प्रचण्डलाई किन बोझ बनिरहेछ ‘माओवाद’?

हिमाल प्रेस २ फागुन २०७९ १०:११
86
SHARES
प्रचण्डलाई किन बोझ बनिरहेछ ‘माओवाद’?

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि कार्यकर्तासम्मका लागि बोझिलो बनिरहेको ‘माओवादी’ अब औपचारिक विसर्जनको बाटोतर्फ लागेको छ।

माओवादी स्थायी कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्ने प्रस्ताव पारित गरेपछि नेपाली कम्युनिस्ट आन्दोलनबाट ‘माओवाद’ अलग हुने लगभग निश्चित भएको हो।

नाम र चुनाव चिह्न परिवर्तन गर्ने प्रस्ताव पार्टी केन्द्रीय समितिबाट पारित भएमा दाहाल नेतृत्वको ‘माओवादी पार्टी’ इतिहासमा सीमित हुनेछ।

माओवादीमा पार्टीको नाम र चुनाव चिह्न फेर्ने विषय धेरै पहिलादेखि बहसमा आए पनि अब मूर्त रूप दिन लागिएको नेताहरू बताउँछन्। यद्यपि नाम र चुनाव चिह्न परिवर्तन भए पनि नेतृत्व भने पुरानै रहनेछ।

त्यसैले नाम परिवर्तन गर्ने प्रस्तावलाई संसदीय राजनीतिको जोडघटाउमा सक्रिय माओवादी अध्यक्ष दाहाल आफैँ शक्तिका रूपमा रहिरहने दाउका रूपमा लिइएको छ। माओवादी नेताहरू भने जनमनोविज्ञान, भूराजनीतिक व्यवस्था एवम् प्रतिस्पर्धालाई ख्याल गरेर नाम परिवर्तन गर्न लागिएको बताउँछन्।

सशस्त्र विद्रोहबाट प्राप्त उपलब्धि संस्थागत भइसकेकाले अब नयाँ कार्यदिशाबाट अघि बढ्न लागिएको दाबी उनीहरूको छ। यसका लागि विगतमा माओवादीमा रहेका तर अहिले अलगअलग पार्टी चलाइरहेका नेतालाई एउटै दलमा समावेश गर्ने माओवादी तयारी छ।

विश्व भूराजनीतिक व्यवस्था वामपन्थी दलका लागि उपयुक्त नरहेकै बुझेर माओवादीले नाम परिवर्तन गर्न खोजेको जानकारहरू बताउँछन्। उनीहरूको बुझाइमा माओवादी अध्यक्ष दाहालमा सत्ता र शक्तिमा आफैँ रहिरहने प्रवृत्तिका कारण पनि पार्टीमा माओवादी नाम राखिरहनु औचित्य छैन।

अध्यक्ष दाहालले आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया अघि बढिसकेको बताए। उनले सोमबार कञ्चनपुरमा आयोजित कार्यक्रममा भने, ‘मैले धेरै समूहसँग छलफल गरेको छु। मलाई विश्वास छ छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ। त्यसले माओवादी नेताकार्यकर्ता मात्र नभई आमजनतालाई पनि एकपटक उत्साहित गर्नेछ।’

कम्युनिस्ट र समाजवादी आन्दोलनका शक्तिहरूसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको उनले जानकारी दिए।

माओवादी केन्द्रको गत माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले पार्टीको नाम र चुनाव चिह्न फेर्न प्रस्ताव गरेका थिए।

बैठकमा अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमा उल्लेख छ, ‘संरचनागत विधि, पद्धति नाम र चिह्नलगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भूराजनीतिक व्यवस्था एवम् प्रतिस्पर्धालाई समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिस्ट पार्टी निर्माणमा लाग्नुपर्छ।’

विश्व भूराजनीतिक व्यवस्था वामपन्थी दलका लागि उपयुक्त नरहेकै बुझेर माओवादीले नाम परिवर्तन गर्न खोजेको जानकारहरू बताउँछन्। उनीहरूको बुझाइमा माओवादी अध्यक्ष दाहालमा सत्ता र शक्तिमा आफैँ रहिरहने प्रवृत्तिका कारण पनि पार्टीमा माओवादी नाम राखिरहनु औचित्य छैन।

माओवादी पार्टीबाटै ‘जनयुद्ध’को नेतृत्व गरेको, शान्ति प्रक्रियामा आएको, तीनतीनपटक प्रधानमन्त्री भइसकेकाले अब दाहालका लागि ‘माओवादी’ बोझिलो बनेको छ। २०६४ सालमा पहिलो शक्ति बनेको माओवादी २०७९ मा आइपुग्दा तेस्रो शक्तिमा खुम्चिनुले पनि यसलाई पुष्टि गर्छ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले नाम र चुनाव चिह्न फेर्ने प्रस्ताव केन्द्रीय कमिटीले पास गरेपछि लागू हुने बताए।

उनले हिमाल प्रेससँग भने, ‘माओवादी केन्द्रको नाम र चुनाव चिह्न परिवर्तन गर्ने अध्यक्षज्यूको प्रस्ताव स्थायी कमिटीले पारित गरेको छ। केन्द्रीय कमिटीले पनि पास गरेपछि नाम के राख्ने भन्नेमा छलफल हुनेछ।’

विगतमा साम्यवादी व्यवस्था अवलम्बन गर्दै आएका धेरै देशमा समाजवादी व्यवस्था लागू भइसकेको छ। ती देशमा शासन व्यवस्थामा समाजवादी धारणा लिएर अघि बढेका छन्।

‘दाहालले नाम परिवर्तन गरे पनि नेतृत्वमा आफैँ रहनेछन्। यसले कार्यकर्ता र जनतालाई केही फाइदा हुँदैन। लाभ लिने त अध्यक्ष दाहाल र उनका आसेपासे हुन्।’

राजनीतिशास्त्रका प्राध्यापक सुरेन्द्र चन्द भन्छन्, ‘वामपन्थी दलका लागि अबको विश्व व्यवस्था त्यति अनुकूल छैन। त्यसैले माओवादीले नाम परिवर्तन गर्न खोजेको हो।’ संसार लोकतान्त्रिक मूल्य र लहरमा अघि बढिरहेकाले पनि कम्युनिस्ट पार्टीहरू परिवर्तन हुनुपर्ने बाध्यतामा रहेको चन्द बताउँछन्।

मान्छे उही लुगा परिवर्तन

माओवादी दल गठन भएदेखि अहिलेसम्म अध्यक्षमा दाहाल नै छन्। २०५१ नेकपा एकता केन्द्र विभाजन, दाहालको नेतृत्वमा नेकपा माओवादी गठन भएको थियो। त्यसपछि माओवादी सशस्त्र विद्रोहमा संलग्न भयो। शान्तिप्रक्रियामा आएपछि २०६५ मा एकता केन्द्र र माओवादीबीच एकता भई एकीकृत नेकपा माओवादी गठन भयो।

२०६९ मा उक्त पार्टीबाट अलग भई मोहन वैद्य ‘किरण’ ले नेकपा माओवादी गठन गरे। फेरि २०७० नेत्रविक्रम चन्द नेतृत्वमा नेकपा गठन भयो।

नयाँ संविधान जारी भएपछि २०७२ मा डा. बाबुराम भट्टराई माओवादीबाट अलग भएका थिए। दाहाल र भट्टराई सशस्त्र द्वन्द्वकालका सहयात्री हुन्।

२०७३ मा नेकपा माओवादी केन्द्र गठन भयो भने २०७५ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबाट नेकपा गठन भयो। तर २०७७ सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्कियो। माओवादी पटकपटक फुट्दै आए पनि मूलधारमा रहेको माओवादीको नेतृत्व भने दाहालले गर्दै आएका छन्।

दाहालले एउटै पार्टीमा रहेर तीन दशक नेतृत्व गरिसकेका छन्। उनी तत्काल नेतृत्वबाट अलग हुने संकेत पनि छैन। त्यसैले पार्टीको नाम परिवर्तन गरेर भए पनि उनी सत्तामा रहिरहने आकलन छ राजनीतिशास्त्रका प्राध्यापक चन्दको।

उनी भन्छन्, ‘दाहालले नाम परिवर्तन गरे पनि नेतृत्वमा आफैँ रहनेछन्। यसले कार्यकर्ता र जनतालाई केही फाइदा हुँदैन। लाभ लिने त अध्यक्ष दाहाल र उनका आसेपासे हुन्।’

सत्तामा आएपछि फुटैफुट

२०५२ सालदेखि २०६३ सालसम्म माओवादी सशस्त्र विद्रोहमा थियो। त्यस अवधिमा पार्टीभित्र वैचारिक विभेद भए पनि विभाजन भइहालेको थिएन। शान्तिप्रक्रियामा आएपछि ०६४ सालमा माओवादी मुलुकको सबैभन्दा ठूलो शक्तिका रूपमा उदायो। सत्तारोहणसँगै पार्टी विभाजन पनि शृंखलाबद्ध रूपमा हुन थाल्यो।

सबैभन्दा पहिला मोहन वैद्य नेतृत्वमा माओवादी फुटेको थियो। वैद्य नेतृत्वको पार्टी फुटेर नेत्र विक्रम चन्द विप्लव नेतृत्वमा अर्को पार्टी बन्यो। दाहालसँगै रहेका अन्य नेताहरूले पनि नयाँनयाँ पार्टी बनाए। फुटेका माओवादीहरूसँग मिलेर एकता अभियान पनि दाहालले चलाए।

यस क्रममा अध्यक्ष दाहालले पार्टीमा अनेक नाम जोडेका छन्। तर माओवादीचाहिँ छुटाएका छैनन्। फुटेर गएका केही दलले पनि माओवादी नै राखे। तीमध्ये धेरैजसो अस्तित्वमा छैनन्। अस्तिवमा रहेकाले पनि अर्कै नाम राखेका छन्। त्यसैले माओवादी पार्टी भनेर दाहालले नेतृत्व गरेको दललाई बुझ्ने गरिन्छ।

अध्यक्ष दाहाल माओवादीको मूलधारको नेतृत्व आफैँले गर्दै आएको र सफलता पनि प्राप्त भइरहेको बताउँछन्। गत शनिबार राजधानीमा पार्टीले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘सिंगो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि छ। हाम्रो आन्दोलनको विजय भएको छ।’ उनले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न, सम्मान गर्न र नेतृत्व स्थापित गर्न आफूहरू चुकेको स्वीकार गरे।

गल्ती ढाकछोपको प्रयत्न

माओवादी नेताहरूमाथि राजनीतिक संस्कार नभएको, प्रतिबद्धता र इमानदारीको खडेरी परेको जस्ता आरोप लाग्ने गरेका छन्। शान्तिप्रक्रियामा आएपछि अधिकांश समय सत्तामा रहेको माओवादी पुराना संसद्‍‍वादी दल कांग्रेस र एमालेसँग तालमेल गर्दै सत्तामा रहँदै आएको छ। पछिल्लो समय प्रधानमन्त्री दाहाल राजावादी र गणतन्त्रवादीलाई साथमा लिएर सत्ताको नेतृत्वमा छन्।

माओवादीले भन्ने गरेको ‘जनयुद्ध’ बाट केही उपलब्धि भए पनि त्यसबाट भएको विनाशको औचित्य पुष्टि गर्ने गरी नेतृत्वबाट काम हुन नसकेको प्राध्यापक चन्द बताउँछन्। उनी भन्छन्, ‘माओवादीले सशस्त्र विद्रोह गरे पनि अन्य संसद्‍‍वादी दलको सहयोगबिना परिवर्तन सम्भव थिएन। तर माओवादीलाई हिंसात्मक राजनीतिको अगुवाइ गरेर मुलुकलाई बरबादी गरेको आरोप लागिरहेको छ। त्यसैले दाहालले इतिहास मेटेर नयाँ थालनी गर्न खोजेका हुन्। कमीकमजोरी र घटना ओझेलमा पार्ने प्रयास हो उनको।’

माओवादी नेतृत्वमा दिनप्रतिदिन राजनीतिक अनुशासनमा ह्रास आउँदा विचलन र अवसरवादी प्रवृत्ति मौलाउँदै गएको देखिन्छ। चन्द भन्छन्, ‘दाहाल दलको नाम फेरेर यस्ता आरोपबाट मुक्त हुन खोज्दैछन्। तर नाम फेरिँदैमा प्रवृत्ति फेरिने छैन।’

परितर्तनशील देखिने हुटहुटी

पछिल्ला चारवटा चुनावमा माओवादीले कुनै न कुनै दलसँग गठबन्धन गर्‍यो। २०७४ को स्थानीय तह चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादीले सोही वर्षको प्रतिनिधिसभा एवम् प्रदेशसभा चुनावमा एमालेसँग कार्यगत एकता गरेर जनतामाझ गयो।

२०७९ मा भएका तीनै तहको चुनावमा माओवादी कांग्रेस गठबन्धनबाट जनताको घरदैलोमा पुगेको थियो। जनताले पार्टीलाई विश्वास गर्न सक्दैनन् भन्ने  दाहालले बुझेर कुनै न कुनै दलसँग तालमेल गर्दै आएको बताउँछन् अर्का राजनीतिशास्त्री प्राध्यापक कपिल श्रेष्ठ।

उनी भन्छन्, ‘अब कम्युनिस्ट र माओवादी भनेर जनताले मत दिँदैनन् भन्ने दाहालले बुझिसकेका छन्। त्यसैले उनले आवरण परिवर्तन गर्न खोजेका हुन्। किनकि दाहाललाई एमालेभन्दा आफूलाई परिवर्तनशील र आधुनिक भनेर देखाउनु छ।’

‘जनता झुक्याए’ पनि आशा कम्युनिस्टमै

स्थापनाकालमा कम्युनिस्ट पार्टीप्रति नागरिकको बढी नै भरोसा थियो। किसान, मजदुर र बुद्धिजीवीहरू यो दलप्रति धेरै समय आशावादी रहे। राष्ट्रिय पुँजीका संरक्षणका निम्ति पनि कम्युनिस्ट पार्टीको उज्यालो धरालत रहेको धेरैको बुझाइ थियो। सोही कारण लामो समयसम्म कम्युनिस्टप्रति नेपाली जनताले विश्वास गरे।

२०५१ मा एमालेको ९ महिने शासनकालमा आएका नीतिगत एवम् जनजीविकाका विषय जनमुखी थिए। त्यसपछि दिनमा भने कहिले विद्रोहका नाममा र कहिले ठूल्ठूला सपना देखाएर कम्युनिस्ट पार्टीले जनतालाई झुक्याइरहेको विश्लेषकहरू टिप्पणी गर्छन्।

संसदीय राजनीतिमा आएपछि पटकपटक नाम फेरेको भए पनि अब माओवादी भन्दा भिन्दै राजनीतिक स्कुलिङबाट आएकाहरूलाई समेत जोड्ने प्रयासमा माओवादी जुटेको हो।

‘संसद्‌मा सांसदको किनबेच भएको विरोधमा जनयुद्ध सुरु गरेका दाहाल अहिले ३३ सिट जितेर सरकारको नेतृत्व गरिरहेका छन्। प्रधानमन्त्री हुनका लागि पार्टी फुटाउने, अनैतिक गठबन्धन गर्ने जस्ता प्रवृत्तिमा दाहाल पनि फसिकेका छन्,’ प्राध्यापक श्रेष्ठ भन्छन्। पार्टीको नाम परिवर्तन गर्ने नीति पनि यसकै निरन्तरता रहेको उनको बुझाइ छ।

माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार दुईमहिने संगठन निर्माण अभियानका क्रममा समेत पार्टीको नाम र चुनाव चिह्न फेर्ने विषयमा छलफल चलाइनेछ।

उपाध्याय भन्छन्, ‘पार्टीको नाम र चुनाव चिह्न फेर्ने विषय धेरै पहिलादेखि बहसमा आएको हो। यसपटक तल्ला कमिटीसम्म बहस हुनेछ। दुई महिनापछि बस्ने केन्द्रीय कमिटीको बैठकमा यसबारे थप छलफल हुनेछ। त्यही बैठकले जरुरी ठानेमा निर्णय गर्नसक्छ।’

माओवादी केन्द्रले गत ४ मंसिरको निर्वाचनअघि अरू दलहरूलाई मिलाएर समाजवादी केन्द्र बनाउने प्रयास गरेको थियो। त्यसका लागि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसँग छलफलसमेत गरेको थियो। माओवादीको उक्त प्रयास सफल भएको थिएन। त्यो बेलामा पनि माओवादीका केही नेताले पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने प्रस्ताव गरेका थिए।

एकात्मक शासन व्यवस्था फेर्न २०५२ सालदेखि १० वर्षसम्म सशस्त्र युद्ध गरेर आएको माओवादी केन्द्रले प्रमुख लक्ष्यअनुसार मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा लग्यो। तर विगतको विरासतलाई लिएर उठ्ने अन्तर्राष्ट्रिय प्रश्न र आन्तरिक घाउको सामना गर्न माओवादीले आफ्नो स्वरूपलाई फेरि नयाँ बनाउन खोजेको छ।

माओवादीबाट २०७२ सालमा छुट्टिएका बाबुराम भट्टराई माओवादीसँगको एकताका लागि पार्टीको नाम फेर्नुपर्ने अडानमा छन्। यसकारण पनि माओवादी शब्द नै नराख्ने गरी नाम फेर्ने प्रस्तावमाथिको छलफलमा माओवादी जुटेको छ। संसदीय राजनीतिमा आएपछि पटकपटक नाम फेरेको भए पनि अब माओवादी भन्दा भिन्दै राजनीतिक स्कुलिङबाट आएकाहरूलाई समेत जोड्ने प्रयासमा माओवादी जुटेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =