बालबालिकालाई नि:शुल्क कृत्रिम आँखा उपलब्ध गराउने सम्झौता

हिमाल प्रेस ३ फागुन २०७९ १९:०३
8
SHARES
बालबालिकालाई नि:शुल्क कृत्रिम आँखा उपलब्ध गराउने सम्झौता

काठमाडौँ– अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ओपन आइज नेपाल र तिलगंगा आँखा प्रतिष्ठानबीच कस्टम मेड कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा ओपन आइज नेपालले कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार गर्ने अस्पताललाई ११ लाख रूपैयाँ सहयोगस्वरूप उपलब्ध गराएको हो।

जीवनान्त डायग्नोस्टिक सेन्टरसँग रेटिनोब्लास्टोमा बिरामीको निदान प्रक्रियाको रूपमा इमेजिङ (सीटीस्क्यान र एमआरआई) का लागि सहयोगस्वरूप ३ लाख उपलब्ध गराएको छ।

ओपन आइज नेपालले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, सिड्नी अष्ट्रेलियासँगको सहकार्यमा आगामी ४ वर्षसम्म रेटिनोब्लास्टोमाबाट पीडित बालबालिकाको निःशुल्क उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ।

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस हरेक वर्ष फेब्रअरी १५ मा क्यान्सर पीडित बालबालिका र किशोर किशोरीको सचेतना र समर्थन गर्न मनाइन्छ। रेटिनोब्लास्टोमा बालबालिकाको एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो। यो रोग पाँच वर्षमुनिका बालबालिकामा धेरै देखिन्छ।

१५ हजार नवजात शिशुमध्ये १ जनामा रेटिनोब्लास्टोमा समस्या देखिने चिकित्सकहरूको भनाइ छ।

यस रोगको समयमा उपचार नभए आँखाको पूर्ण भागमा फैलिएर अन्धोपन निम्त्याउन सक्दछ। यो रोग शरीरको अन्य भागमा पनि फैलिएर मृत्युको जोखिमसमेत हुने चिकित्सक बताउँछन्।

ओक्युप्लास्टी र ओकुलर ओन्कोलोजी विभागका प्रमुख डा. पूर्णिमा राजकर्णिकार स्थापितले विकसित देशको तुलनामा यो रोगबाट हुने मृत्युदर नेपालमा धेरै भएको बताइन्।

उनका अनुसार नेपालमा हरेक वर्ष ५० जनामा रेटिनोब्लास्टोमा हुनेगर्छ। यस रोगका ९९ प्रतिशत बिरामीले समयमा उपचार नपाए मृत्युको जोखिम हुन्छ। समयमा पहिचान नहुने समस्याका कारण नेपालमा यस रोगका बिरामीको मृत्युदर धेरै छ।

‘नेपाललगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर पाँच प्रतिशतभन्दा कम पाइएको छ। समयमा उपचार गरे रोग निको पार्न सकिन्छ तर यसका लागि सबै उपचार एउटै अस्पतालबाट सम्भव भइरहेको छैन,’ उनले भनिन्।

उपचारका लागि केमोथेरापी, थरमोथेरापी, क्रायोथेरापी, रेडियोथेरापी र शल्यक्रिया आवश्यक हुन्छ। तर एउटै अस्पतालबाट यी सबै उपचार पाउन सम्भव नहुँदा बिरामीलाई सास्ती हुने गरेको उनको भनाइ छ।

रेटिनोब्लास्टोका मुख्य लक्षण आँखाको नानीको कालो भागमा सेतो टीका, असमान्य रातो देखिनु, डेढोपन, आँखा फुलिने, सुन्‍निने, आकार ठूलो हुँदै जाने र बाहिर आउने हुन्।

वंशाणुगत कारण पनि यो रोग बालबालिकामा आउन सक्छ। ओपन आइज नेपालले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई रेटिनोब्लास्टोमाका लागि उपचार सहयोग पुर्‍याउँदै आएको छ।

यस संस्थाले यसअघि १३ जना बिरामीलाई निःशुल्क उपचार र १४ जना बिरामीलाई कृतिम आँखा उपलब्ध गराइएको संस्थाले जनाएको छ। -राससको सहयोगमा

प्रकाशित: ३ फागुन २०७९ १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =