सन्दर्भ-विचार

रणनीतिसँग नमिल्ने कूटनीति

ध्रुवहरि अधिकारी १ फागुन २०७९ १९:५३
584
SHARES
रणनीतिसँग नमिल्ने कूटनीति

सामन्था पावर गत हप्ता नेपाली प्रेसमा बाक्लो चर्चामा थिइन्। अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने कुनै उच्चपदस्थ व्यक्तिले नेपाल-भ्रमण (२४-२५माघ) गरेको सन्दर्भ चर्चित हुनु स्वाभाविक पनि हो। बाराक ओबामा राष्ट्रपति छँदा संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत भएर काम गरिसकेकी पावरले वर्तमान जो बाइडेनको प्रशासनमा पनि मन्त्रिस्तरीय हैसियत राख्छिन् यद्यपि उनको अहिलेको पदलाई ‘प्रशासक’ भनिएको छ।

अमेरिकी सरकारको अन्तर्राष्ट्रिय सहायता सम्बन्धी निकाय ‘यू एस् ए आई डी’ लाई नेतृत्व दिने स्थानमा छिन्। लोकतान्त्रिक परिपाटी अँगालेका देशहरूलाई यथोचित भौतिक तथा नैतिक सहायता उपलब्ध गराउँदै रहने प्रतिबद्धता जनाउने क्रमको एउटा भ्रमणमा उनी काठमाडौं आएकी हुन्। विश्वभर खस्किंदै गएको अमेरिकाको शक्ति र छविलाई जोगाउने प्रयत्न अनुरुप उतैको पहलमा यसप्रकारका संक्षिप्त यात्राहरू भईरहेका छन्।

केही दिनअघि मात्र अमेरिकी परराष्ट्र विभागकी कूटनीतिक कर्मचारी भिक्टोरिया नुल्याण्ड यस्तै सिलसिलामा काठमाडौं आएर नेपालका शासक-प्रशासकहरूसँग भेटवार्तामा संलग्‍न भएकी थिइन्। यी भ्रमणले अनुकूल वातावरण निर्माण गरेको मानिएछ भने परराष्ट्रमन्त्री एन्टनी ब्लिन्‌केन पनि चीनसँग सिमाना जोडिएको दक्षिण एसियाली मुलुकको यात्रामा आउन सक्छन्।

उधारो आश्‍वासन

सामन्था पावरकै प्रसङ्‌गमा फर्कौं। उनको काठमाडौं-प्रवासका बखत यूएस्‌एआईडी (एजेन्सी)को तर्फबाट वितरित प्रेस सूचना (२४ माघ) मा नेपालमा लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्दैजाने कार्यलाई टेवा दिन पाँच करोड ८५ लाख डलरको सहायता दिने कुरा लेखिएको थियो जसको प्रचार सञ्चारमाध्यमहरूबाट तत्काल भएको हो।

विवादमुक्त हुन नसकेको एम् सी सी लगानीको पाटो आफ्नो ठाउँमा छँदै छ, यस्तैमा झण्डै ६ करोडको अनुदान आउने जानकारीले जनसाधारण हर्षित हुने अवस्था आयो। तर एजेन्सीको त्यस प्रेस सूचनामा परेको ‘रकम उपलब्ध हुन सकेको अवस्थामा’ भन्ने शब्दावलीतर्फ भने कमै नेपालीको ध्यान पुगेजस्तो छ। अर्को शब्दमा, अनुदानको आश्वासन हाकाहाकी उधारो आश्वासन हो।

काकताली भन्नुपर्‍यो, सामन्था पावरको नेपाल छोडेपछिको गन्तव्य रहेछ युक्रेनसँग पनि सिमाना जोडिएको युरोपको देश हंगेरी। नेपालका अखबारले पावरका आश्वासन सम्बन्धी समाचार शीर्षक छापेको दिन त उनी हंगेरीको राजधानी बुडापेष्ट पुगिसकिछिन्। नेपालमा माओवादी मार्काको कम्युनिष्टको नेतृत्वमा रहेको सरकार सञ्चालकहरूसँग व्यवहार गर्नुपरेको असहज स्थितिको सामना गरेकी पावरले बुडापेष्टमा अति दक्षिणपन्थी ठानिएको प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारका प्रतिनिधिहरूको सामना गर्नुपरेको विषय पश्चिमा माध्यमहरूका शीर्षक बनेका छन्।

हंगेरीसँगको अमेरिकी सम्बन्ध यतिखेर निकै चिसो अवस्थामा छ। युरोपेली संघ (ईयू) र सैनिक गठबन्धन ‘नेटो’ दुबैतिरको सदस्य रहेको हंगेरीसँगको सम्बन्ध किन बिग्रँदै आएको हो ? समकालीन घटनाक्रमलाई नियाल्दा सम्बन्ध चिसिनुमा अमेरिका आफैं पनि कारण भएको देखापर्दछ। नत्र सोभियत संघ विघटनपछि पश्चिमा खेमामा आएको हंगेरी फेरि बटारिएर रूसप्रति ढल्किनु पर्ने होइन।

पुरुष राजदूतका पति!

डोनाल्ड ट्रम्प राष्ट्रपति छँदा हंगेरीसँगको अमेरिकी सम्बन्ध सुमधुर थियो किनभने ट्रम्पजस्तै ओर्बान पनि धार्मिक मूल्य-मान्यताप्रति समर्पित नेता हुन्। ईसाई मत अनुसारका परम्परागत प्रचलन, सामाजिक सदाचार तथा व्यवहारहरू निरन्तर हुनुपर्छ भन्ने मिल्दोजुल्दो सोच दुबैतर्फ थियो। ट्रम्पले नियुक्त गरेका राजदूत पनि अनुकूल नै थिए। हंगेरीमा समलिङ्‌गी सम्बन्धलाई अप्राकृति मानिन्छ र त्यस्ता विषय उमेर नपुगेका बाल-बालिकाहरूलाई पढाउनु पनि हुन्न भन्ने मान्यता राखिन्छ।

ऐन-कानून पनि त्यसै अनुरुप परिमार्जित छन्। र, यस मामिलामा हंगेरी र पोल्याण्ड ईयूभित्र रहेर पनि भिन्न मत राख्दछन्। यस्तैमा, अमेरिकामा ट्रम्पको ठाउँ बाईडेनले लिए जसले नयाँ राजदूत नियुक्त गरे- डेविड प्रेसम्यानलाई। यिनको नियुक्ति सामन्था पावरको सिफारिशमा भएको अनुमान गरिन्छ किनभने राष्ट्रसंघमा राजदूत हुँदादेखि नै यिनी प्रेसम्यानको कूटनीतिक चातुर्यबाट प्रभावित भएकी हुन्, तसर्थ निरन्तर संरक्षण र प्रोत्साहन दिंदै आएकी छिन्। अनि, राजदूत प्रेसम्यान रहेछन् खुलेयाम समलिङ्‌गी सम्बन्धमा रहेका कूटनीतिक कर्मचारी।

यिनी आफू पुरुष भए तापनि यिनले अर्को पुरुषलाई ‘लोग्ने’ घोषित गरेका छन्; र यिनका दुइभाइ छोरा छन्! राजदूत प्रेसम्यान हंगेरीको एक टेलिभिजन संवादमा ‘म्याडम् एम्ब्यासडर’ को रूपमा पनि चित्रित भएका छन्। हंगेरी उनको लागि निकै चुनौतीको स्थान भएको छ।

हंगेरीका परराष्ट्रमन्त्री पिटर सियार्टो र उनका सहयोगीहरू अमेरिकी राजदूत प्रेसम्यानलाई भेट दिन रुचि राख्दैनन्। कदाचित् राखिहाले पनि ‘तपाईं त लैंगिक अधिकारका कुरा गर्न चाहनु हुन्छ होला’ भनेर छेड्खानी गर्छन्। वातावरण यस्तो भएको हुनाले राजदूत प्रेसम्यानलाई गम्भीर कूटनीतिक चासोका कुराहरू गर्न गाह्रो परिरहेको छ।

उनी भन्छन्ः- अमेरिकी हात-हतियार युक्रेन पठाउन हंगेरीले बाटो देओस् भन्ने अमेरिकी भाष्य सुनाउन र सम्झाउन व्यग्र छु, तर मेरा कुरा कोही सुन्दैनन्। उनका तर्क ओर्बान सरकार स्वीकार गर्दैन। (न्यूयोर्क टाइम्सका पत्रकार एण्ड्रु हिगिन्सले यी कुराहरूको उल्लेख हालै प्रकाशित लेखमा गरेका छन्)

युरोपमा लडाञी अन्त्य गर्ने हो भने युक्रेनलाई अमेरिकाले हात-हतियार आपूर्ति गरिरहनु उचित होइन भन्ने हंगेरीको कथन छ। तर यस तर्कलाई राजदूत प्रेसम्यान र उनका तालुकवालाहरू मान्दैनन्। उल्टो, हंगेरी रुसको पोल्टामा गयो भनेर प्रचारबाजी गर्छन्। अनि, राजदूत प्रेसम्यान पनि बराबर हंगेरीको सरकार चिढिने काम गरिरहन्छन्। जस्तो, हंगेरीका न्यायाधीशहरूलाई भेटेर मानव अधिकार हनन्‌ भैरहेको शिकायत गर्ने, प्रेस स्वतन्त्रता कुण्ठित भएको आवाज घन्काउन गैरसरकारी समूहहरूलाई उक्साउने आदि, इत्यादि।

हस्तक्षेपको सिलसिला

अमेरिकी राजदूतका यस्ता गतिविधि र वक्तव्यलाई हंगेरी आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठान्छ, र बेला-बखत ओर्बान सरकारले कडा शब्दमा प्रतिवाद गर्दैआएको छ। यस्तो, असहज वातावरणमा बुडापेष्ट पुगेकी पावरले पनि सरकारीभन्दा गैरसरकारी संस्था, निकायका प्रतिनिधिहरूलाई भेटेर सरकारको आलोचनालाई प्रोत्साहित गरेको देखिन्छ। उनकै एजेन्सीका वक्तव्यले यस्तो अमेरिकी कार्यशैलीलाई प्रष्ट गर्दछ।

२७ माघ (१० फेब्रुअरी) मा प्रकाशित एजेन्सीको प्रेस टिपोटमा ‘अमेरिका हंगेरीका यौनिक अल्पसंख्यक (एल् जी बी टी क्यू +) र सिमान्तीकृत समूहहरूको पक्षमा लगातार उभिइरहने छ’ भनिएको छ। यस्ताे वक्तव्यले सम्बन्ध झन् बिग्रनु अपरिहार्य छ। प्रेस टिपोटमा सामन्था पावरले हंगेरीका ‘स्वतन्त्र पत्रकारहरूसँग भेटघाट’ गरेको कुरा पनि उल्लेख छ।

हंगेरीमा प्रेसलाई सरकारीकरण गरिएको छ भन्ने अमेरिकी अवधारणाको पुष्टि यसैबाट हुन्छ। अमेरिकी पक्षको आरोप छः- सरकारीकरण गरिएका सञ्चारमाध्यमहरूमा मास्कोबाट प्रवाहित हुने समाचार र विचारकै आधिक्य हुन्छ। यो अमेरिकी आक्षेप स्वभावतः टीका-टिप्पणीको रूपमा पश्चिमा माध्यमहरूमा छाप्छाप्ती प्रचार हुने गरेको छ। रूससँग मात्र होइन हंगेरी चीनसँग पनि निकटता बढाइरहेको छ- यस्तो पनि छ अमेरिकी अवधारणा।

भिक्टर ओर्बान सन् २०१० यता लगातार प्रधानमन्त्री रहेका व्यक्ति हुन्। सन् १९९८-२००२ को अवधिमा दक्षिणपन्थी गठबन्धनको सरकार पनि चलाएका थिए। हंगेरीको राजनीतिमा विशिष्ट स्थान बनाएको हुनाले बहुसंख्यक मतदाताहरू बीच उनी लोकप्रिय छन्। र, राष्ट्रियहितमा उनको सरकारको अडानबारे ईयूको मुख्यालय ब्रसेल्स तथा वाशिंगटन भलिभाँती परिचित छन्।

युक्रेनकै हकमा पनि मानवीय सहायता उपलब्ध गराउने कुरामा ओर्बान उदार छन्। खालि आफ्नो देशलाई अमेरिकी हतियार ओसार्ने बाटो बन्न दिन चाहँदैनन्। त्यसैगरी, ‘ब्रिटानिका डट् कम’ मा लेखिएको छः- प्रधानमन्त्री ओर्बान बाहिरी स्रोतबाट प्राप्त रकमबाट सञ्‍चालित हुने गैरसरकारी संस्थाहरू विदेशी शक्तिका एजेण्ट हुन सक्ने हुनाले तिनका क्रियाकलापलाई नजिकबाट अनुगमन गरिरहनु आवश्यक छ भन्ने सोच राख्दछन्।

प्रकाशित: १ फागुन २०७९ १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =