३७ खेलबाट ३७ अंक जम्मा गरेको नामिबिया भने तेस्रो स्थानमै छ। यो शृंखलामा नामिबियाले एक खेल पनि जितेको छैन। नामिबिया आफ्नो दोस्रो खेलमा स्कटल्यान्डसँग १० विकेटले हारेको थियो।

टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रनको योगफल तयार पारेको थियो। नामिबियासँगको पहिलो खेलमा शतक बनाएका ओपनर कुशल भुर्तेल यसपटक एक रन बनाएर आउट भएपछि नेपाल अप्ठ्यारोमा पर्ने संकेत देखा परेको थियो।

तर अर्का ओपनर आशिफ आक्रामक ब्याटिङ गरेपछि नेपाली इनिङ्स मजबुत ढंगमा अघि बढेको थियो। उनी पछिल्ला दुई खेलमा कुल नौ रनमा सीमित बनेका थिए। शनिबार उच्च स्कोरर बन्न आशिफले ९८ बलमा दुई छक्का र आठ चौका प्रहार गरे।

त्यसगरी ज्ञानेन्द्रले ७४ बलमा ६५ रन बनाए। जसमा तीन छक्का र पाँच चौका सम्मिलित थिए। ज्ञानेन्द्रले यसअघि स्कटल्यान्डविरुद्ध चार र नामिबियासँगको पहिलो खेलमा २५ रन जोडेका थिए।

यो शृंखलामा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा कुशलले ४९ बलमा चार छक्का र ६ चौका गरेर ६२ रन बनाए। त्यसैगरी कप्तान रोहित पौडेलको नाममा ३९ रन रह्यो। रोहितका लागि पनि यो जारी शृंखलामा दोस्रो अर्धशतक हो। उनले उद्घाटन खेलमा ७२ रन बनाएका थिए।

उप्पलो क्रमका ब्याट्सम्यानको ब्याटिङ चल्दा मध्यक्रमका दीपेन्द्र सिंह ऐरी र सन्दीप जोरा भने सस्तैमा समेटिए। स्कटल्यान्डमाथिको जितमा ८५ रन बनाएका दीपेन्द्र नेपालको तेस्रो जितमा भने एक रनमा सीमित भए। नेपाललाई जितका लागि तीन रन आवश्यक रहेका बेला ब्याटिङ सुरु गरेका सन्दीप जोरा दुई रन बनाएर आउट भएका थिए।

४७ औँ ओभरको समाप्तिमा २७४÷७ को स्थितिमा रहेको नेपालको जित सोमपाल कामीको चौकासँगै पक्का बनेको थियो। सोमपालले ४८ औँ ओभरको तेस्रो बलमा चौका प्रहार गरेका थिए। संयोगवश यसअघिका दुई जित पनि सोमपालकै चौकाले निश्चित भएका थिए। सोमपालले नामिबियालाई हराउँदा ४८ औँ ओभरको चौथो बलमा र स्कटल्यान्डविरुद्ध ४७ औँ ओभरको अन्तिम बलमा चौका प्रहार गरेका थिए।

पहिलो खेलमा नेपाललाई सर्वाधिक २८६ रनको लक्ष्य दिएको नामिबियाले फेरि एकपल्ट बलियो ब्याटिङ गरेको थियो। नामिबियाका मध्यक्रमका ब्याट्सम्यान जेन ग्रिन र पिक्की या फ्रान्सले आक्रामक ब्याटिङ गरेपछि विशाल योगफल सम्भव भएको थियो । जेन ग्रिनले अविजित ७५ रन बनाउँदा फ्रान्स एक रनले अर्धशतक बनाउन चुके।

नामिबियालाई लोहान्द्रे लौउरेन्स र कार्ल बिरकेनस्टोकले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै सन्तोषजनक सुरुवात दिलाएका थिए। लौउरेन्स र बिरकेनस्टोकबीचको साझेदरी भत्काउन नेपालले १५ औँ ओभरसम्म पर्खनु परेको थियो। सन्दीप लामिछानेको बलमा आउट हुनुअघि लौउरेन्सले ५४ बलमा ४१ रन जोडिसकेका थिए।

अर्का ओपनर बिरकेनस्टोक पनि सन्दीपकै बलमा बाहिरिए। २० रन बनाएका बिरकेनस्टोकलाई सन्दीपले ज्ञानेन्द्र मल्लमार्फत १७ औँ ओभरमा क्याच आउट गराए। नेपालसँगको पहिलो खेलमा लौउरेन्स र बिरकेनस्टोक क्रमशः पाँच र १३ रनमा आउट भएका थिए।

पछिल्लाे खेलमा नेपाललाई २८६ रनको लक्ष्य दिँदा १२४ रनको साझेदारी निर्माण गरेका माइकल भान लिन्गन र कप्तान जेरहार्ड इरास्मस यसपालि २२ र १५ रनका आउट भए।

२९ औँ ओभरमा इरास्मस आउट हुँदा नामिबिया १०७ रन बनाएको स्थितिमा थियो। त्यसपछि ब्याटिङ थालेका ग्रिनले पाहुना टिमको इनिङ्स उकासेका थिए। उनले कुल ६३ बल सामना गर्दा एक छक्का र ११ चौका प्रहार गरे। ३८ औँ ओभरमा ब्याटिङ सुरु गरेका फ्रान्सले ३९ बलमा ४९ रन जोडे। जसमा तीन छक्का र चार चौका सम्मिलित थिए। मंगलबार नामिबिया नेपालसँग पराजित हुँदा ग्रिनले ३४ र फ्रान्सले २ रन बनाएका थिए।

नामिबियाका दुई ओपनरलाई आउट गरेका सन्दीपले कुल तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४६ रन खर्चिएका थिए। नेपालका कुनै पनि बलरले किफयाती बलिङ गर्न सकेनन्। अघिल्लो खेलमा नामिबियाको पाँच विकेट लिएका करण केसीले यो पटक एक विकेट लिएर ७४ रन खर्च गरे। नौ ओभरमा ५३ रन खर्च गरेका सोमपाल कामी भने विकेटविहीन बने।

प्रकाशित: ६ फागुन २०७९ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =