बागमती किनाराको भव्य तालमा डुंगा सयर

राजाराम बर्तौला ६ फागुन २०७९ १२:३९
126
SHARES
बागमती किनाराको भव्य तालमा डुंगा सयर

माघ २२ मा चन्द्रनिगाहपुर जाने अवसर जुर्‍यो। चन्द्रशमशेरबाट निगाह भएकाले यस ठाउँको नाम चन्द्रनिगाहपुर पर्न गएको हो। सिन्धुरेघारीमा राजा महेन्द्रले राजनीतिक पीडितलाई बसोबासका लागि जमिन दिएपछि यो ठाउँको नाम चलेको हो। नत्र गौर थियो दक्षिणमा।

यहाँबाट बागमती पाँच/सात किलोमिटर पूर्वमा भएको हुँदा बाढीको त्रास सधैँ रह्यो। पछि तटबन्ध बनेछ। सिँचाइका लागि नहर बनेछ। अहिले चन्द्रनिगाहपुरले आफ्नो रूपै फेरेछ। रङ फेरेछ। हुँदाहुँदा नामै पनि फेरेछ–‘चपुर’। हिजोआज धेरैले यसलाई चपुर भनेर चिन्दा रहेछन्।

केही वर्षअघिसम्म सडकको दुवै किनारमा होटल थिए। पंक्तिबद्ध ती होटलले रात्रिबसका यात्रुलाई खाना खुवाउने गर्थे। अहिले त यो व्यवस्थित सहर भएछ। बिहेको निम्तोमा चन्द्रनिगाहपुर पुगेको थिएँ। त्यहाँका विभिन्न ठाउँ घुम्न र हेर्न पाउने उत्सुकताले मनमा काउकुती भइरहेको थियो। मनमनै रमाइरहेको थिएँ।

दुलहालाई जग्गेमा राखेपछि जन्ती फुर्सदिला भए। वरपर घुमेर समय कटाउने निधो गरियो। सँगै जन्ती गएकाहरूले भरत ताल घुम्न जान सुझाए। भरत तालबारे छिपछिपे जानकारी त थियो तर देखेको थिइनँ। ताल देख्ने रहर उत्सुकतामा बदलियो। हामी पाँच/छ जना जन्ती गाडीमा भरत ताल हेर्न हुइँकियौँ।

चन्द्रनिगाहपुरबाट पाँचसात किलोमिटर पूर्वमा छ, बागमती नदी। सर्लाहीको मिर्चैया अर्थात् चपुरबाट जाँदा बागमती पुल कट्नेबित्तिकै आउँछ बजार। पूर्वपश्चिम राजमार्गबाट दुई/तीन किलोमिटर दक्षिण लागेपछि बागमतीकै किनारमा मानव निर्मित ‘बागमती फिसरी पन्ड’ छ।

स्थानीयले त्यसलाई नाम दिएका छन्, ‘भरत ताल’। बागमती नगरपालिकाले आफ्नो आम्दानी बढाउन माछा पाल्ने उद्देश्यले २०७६ सालमा यसको निर्माण गरेको हो। स्थानीयले मेयरको नामबाट तालको नामकरण गरिदिएका रहेछन्।

भरत ताल अहिले सात सय मिटर लामो छ। अर्को सात सय मिटर बन्दै छ। किनाराबाट गहिरिँदै गएर बीच भागमा सबैभन्दा गहिरो हुने गरी बनाइएको छ। १२१ बिघामा भएको यो ताल पछि २५० बिघामा फैलिनेछ।

तालमा पावर स्टिमर चल्छ। प्रति यात्रु तीन सय रुपैयाँ तिरेपछि दुई फन्का घुमाउँछ। वातावरण दर्शनीय र रमणीय छ। टिकटक बनाउने युवकयुवतीको लर्को देखिन्छ। तालवरिपरि बालुवाको चाङ छ। ताल खन्दा निस्केको माटो र बालुवा त्यहाँ थुपारिएको होला। नजिकैबाट हुलाकी मार्गको लामो पुल पनि बन्दै छ।

राजमार्गसँग जोडिने सहायक मार्गको स्तरोन्नति, हुलाकी मार्गको निर्माण र बालुवाका ढिस्कामा विविध प्रजातिका फूल र वनस्पतिका कारण यो ठाउँ पर्यटकका लागि मात्र नभएर चराका निम्ति पनि रमणीय बासस्थान बनेको छ।

साथीहरू डुंगा सयरको आनन्द लिन व्यग्र भए। मचाहिँ नजाने भएँ। रमाइलो वातावरणको आनन्द लिइरहँदा तालको हरियो पानीले विस्मित बनायो। बागद्वारको पानी पशुपति क्षेत्रबाट बग्दै आएको भनेर यसको पवित्रताको बखान गर्दै गर्दा त्यसको शुद्धतामा कसैले ध्यान दिएको देखिएन।

तालबाट हुन सक्ने सम्भावित व्यावसायिक लाभ हेरेर स्तरीय होटल निर्माण भइरहेछन् त्यहाँ। बागमतीको किनारैमा भएको र सम्भावित बाढीबाट जोगिन तटबन्धको निर्माण गर्नेतर्फ सोचिएको होला। तर कामको तारतम्य देखिएको छैन।

बागमती सिँचाइ आयोजनाले बनाएको बाँधबाट निकालिएको पानी सिँचाइकै लागि अपुग हुन सक्छ। वा आयोजनाले तालका लागि पानी नदिन सक्छ। यसको विकल्पमा सोचिएको नै होला।

बागमती नदीको बगरलाई उत्पादनशील बनाउने योजना बागमती नगरपालिकाका मेयर भरत थापाको थियो। त्यसैले उनकै नामबाट तालको नाम भरत राखिएको हो। घुम्दा रमाइलो लाग्यो। भरत ताल घुम्नै पर्ने ठाउँ रहेछ। तर यसको संरक्षणमा भने ध्यान दिन आवश्यक छ।

प्रकाशित: ६ फागुन २०७९ १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =