सबल सुरक्षाका लागि सेना, प्रहरी र सशस्त्र प्रहरीबीच सहकार्य हुनुपर्छ : राष्ट्रिय सुरक्षा विज्ञ डा. नरेश रिमाल [अन्तर्वार्ता]

चन्द्रशेखर अधिकारी ५ फागुन २०७९ १९:२८
222
SHARES
सबल सुरक्षाका लागि सेना, प्रहरी र सशस्त्र प्रहरीबीच सहकार्य हुनुपर्छ : राष्ट्रिय सुरक्षा विज्ञ डा. नरेश रिमाल [अन्तर्वार्ता]

डा. नरेश रिमाल राष्ट्रिय सुरक्षा, वातावरण र खाद्यविज्ञ हुन्। नेपालमा विद्यालय शिक्षा सकेर उच्चशिक्षा अमेरिकाबाट हासिल गरेका उनले अस्ट्रेलियन युनिभर्सिटीबाट सुरक्षा र दिगो विकासमा विद्यावारिधि उपाधि लिए। विभिन्न गैरसरकारी संस्थामा सुरक्षा, दिगो विकास, खाद्य सुरक्षा, वातावरणलगायत विषयमा परामर्शदाताका रूपमा पनि सक्रिय रिमाल पछिल्लो समय सशस्त्र प्रहरी बल नेपाल कमान्ड एन्ड स्टाफ कलेजमा अध्यापनरत छन्। आध्यात्मिक चिन्तनमा रुचि राख्ने रिमालसँग नेपालको पछिल्लो सुरक्षा अवस्थाबारे हिमाल प्रेसका चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :

अमेरिकामा लामो समय अध्ययन अनि अस्ट्रेलियाबाट विद्यावारिधि गरेर नेपाललाई नै कर्मभूमि रोज्नुको कारण के होला?

मुलुकको माया वा केही गर्छु भन्ने भावनात्मक उत्तेजनाले म नेपाल आएको होइन। विद्यालय शिक्षाबाहेक अन्य समय विदेशमै पढेँ। धेरै समय विदेशमा रहेपछि विदेशमोह कमजोर हुँदै गयो। आध्यात्मिक चिन्तनमा रमाउने भएकाले त्यहाँको भौतिक समाजसँग खासै घुलमिल हुन सकिनँ। मलाई सनातन धर्मप्रति गहिरो आस्था छ। त्यसैले आफूखुसी जीवन बिताउन नेपाल फर्किएको हुँ।

मुलुक बनाउने वा त्यहाँ सिकेको सीप यहाँ सिकाउने, सरकारी नियुक्ति खाने अनि मोज गर्ने भनेर नेपाल आएको होइन। नेपाल देवभूमि हो, म यहीँ चिन्तनमनन गर्छु, आफूले जानेको ज्ञान बाँड्छुु, अरूबाट पनि सिक्छु भनेर नेपाल आएको हुँ। मलाई दक्षिणबाट घाम र उत्तरको हिमाल हेरेर अध्ययन र अध्यापन र चिन्तन गर्ने सोख छ। यो मेरो सानैदेखिको रुचि पनि हो। स्वदेश फर्केपछि मैले विभिन्न क्षेत्रमा परामर्शदाता भएर काम गरेँ। अनुसन्धान र शोध निर्देशक÷पर्यवेक्षक भएर शिक्षा क्षेत्रमा काम गर्न पाउँदा म दंग छु। विद्यार्थीसँग केही अनुभव आदानप्रदान गर्दा म आफैँले केही सिकिरहेको हुन्छु। बहुजातीय, बहुअनुभव भएका सशस्त्र प्रहरी बलका कमान्ड र स्टाफ कलेजका विद्यार्थी पढाउन पाउँदा धेरैको सिक्ने अवसर पाएको छु।

लामो समयदेखि सशस्त्र प्रहरी बलका अधिकारीहरूलाई पढाइरहनुभएको छ। यहाँको सुरक्षाबारे केही भनिदिन मिल्छ कि?

सीमा सुरक्षा सशस्त्र प्रहरी बलकोे मुख्य जिम्मेवारी हो। नेपालका सन्दर्भमा भूमिका र जिम्मेवारी स्पष्ट हुँदै ‘गर्न हुने र गर्न नहुने काम’ सँगै विवेकपरक अधिकार पनि स्पष्टता भयो भने सुरक्षासँग सम्बन्धित सबै क्षेत्रमा सशस्त्र प्रहरी बल अब्बल छ। अत्यावश्यक सुरक्षाका विषयलाई सहज रूपमा सञ्चालन गर्न सशस्त्र प्रहरी बल सहज छ।

कूटनीतिक अध्ययन गरेका कारण सशस्त्र प्रहरी बलका माथिल्ला अधिकारीहरू आफूलाई सीमा व्यवस्थापन र सम्बन्ध राख्न सक्ने खालका छन्। जनस्तरको सम्बन्धलाई बलियो बनाउन उनीहरूको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। सशस्त्रको यो ज्ञान र क्षमतालाई संस्थागत गर्न आवश्यक छ। नेपालको सुरक्षा निकायले भारतसँग नेपालको सीमा सुरक्षा र चासोलाई स्पष्ट पार्न सक्छ। यो मैले सशस्त्र प्रहरी बलभित्र देखेको पछिल्लो सशक्तीकरण हो। यसलाई कसैले पनि कम आँक्न हुँदैन।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको काम कस्तो पाउनुभएको छ?

सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीले ‘इन्स्टिच्युसनल मेमोरी’ लाई ध्यान दिनुपर्छ। किनभने त्यहाँ हुने सामान्य विषयले पनि लामो समय प्रभाव पार्छ। सीमा क्षेत्र सधैँ संवेदनशील र जटिल हुन्छ। यसलाई सशस्त्र प्रहरी बलले सहजीकरण गरेको छ। सीमामा खटिएका सुरक्षाकर्मीले सुरक्षासँगै त्यस क्षेत्रका समुदायसँग पनि प्रभावकारी भूमिका निर्वाह गरिरहेका हुन्छन्। त्यस क्षेत्रको अध्ययन गर्दा म भन्न सक्छु- सीमामा सशस्त्र प्रहरी बललाई तोकेर राखिदिँदा धेरै समस्याको सहजीकरण हुनेछ। सानो प्रयासबाट ठूलो उपलब्धि हासिल गर्न सीमा सुरक्षाको महत्त्व हुन्छ। सुरक्षा अधिकारीहरू स्टाफ कलेजमा अध्ययन गरेर मात्र खटिएका हुन्छन्। त्यसैले उनीहरु झन् कूटनीति र सम्बन्धका विषयमा पारंगत हुन्छन्। जसले नेपालको सुरक्षामा एकरूपता पनि दिनेछ। सशस्त्र प्रहरीको यो क्षमतालाई उपयोग गर्न सकेमा सरकारले लिने निर्णय कार्यान्वयनमा सहज हुने देखिन्छ।

सशस्त्र प्रहरी बललाई संस्थागत गर्ने सरकारी नीति कस्तो छ?

नेपालको सुरक्षा निकायमा सशस्त्र प्रहरी बल सबैभन्दा कान्छो हो। त्यसैले पनि कुनै पनि गहन जिम्मेवारी दिँदा काम गर्न त सक्छ। तर कताकति अलमलमा पनि पर्न सक्ने भएकाले त्यसमा निकै संवेदनशील हुनुपर्छ।

सशस्त्र प्रहरीको प्रमुख भूमिका विपत् व्यवस्थापन हो। अहिले पनि त्यही काममा संलग्न छ। हामीले उनीहरूको ज्ञान र अध्ययनलाई उपयोग गर्न सक्नैपर्छ। उनीहरूलाई विकाससँग सम्बन्धित निकायसँग पनि जोड्न सक्नुपर्छ। त्यसतर्फ पनि सहकार्यका लागि पहल गर्नुपर्ने हुन्छ। प्रभावकारी कार्यान्वयनका लागि स्थानीय र राष्ट्रिय स्तरमा सहकार्य आवश्यक हुन्छ।

सशस्त्र प्रहरी बलकोे जिल्लामा रहेको कमान्डरले भारतीय समकक्षीसँग सीधा सम्पर्क गर्दा हुने प्रभावकारी कूटनीतिलाई हामीले सामान्य रूपमा लिनु हुँदैन। ‘ग्रास रुट’ कूटनीति यसरी नै सबल हुने हो।

मुलुकले अझै सुरक्षालगायतका क्षेत्रमा किन स्पष्ट नीति लिन नसकेको होला?

सीमा सुरक्षा होस् या अन्य निकायमा कहीँ पनि हामी स्पष्ट हुन सकेका छैनौँ। दुई दिनअघि मात्र भारतीय परराष्ट्र सचिवको भ्रमण नियालाैँ र केही महिनाअघि हाम्रा सचिवले भारतमा गरेको भ्रमण पनि हेरौँँ। अन्य केही भन्नै पर्दैन। हाम्रो मुलुक पुरानो छ। तर संयन्त्र स्पष्ट नहुँदा अझै व्यवस्थित मुलुकका रूपमा दरिएका छैनाँै। त्यसतर्फ काम पनि गरेका छैनौँ। थिंक ट्यांकमा हामी लगानी नै गर्दैनाँै। अध्ययन गर्दैनौँ। अध्ययन गरेका युवा धेरै छन्। अन्य मुलुकका लागि यहाँ बसेर काम गर्ने युवा कति छन्। तर ती प्राज्ञलाई यहाँ उपयोग गर्न पाएका छैनौँ। हामीले सीमालाई स्पष्ट पार्न सकेका छैनौँ।

यो नेपालको सुरक्षा संयन्त्रको भूमिकाले मात्रै हुँदैन। विदेशी आउँदा सबै मिलेझैँ कुरा गर्छौँ तर पछि जस्ताको तस्तै हुन्छ। यस्ता विषयमा हामी स्पष्ट हुन आवश्यक छ। के काम गर्ने हो स्पष्ट पार्न सक्नुपर्छ। कुनै पनि मुलुकको मुख्य सम्पत्ति भनेको त्यो मुलुकले पाउने सूचना स्रोत हो। सीमामा हाम्रो सशस्त्र जवान सतर्क र सुसज्जित हुन जरुरी छ। यसका लागि बन्दोबस्तीका सामानमा आधुनिकीकरण, आवश्यकताअनुसार सशस्त्र प्रहरी बलको संख्या र बजेट वृद्धि गर्नुपर्छ। निरन्तर अनुसन्धान र राजनीतिक इच्छाशक्ति मुख्य मापदण्ड हुन्। तर यस विषयमा सरकारको सक्रियता देखिन्न। सशस्त्र प्रहरी बलले विपत् व्यवस्थापन, रोहिंगा शरणार्थी, खाद्य सुरक्षाजस्ता बहुविषयमा अनुसन्धान गरेको छ। तर सशस्त्रभन्दा जनमानसमा सीमालाई मात्र भन्ने बुझिन्छ।

सबल कूटनीतिका लागि सुरक्षाको पाटो किन महत्त्वपूर्ण छ?

सबल कूटनीतिका लागि सुरक्षाको पाटो आफैँमा निकै महत्त्वपूर्ण छ। सुरक्षा निकायको सूचना विना कूटनीति सञ्चालन हुन सक्दैन। सहरमा हुने दंगासमेत ‘इन्टेलिजेन्स’बाट व्यवस्थापन गर्न सकिन्छ। हामीले ‘साइबर क्राइम’ का विषयमा ध्यान दिएका छैनौँ। बंगलादेशमा भएको साइबर क्राइम हामीले भुल्न हुँदैन। उत्तर कोरियालीले त्यहाँ गरेको समस्या के थियो विगतमा फर्केर हेर्न जरुरी छ। सीमा पनि ग्रास रुट कूटनीति हुन्छ। त्यसलाई सक्रिय पार्ने काम सीमामा रहने सुरक्षा निकायको हुन्छ। उदाहरणका लागि न्यूनतम पनि सीमामा बस्ने सुरक्षाकर्मीसँग लाइफ भेस्ट हुनैपर्छ। सशस्त्र बलका कर्मचारीहरू अत्यन्त प्रतिकूल परिस्थितिमा पनि जिम्मेवारीमा खटिएका हुन्छन्। मातहतका निकायको स्तर वृद्धि गर्ने कानुन निर्माणमा सांसदहरूले पनि ध्यान दिनुपर्छ।

अनि सुरक्षामा भौतिक साधनसँगै प्रविधिको प्रयोगको कत्तिको आवश्यक हुन्छ?

अधिक आवश्यक त प्रविधिको प्रयोग नै हो। प्रविधिमा सक्षम हुनेबित्तिकै धेरै काम हुनेछ। उदाहरणका लागि हतियारबाहेक अन्य प्रविधि र उपकरणहरू। यसमा ड्रोनको प्रयोग र आर्टिफिसिअल इन्टेलिजेन्स उदाहरण हुन्। जंगल आसपास रहने हुनाले त्यहाँ त्यही प्रकारको सुरक्षित हुने तवरले व्यवस्थापन गर्नुपरेको हुन्छ। भारतसँगको १८ सय बढी किलोमिटर खुला सीमा रहेकाले हरेक एकएक किलोमिटरमा सानासाना चौकी राखेर सेना र प्रहरी वारपार गर्न सक्ने गरी व्यवस्थापन गर्न सक्नुपर्छ। त्यसलाई कतिपय स्थानमा सीसीटीभीबाट निगरानी गर्ने व्यवस्था पनि गर्न आवश्यक छ। सहज आउजाउ नबिगार्ने गरी व्वयवस्थित गर्न सकिन्छ। यसो गर्न भारत पनि तयार हुन्छ। तर हामीले भारतीय नेता रिसाउलान् भन्ने कमजोर मानसिकताले गर्दा त्यो स्पष्ट हुन पाएको छैन। अनि सुरक्षा निकायले राजनीति राम्ररी बुझेको हुन्छ उसलाई पूर्ण राजनीतिमा धकेल्न हुँदैन।

सशस्त्र प्रहरीलाई नेताका घरमा सहयोगी राख्ने प्रवृत्तिबारे के भन्नुहुन्छ?

यो सबै अनावश्यक काम हो। नेतालाई उनीहरू घरछेउकै सुरक्षाकर्मी अर्थात् कम्युनिटी प्रहरीले सुरक्षा दिने हो। आवश्यक परे एक व्यक्तिगत सुरक्षा गार्ड दिनुपर्छ। यहाँ त सान देखाउन आफ्नो गाडीको पछाडि केही सशस्त्र प्रहरी दिइने गरिन्छ। त्यो आवश्यक छैन। ‘राष्ट्रिय सुरक्षा’ सबै मुलुकको विकाससँग जोडिने विषय हो। सशस्त्र प्रहरीले ‘साइबर सेक्युरिटी’देखि विश्वशान्तिमा जसरी गएर काम गरिरहेका छन् त्यस्तै काम यहाँको समुदायमा पनि गर्नुपर्ने देखिन्छ। तसर्थ सुरक्षा बलको सकारात्मक र विकास उन्मुख छवि स्थापना अति महत्त्वपूर्ण छ।

तपाईँका पिता राजदूत हुनुहुन्थ्यो। तपाईँले चाहिँ कूटनीतिक मामिलालाई कसरी मूल्यांकन गरिहरनुभएको छ?

नेपालको कूटनीति विगतमा अब्बल थियो। मेरो बुवाले त आफू बसेको दूतावासबाट धेरै काम गर्नुभयो तर त्यसको प्रभाव खासै नपर्ने देखेपछि यो दूतावास अन्यत्र सारे हुन्छ त्यहाँ आवश्यक छैन भन्नुभएको म स्मरण गर्छु। अहिले कतिपय दूतावास अनावश्यक आर्थिक बोझमा छन्। परराष्ट्र कर्मचारीले जलवायु परिवर्तनको जटिलतामा विश्वलाई बहुमुखी र बहुविषय लेन्समा हेर्न आवश्यक छ। यस्तो ज्ञानको अभावमा हाम्रो राष्ट्रिय अनुभवमा आधारित कूटनीति प्रभावकारी हुन सक्दैन।

‘करिअर’ भन्नेहरूले कुनै प्रशिक्षण लिएको देखिँदैन। बाहिरबाट पनि केही अपवादबाहेक कार्यकर्ता राजदूत पठाइने गरिएको छ। त्यो देख्दा दिक्क लाग्छ। कतिपय बहसमा परराष्ट्रका पछिल्लो पुस्ताले गरेको प्रश्न सुन्दा आनन्द पनि हुन्छ। तर अहिले राजदूत भएका र हुन प्रयासरत केहीको अवस्था देखेर माया लाग्छ। कोटा प्रणालीले भटाभट माथि पुगेर कूटनीतिक म्याचुरिटी नभएको अवस्था पनि छ। कूटनीतिमा लवाइ, खुवाइ, बोलाइ सबै महत्त्वपूर्ण हुन्छन्। तर त्यसमा खासै ध्यान दिएका हुँदैनन्। सबै कमाउने बचाउने भन्नेमा हुन्छन्। मुलुकका लागि अर्को मुलुकका व्यक्तिलाई एक कप कफी खुवाएको पनि पाइँदैन। तर तिनै राजदूतहरूले घरभाडाबाटै आम्दानी गरेको देख्दा अचम्मित हुन्छु।

केहीले त राम्रो पनि गरिरहेका होला नि?

अहिले मन्त्रीले सबै मुलुकमा रहेको दूतावासमा नेपाली पस्दा घर जस्तो अनुभूति भएको कुरा सुन्न चासो राख्नुभएको छ। त्यो छिट्टै हामी बाहिर जाँदा देखाउने कार्यले स्पष्ट हुन्छ। हुनुपर्ने त मन्त्रीले भनेजस्तै हो। तर अधिकांशले त्यसलाई कमाउने अड्डा बनाएका छन्। त्यसलाई मुलुकको ‘फेस भ्यालु’ का रूपमा लिएका छैनन्। हामीकहाँ दिग्गज कूटनीतिज्ञ पनि छन् तर के गर्ने काण्डमा परेका छन् कतिपयहरू। यस्ता विषयलाई ध्यान दिएर अध्ययन गर्न आवश्यक छ।

वातावरणीय कूटनीतिमा हामी कहाँ छौँ?

त्यसमा त हामी शून्यमा छाैँ। हामीलाई देखाएर अन्यले अनेक थोक गरिसकेका छन्। तर हामी त ‘इभी गाडी’ मा समेत कर बढाउने गर्छौँ। व्यापारी घरानाको स्वार्थ नियाल्छौँ। मुलुक बनाउने भन्दा आफूलाई सहयोग गर्ने व्यापारी पोस्ने र मुलुकलाई जहाँको त्यहीँ राख्ने प्रथाको बोलवाला छ। यसलाई चिर्न आवश्यक छ। नयाँ आउनेको ढाँचा हेर्दा त्यस्तो देखिँदैन। हिमाल नांगै भइसकेको छ। गर्मी बढेको छ। पर्यावरणमा प्रदूषण बढेको छ। तर हामी त्यसतर्फ ध्यान दिँदैनाैँ।

विश्वले लिएको अडान अध्ययन गर्दैनौँ। पढेको झैँ देखाउन खोज्छौँ तर पढ्दैनाैँ। यो समस्या हाम्रा कूटनीतिज्ञमा पनि छ। सामान्यभन्दा सामान्य विषयमा सोध्ने समेत गरिँदैन। विश्वले जलवायु परिवर्तनको विषयलाई कसरी लिएको छ स्मरण गरेर नेपाल जस्तो मुलुकले त्यसमा ध्यान दिन आवश्यक छ। विश्वमा पाँच देशमा मात्र दूतावास खोल्नेले हाम्रोले भन्दा राम्रो र प्रभावकारी कूटनीति आवलम्बन गरेका छन्। हामी भने अझै अलमलमा छौँ ।

प्रकाशित: ५ फागुन २०७९ १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =