च्याम्पियन्स लिग : दबाब पन्छाउन स्टार खेलाडीको साथ खोज्दै पोर्टर

हिमाल प्रेस ३ फागुन २०७९ १९:२९
14
SHARES
च्याम्पियन्स लिग : दबाब पन्छाउन स्टार खेलाडीको साथ खोज्दै पोर्टर

काठमाडौँ- रोमन अब्रामोभिचको बर्हिगमनपछि चेल्सीको स्वामित्व लिएको समूहले खेलाडी बजारमा मन खोलेर खर्च गरेको छ। अमेरिकी व्यापारी टोड ब्होली र उनका साथीहरूले चेल्सीलाई ५० करोड पाउन्डभन्दा बढी खर्च गर्न दिएका छन्। यत्तिको खर्च गरेपछि कुनै पनि क्लबका लागि उपाधि जित अनिवार्य सर्त हो।

तर चल्सी हाल इंग्लिस प्रिमियर लिगको १० औँ स्थानमा छ। उपाधिबिना नै सिजनको अन्त्य गर्नुपर्ने चेल्सीको बाध्यता च्याम्पियन्स लिगले टार्ने सम्भावना भने सकिएको छैन।

चेल्सीले नयाँ सिजनको च्याम्पियन्स लिगको नकआउट मंगलबार रातिबाट सुरु गर्दैछ। प्रिक्वार्टरफाइनल पहिलो लेगका लागि चेल्सी जर्मनी ओर्लिएको छ। जहाँ उसलाई बोरुसिया डर्टमन्डले स्वागत गर्दैछ। बुन्डेसलिगामा तेस्रो स्थानमा रहेको डर्टमन्डसँग हारे चेल्सी उपाधिविहीन बन्ने बाटोतर्फ उन्मुख हुने खतरा उत्पन्न हुनेछ। किनभने चेल्सीले एएफए कप र लिग कपबाट यसअघि नै बिदा लिइसकेको छ।

प्रिमियर लिगमा चेल्सीको लय जेजस्तो भए पनि युरोपियन क्लब फुटबलमा भने यो इंग्लिस क्लबको इज्जत गर्विलो भएकोमा शंका छैन। सन् २०२१ मा च्यामिपयन्स लिग जितेकोे चेल्सी युरोपा लिग विजेता पनि हो। नयाँ प्रशिक्षक र महँगा स्टार खेलाडीको बलमा चेल्सी तेस्रो पटक च्याम्पियन्स लिग विजेता बन्न चाहन्छ। अर्को सिजन च्याम्पियन्स लिग खेल्नलाई पनि चेल्सी यसपालि विजेता बन्न अनिवार्य छ।

जनवरीको खेलाडी बजार सकिएसँगै चेल्सीले १२ खेल खेलेको छ। तीमध्ये जम्मा दुई खेलमा मात्र चेल्सीले जित हासिल गरेको छ। चेल्सीले किन यति खराब प्रदर्शन गरिरहेको हो? यसका केही कारण छन्। मुख्य खेलाडी लगातार घाइते भइरहनु, पहिलेबाटै ठूलो रहेको टिममा नयाँ खेलाडीलाई अभ्यास्त गराउन कठिनाई हुनु आदि।

ब्राइटन जस्तो तुलनात्मक रुपमा सानो क्लबबाट चेल्सी सरेका प्रशिक्षक ग्राहकम पोर्टरले च्याम्पियन्स लिगलाई लिएर कठिन निर्णय लिनु परेको छ। जस्तै, खेलाडी छनोट। च्याम्पियन्स लिगले मध्य सिजनमा जम्मा तीन खेलाडी मात्र हेरफेर गर्ने सुविधा दिने भएकाले पोर्टरलाई अप्ठ्यारो पर्‍यो। नयाँ खेलाडीमध्ये क–कसलाई टिममा थप्ने भन्ने निर्णय लिन उनलाई सकस परेकै हो। अन्ततः पोर्टरले जाओ फिलिक्स, इन्जो फर्नान्डेज र मिखाइलो मुड्रिक छाने।

यी तीन नयाँ खेलाडीको आगमनले चेल्सी पक्कै पनि मजबुत बनेको छ। फिलिक्स र मुड्रिकले चल्सीको आक्रामकता बढाउने र फर्नान्डेजको उपस्थितिले मिडफिल्ड झन् सिर्जनात्मक बन्ने अपेक्षा पोर्टरले राखेका छन्।

तीन खेलाडीबीच एक मुख्य समनता पनि छ। त्यो हो, उनीहरुका लागि तिरिएको महँगो स्थान्तरण रकम। फर्नान्डेजका लागि चेल्सीले बेनफिकालाई १२ करोड १० लाख युरो तिरेको थियो। युक्रेनी क्लब शाख्तार डोनेस्कले मुड्रिकका लागि सात करोड युरो लियो। भविष्यमा ‘बोनस’ समेत जोड्दा विंगर मुड्रिकको स्थान्तरण सम्झौताले १० करोड युरो छुने अनुमान छ।

उता पोर्चुगलका फिलिक्सका लागि एट्लेटिको म्याड्रिडले बेनफिकालाई साढे तीन वर्षअघि १२ करोड ६० लाख युरो बुझाएको थियो। एट्लेटिकोबाट गत महिना चेल्सीसँग अनुबन्धित भएका फिलिक्सले प्रिमियर लिगको डेब्यु खेलमै रातो कार्ड खाएका थिए। तीन खेल गुमाएपछि पुनरामगन गरेका उनले वेस्टह्याम युनाइटेडविरुद्ध सुन्दर गोल गरे।

सुरुवात कठिन भए पनि फिलिक्सको चेल्सी बसाइ सफलत दहरिने पोर्टरको विश्वास छ। पोर्टर र अन्य केही महत्त्वपूर्ण खेलाडी टिममा फर्किएकाले चेल्सीले अबका खेलमा व्यवस्थित प्रदर्शन गर्नेमा पनि पोर्टर ढुक्क छन्।

टिमको क्षमतासँग विश्वस्त रहेका पोर्टर अर्को एक तथ्यसँग पनि जानकार छन्। त्यो हो, चेल्सीका अधैर्य समर्थक। चेल्सीका समर्थकलाई सफलताको लत लागेको छ। अब्रामोभिच युगमा लगातार उपाधि जित्ने र उपाधि जिताउन नसक्ने प्रशिक्षकलाई तुरुन्तै बर्खास्त गर्ने बानीका कारण चेल्सी समर्थकले पोर्टरमाथि कहिलेसम्म धैर्य राख्छन् भन्ने प्रश्न उब्जिएको छ।

अब्रामोभिच १९ वर्ष चेल्सीका मालिक रहे। यो बीचमा चेल्सी दुई पटक च्याम्पियन्स लिग विजेता बन्यो। त्यो पनि मध्य सिजनमा प्रशिक्षक परिवर्तन गरेर। मध्य सिजनमा चेल्सीको प्रशिक्षक बनेका थोमस टुकल च्याम्पियन्स लिग जित्दा पनि बर्खास्तीमा परे। यो सिजनका ६ लिग खेलपछि टुकललाई पोर्टरले प्रतिस्थापन गरेका हुन्।

चेल्सीमा पोर्टरको सुरुवात गज्जबको थियो। सुरुका नौ खेलमा चेल्सीलाई अपराजित राखेका पोर्टरले त्यसपछिका खेलमा उही उत्साह जगाइराख्न सकेनन्। ‘प्रशिक्षकको हकमा दीर्घकालीन शब्दको महत्त्व हुँदैन। हो क्लबले दीर्घकालीन योजना बनाउँछ। तर तत्काल नतिजा दिन नसके प्रशिक्षकका जागिर स्वतः धरापमा पर्छ,’ पोर्टरले भनेका छन्।

पोर्टरले डर्टमन्डलाई कमजोर नकआकेको प्रस्ट पारेका छन्। ‘हामी डर्टमन्डलाई सम्मान गछौँ। र त्यहाँ आफ्नो पक्षमा नतिजा ल्याउन मेहनत गरेर खेल्नेछौँ,’ पोर्टरको भनाइ छ।

पोर्टरले भनेझैँ फुटबलका अल्पकलिन योजनाको महत्त्व अहम हुन्छ। यसकारण चेल्सीले तत्काल सकारात्मक नतिजा निकाल्न नथाले, पोर्टरको जागिर धरापमा पर्नेछ। चेल्सीमा लगानी गरेका अमेरिकी व्यापारीहरू प्रतिफलका लागि अर्को प्रशिक्षक चाहिने निस्कर्षमा पुग्नुअघि नै चेल्सी जित लयमा फर्कन आवश्यक छ।

प्रकाशित: ३ फागुन २०७९ १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =