काठमाडौँ– चिकित्साशिक्षा आयोगले समयमै प्रवेश परीक्षा नलिँदा विद्यार्थी अन्योलमा परेका छन्। प्रवेश परीक्षा नहुँदा नेपालकै विश्वविद्यालयमा छात्रवृत्ति कोटामा एमबीबीएस पढ्न प्रयासरत विद्यार्थी अन्योलमा परेका हुन्।
छात्रवृत्तिमा चिकित्साशिक्षा अध्ययनका लागि गत वर्षको परीक्षामा सहभागी भएर असफल भएका विद्यार्थीमध्ये परीक्षा ढिलो भएपछि कतिले अन्य विषय रोजेका छन् भने अधिकांश विद्यार्थी विदेशतिर लागेका छन्।
चिकित्साशिक्षा एकीकृत प्रवेश परीक्षाको तयारी गरिरहेका कमलेश यादव एकीकृत परीक्षाको तयारी गरे पनि परीक्षा मिति नतोकिएको बताउँछन्। अहिले नाम निकाल्न नसके थप एक वर्ष कुर्नुपर्ने उनको गुनासो छ। छात्रवृत्ति कोटामा नाम ननिस्किएपछि पैसा तिरेर पढ्न पनि सिट नपाइने उनको भनाइ छ।
‘छात्रवृत्तिमा नाम निस्कने त ग्यारेन्टी छैन। अर्को देशमा गएर पढ्न पनि उता भर्ना बन्द भइसक्छ। नाम निस्किएन भने एक वर्ष कुनुपर्छ’, उनले भने।
आयोगले कोभिड १९ महामारीका कारण बिग्रिएको क्यालेन्डर मिलाउन परीक्षा फागुनमा सारिएको जनाएको छ। आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले गत वर्षभन्दा परीक्षा चाँडै गरे पनि यसपटक कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई भने केही ढिलो भएको लागेको बताए।
‘हामीले गत वर्षको कक्षा कोभिड महामारीका कारण ढिलो सुरु गरेका थियौँ। एकैपटक दुईवटा इन्टेकमा भर्ना लिन विश्वविद्यालयको क्षमता नभएकाले अघिल्लो वर्षभन्दा तीन महिनाअघि प्रवेश परीक्षा लिएर केही वर्षमा मिलाउने प्रयासमा छौँ। परीक्षामा अनुत्तीर्ण विद्यार्थीले अर्को पटकका लागि कुर्नुको विकल्प छैन,’ उनले भने।
चिकित्साशिक्षामा विद्यार्थीको आकर्षणको केन्द्रमा छ। नेपाली विश्वविद्यालयमा सीमित सिट भएका कारण विद्यार्थी मेडिकल शिक्षा आर्जन गर्न विदेश जाने गरेका छन्।
मेडिकल शिक्षाका लागि नेपाली विद्यार्थीको रोजाइ चीन, बंगलादेश, फिलिपिन्सलगायतका मुलुक हुने गरेको छ। नर्सिङ, जनस्वास्थ्य शिक्षा, प्रयोगशाला विज्ञान (मेडिकल ल्याब्रोटरी टेक्नोलोजी) लगायतका विषय अध्ययन गर्न भने नेपाली विद्यार्थी भारत, अस्ट्रेलिया, बेलायतलगायतका मुलुकमा जाने गरेका छन्।
चिकित्साशिक्षाबाहेक विज्ञान संकायअन्तर्गतका विद्यार्थीले इन्जिनियरिङ, बीएससीसीएसआइटी, अप्लाइड साइन्स (फिजिक्स, केमेस्ट्री, जुओलोजी, बोटनी, माइक्रोबायोलोजी) लगायतका विषयमा पढाइ सुरु भइसकेको छ। तर चिकित्साशिक्षातर्फका विद्यार्थीको भने प्रवेश परीक्षा पनि हुन सकेको छैन।
नेपालमा एक दर्जनभन्दा बढी चिकित्सा अध्ययन संस्थाहरू छन्, जहाँ ब्याचलर अफ मेडिसिन, ब्याचलर सर्जरी (एमबीबीएस) पढाइ हुन्छ। चिकित्सक बन्न सजिलो छैन। लगानी, योग्यता र क्षमताजस्ता चुनौतीसँग जुध्दै मेडिकल अध्ययन अगाडि बढाउने हो भने यसमा असीमित अवसर छन्।
मेडिकल क्षेत्रलाई समाजमा प्रतिष्ठित र सुरक्षित पेसाका रूपमा हेरिन्छ।
चिकित्सक बन्न रहर वा इच्छामात्र भएर पुग्दैन, विद्यार्थीमा समाज तथा राष्ट्रप्रति दायित्वबोध, व्यक्तिगत आचरण, व्यवहार र लगनशीलता पनि हुनुपर्छ। मानवीय संवेदना बुझ्ने क्षमता र संवेदनशीलता अत्यावश्यक पर्ने बुझाइ विज्ञको छ। स्वदेशी तथा विदेशी रोजगार बजारमा अत्यावश्क माग भएको चिकित्सक पेसातर्फ अहिले पनि हजारौँ विद्यार्थीले प्रवेश परीक्षाको तयारी गरेका छन्।
आवश्यक योग्यता, लागत खर्च र छात्रवृत्ति
चिकित्साशास्त्र अध्ययन गर्न चाहिने न्यूनतम योग्यता भनेको कक्षा ११ र १२ मा बायालोजी मुख्य विषय लिएर उत्तीर्ण हुनु हो। त्यसपछि चिकित्साशिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेर मेरिटका आधारमा कलेजमा भर्ना हुन फाराम भर्नुपर्छ।
अन्य व्यावसायिक शिक्षाको तुलनामा चिकित्सक बन्न धेरै खर्च लाग्छ। सरकारले चिकित्साशिक्षातर्फ एमबीबीएसमा ४१७ जना र डेन्टल सर्जरी (बीडीएस)तर्फ ११० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ। छात्रवृत्तिको मेरिटबाहेक पूर्ण शुल्क तिरेर विद्यार्थीले कलेजको बाँकी सिटमा मेरिटकै आधारमा भर्ना पाउँछन्।
गरिब, दलित, जनजाति वर्गले पनि ‘मेरिट’का आधारमा पूर्ण छात्रवृत्ति पाउने व्यवस्था छ।
विदेशी शिक्षण संस्थामा अध्ययनका लागि पनि सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। सम्बन्धित मुलुकका दूतावासमार्फत लिइने परीक्षामा नाम निकाल्ने हो भने विदेशमा सस्तोमै अध्ययन गर्न सकिन्छ। चीन, बंगलादेश, रुसजस्ता मुलुकमा पूर्ण छात्रवृत्ति प्रदान गरिँदै आएको छ।
प्रवेश परीक्षा उत्तीर्ण नभई विदेशमा पढ्न समस्या
प्रवेश परीक्षा उत्तीर्ण नभई विद्यार्थी आफूखुसी विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान पाउँदैनन्। प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले मात्र शिक्षा मन्त्रालयबाट जारी गर्ने विदेश अध्ययन अनुमति पत्र (एनओसी) पाउँछन्।
विदेश अध्ययनमा जानुपूर्व आयोगको अनुमतिपत्र लिएपछि मात्र स्टेटमेन्ट अफ निड, नो अब्जेक्सन लेटर, गुड स्ट्यान्डिङ सटिर्फिकेटजस्ता सिफारिसपत्र लिन पाइन्छ।
आयोगले राष्ट्रिय चिकित्साशिक्षा ऐन, २०७५ को दफा १६ मा नेपालबाट अन्य मुलुकमा उच्चशिक्षा अध्ययन गर्न जाने व्यक्तिले आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरेको छ।
राष्ट्रिय चिकित्साशिक्षा नियमावलीको नियम २७ अनुसार विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकलाई अध्ययन अनुमति पत्र दिने अधिकार आयोगलाई मात्र छ।
चिकित्साशिक्षा स्नातकोत्तर तहको पनि पठनपाठन अनिश्चित
चिकित्साशिक्षा स्नातकोत्तर तहका पनि नयाँ विद्यार्थीको पठनपाठन सञ्चालन नगर्न सर्वोच्च अदालतले आदेश दिएसँगै विद्यार्थीको पठनपाठन अनिश्चित बनेको छ।
पुरानै प्रक्रियाबाट विद्यार्थी भर्ना गर्न माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा अदालतले अन्तरिम आदेश जारी गर्दै तत्काल कक्षा सञ्चालन नगर्न भनेको थियो। आयोगका उपाध्यक्ष गिरीले मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले भर्ना प्रक्रिया र नयाँ शैक्षिक सुरु हुने अवस्था नभएको बताए।
आयोगले स्नातकोत्तर तह चिकित्साशिक्षाको नयाँ शैक्षिकसत्र माघ २२ गतेबाट सुरु गर्ने गरी कार्यतालिका बनाएको थियो।
चिकित्साशिक्षामा सीमित कोटा
नेपालमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालका आंगिक र सम्बन्धन प्राप्त मेडिकल कलेजबाट वार्षिक दुई हजारभन्दा बढी विद्यार्थीले चिकित्साशिक्षा अध्ययन गर्दै आएका छन्। यद्यपि देशको आर्थिक, सामाजिक एवम् राजनीतिक परिस्थितिका चिकित्साशिक्षा अध्ययनका लागि विदेश जानेको संख्या पनि उत्तिकै छ।
देशमा उत्पादित चिकित्सकहरू विदेश पलायन हुँदा र सहरकेन्द्रित हुँदा दुर्गम क्षेत्रमा स्वास्थ्य समस्या पनि ज्यूँकात्यूँ छन्। राज्यको ‘चिकित्साशिक्षामा लगानी बालुवामा पानी’भएको छ। नेपालको भौगिलिक अवस्थाका कारण पनि धेरै ठाउँमा चिकित्सकको उपस्थिति शून्यप्राय: छ।
‘जबसम्म मानवीय सेवाको भावना आउँदैन, अरूलाई परेको समस्या बुझ्न सक्दैन, ऊ कहिल्यै पनि सफल चिकित्सक बन्न सक्दैन’, चिकित्सा अध्ययनशास्त्र महाराजगन्जबाट एमबीबीएस सकाएका पुष्पराज भुसाल भन्छन्, ‘चिकित्सा पेसा भनेको आफ्नो होइन, अरूको जीवन बनाउने क्षेत्र हो। एउटा चिकित्सकको प्रयासले धेरैको ज्यान जोगिन सक्छ। त्यसैले आफ्नो भविष्य, करिअरभन्दा अरूको भविष्यबारे ध्यान दिनुपर्छ र सेवाको भावना राख्नुपर्छ।’
नेपालमा मेडिकल अध्ययन हुने शिक्षालयहरू
१.चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान, महाराजगन्ज काठमाडौँ
२.काठमाडौँ मेडिकल कलेज जोरपाटी, काठमाडौँ
३.नेपाल मेडिकल कलेज, काठमाडौँ
४.बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
५.मणिपाल मेडिकल कलेज, पोखरा
६.स्कुल अफ मेडिसिन काठमाडौँ विश्वविद्यालय, धुलिखेल
७.कलेज अफ मेडिकल साइन्स, भरतपुर
८.युनिभर्सल मेडिकल कलेज, भैरहवा
९. किस्ट मेडिकल कलेज, काठमाडौँ
१०.महेन्द्रनगर मेडिकल कलेज, महेन्द्रनगर
११.नेपालगन्ज मेडिकल कलेज, नेपालगन्ज
१२.चितवन मेडिकल कलेज, भरतपुर
१३.लुम्बिनी मेडिकल कलेज, तानसेन
१४.नोबेल मेडिकल कलेज, विराटनगर
१५.पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन
१६.गण्डकी मेडिकल कलेज, पोखरा
१७. विराट मेडिकल कलेज, विराटनगर
१८.देवदह मेडिकल कलेज, भलवाडी
१९. कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, जुम्ला