विकल्प; व्यक्ति, सिद्धान्त र शासकीय संरचनाको

राजाराम बर्तौला २९ माघ २०७९ ७:०६
52
SHARES
विकल्प; व्यक्ति, सिद्धान्त र शासकीय संरचनाको

नेपाल एउटा यस्तो मुलुक हो जहाँको शीर्ष नेतृत्व आफूलाई देवाधिदेव महादेवझैँ सम्झन्छन् र स्वैरकल्पनामा भष्मीभूत धारण गरेर, व्याघ्रचर्मको धोती लगाउँदै डमरु बजाएर रमाउँछन्। लोकलज्जाको कुनै विषय रहेन, शव्दवाणमा रमाउँछन्। अरूको उछित्तो काढ्छन्, आफ्नो देवत्वकरण गराउँछन्। राज्य र जनताप्रतिको अतुल्य स्नेह पोखिएर छताछुल्ल भएको देखिन्छ यिनीहरूको सम्भाषणमा, राष्ट्रियताको मूल फुट्छ साउने भेल जसरी।

हामीलाई लाग्दछ- यिनीहरू नै हुन् हाम्रा पालनहार, तारनहार। अपरिमेय अपार साक्षात् शेषशायी विष्णु र कमलासयनी ब्रह्मा। शब्दाडम्बरको गुलियो चास्नीमा डुब्दै आइरहेका छौँ हामी दशकौँदेखि। हाम्रा आकांक्षा र विश्वास सम्भाषणको अन्धवेगमा रमाएका छन् र उनीहरूलाई नायकको पगरी गुथाउँदै आफू दिनप्रतिदिन दासता उन्मुख हुँदैछौँ।

हाम्रा प्रिय नेताहरू आयोजनाको प्रारम्भका लागि जग खनेर भूमिपूजन तथा शिलापूजन गरेको दोस्रो दिन कार्यसम्पन्न भएको भन्दै पूजनीय नेताको नाम शिलापत्रमा लेखेर उहाँको बरदहस्तबाट समुद्घाटन सुसम्पन्न भएको भनेर शिलापत्र स्थापना गर्दछौँ। धरहरा समुद्घाटन भएको वषौँ भयो, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।

नेपालबाट तुइन विस्थापित भएको ढोलक पिटाइ टेलिभिजनहरूमा समवेत स्वरमा गुञ्जिएको उहिल्यै हो। महाकालीमा तुइनबाट मानिस खसेर बेपत्ता हुँदा ‘छानबिन गरी क्षतिपूर्ति दिलाउन नसकेको निकम्मा सरकार भनेर’ आलोचनाको राग पनि सुनिएकै हो।

‘आफूले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत, छैन शंकरको नंगा मगन्ते भेष निन्दित’ भनेजस्तो आफूले अरूलाई विस्थापित गर्न, तेजोबध गरी शासकीय एकाधिकार जमाउन, जालझेल, प्रपञ्च सबै राजनीतिको नीति भित्र पर्ने, अरूले त्यही काम गरे अविवेकी, असहिष्णु, अनैतिक र परालम्बित मानसिकता र दास मनोवृत्ति र चरित्र मानिनुपर्ने अनौठो भाष्य स्थापित भएको छ। अनि यी सबै जादुटुना, नाटकीय मञ्चन, हास, परिहास र उपहासलाई हामी नेपालीले टुलुटुलु हेरेर रमाउनुपर्ने बाध्यता छ। असह्य पीडामा पनि ऐय्या भन्न नपाउने भएको छ। कथम् पीडाबोधको आहा! शब्दोच्चारित भयो भने देशीविदेशी तत्त्वहरूले उचालेका मुठीभरका तत्त्वमा दरिनुपर्ने हुन्छ।

खबरदार! शासकीय स्वरूप जतिसुकै कुरूप किन नहोस्, भ्रष्ट र नालायक किन नहोस् यसको विरोध गर्न पाइँदैन किनभने यो प्रगतिशील परिवर्तनकामी जनशक्तिको बलबाट राजालाई विस्थापित गरेर ल्याइएको व्यवस्था हो। यहाँ सबै स्वीकार्य छ, छैन भने केवल नवराजा, महाराजा, महारानी र राजकुमारहरूको एकाधिकारको विरोध। अदृश्य अतिसूक्ष्म न्युक्लियसले मानवीय आवेग र संवेग नियन्त्रण गरेजस्तो प्यारासाइटहरू व्यस्त छन् जीवकोषिका नष्ट गरेर मोटाउन। यी सर्वथा संरक्षित छन्, कानुनभन्दा पर, पद्धतिको सञ्चालक मालिक भएर बसेका छन्।

‘के सोचेँ मैले, के भायो ऐले’ भनेजस्तो आन्दोलनमा होमिएका लाखौँ युवाको ऊर्जा र बलिदान केही सीमित नेता र तिनीहरूका आसेपासे, सन्तान, नाताकुटुम्बहरूको सम्पन्नता र समृद्धिका लागि पारितोषिक भएको छ। युवाका सपना तुहिएर खाडीको पोल्ने बालुवामा पसिनासँगै गाडिएको छ। अहिलेका युवा त्यसैले त विक्षिप्त छन् र आक्रोशित पनि स्थापित मान्यता र पद्धतिको विरुद्ध।

मुलुक दिनप्रतिदिन विदेशी ऋणको दलदलमा फस्दै गइरहेछ। आन्तरिक राजस्वले दैनिक प्रशासनसमेत चलाउन मुस्किल पर्दै आइरहेको छ। सर्वसाधारणको दैनिक जीवन कठोरतम् बन्दै गइरहेको छ। हाम्रा नेताहरू भने आत्मतुष्टिमै रमाइरहेका छन्।

३० वर्षपछि पनि २०४६/४७ को आन्दोलनले स्थापित गरेका नेताहरूकै पछि लाग्नुपर्ने बाध्यता नेपालीको दुर्भाग्य नै हो। लाग्छ विश्वमा सबैभन्दा धेरै नेता उत्पादन गर्ने देश नेपाल नै होला। यहाँ घरैपिच्छे नेता छन्। तर पनि एउटा गतिलो नेता अहिलेसम्म उत्पादन हुन सकेको छैन। विडम्बना नै भन्नुपर्छ अहिले पनि तिनै शेरबहादुर देउवा, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले मुलुक हाँकेको हेर्नुपरिरहेछ।

कोही बसेकै ठाउँमा निदाउँछन् र र्‍याल चुहाउँछन्। कोही आफूले के बोलेको भन्ने पत्तोसमेत पाउँदैनन् र उपहास गर्नमा रमाउँछन्। कोही होली वाइनको चुस्कीमा रमाउँछन्। कोही कपालमा जेल लगाएर ठाँटिँदैमा व्यस्त छन्। कोही वारि र पारिको ‘सिग्लन’ हेरेर के बोल्ने भनेर साइत कुर्छन्।

मुलुक दिनप्रतिदिन विदेशी ऋणको दलदलमा फस्दै गइरहेछ। आन्तरिक राजस्वले दैनिक प्रशासनसमेत चलाउन मुस्किल पर्दै आइरहेको छ। सर्वसाधारणको दैनिक जीवन कठोरतम् बन्दै गइरहेको छ। हाम्रा नेताहरू भने आत्मतुष्टिमै रमाइरहेका छन्। कोही गरिबले सडकपेटीमा वा ठेलागाडामा जीविकोपार्जनका लागि बेच्न राखेको तरकारी सडकमा फालेर तिनीहरूका औजार, ज्यावल, गुडाउने साइकल, ठेला लुटेर रमाउँदैछन्। कोही अर्बौँको ठेक्कामा खेला गरेर खल्ती भर्दै मुलुक खत्तम गर्दैछन्।

ढुंगा र गिट्टीमा हीराको कण देख्ने, खोलाको बालुवामा सुनको लेग्रो देख्नेहरूले जलाशय, नदी, वन, चट्टान र सार्वजनिक बाँझो जमिन वा देवस्थल, धर्मस्थलसमेत के बाँकी राख्दा हुन्? अट्टहास छ अट्टालिकामा शीर्ष भनाउँदा नेताहरूको। सुशासन धोबीखोलामा परेको प्वालबाट बगेर दुर्गन्धित भएको छ।

वाक्क र दिक्क भएका जनता विकल्पको खोजीमा छन् भन्ने संकेत बारम्बार आइरहेका छन्। कसैले यही कुरा बुझेर त्यसलाई भरपूर प्रयोग गरेको पनि देखियो। बिदेसिएका क्षमतावान् र ऊर्जावान नेपाली युवाको विश्वास कमाएको, नेपालभित्रकै प्रतिष्ठित विज्ञ तथा पेसाविद्हरूले भर गरेको विवेकशील पार्टी, विवेकशील साझा हुँदै आधा भयो र यसका नेताहरूको नियत देखिएको दिन नासिएर गयो। सुनिँदैछ फेरि ब्युँझने कोसिस गर्दैछ अरे। विरक्तिएका युवाहरूले विकल्प खोजिरहेका छन्।

यस्तो विकल्प जो राष्ट्रियताको संवर्धन गर्दै लोकको आकांक्षा र समृद्धिको यात्रामा निरन्तर एकलव्य जसरी लागोस्। उसका भुजा बलिया हुन्, निष्ठा निष्कलंक रहोस् र अभीष्ट जनसेवाभन्दा अरू केही विषयले भ्रमित नगरोस्। अहिलेको खोजी मूलभूत रूपमा भन्नुपर्दा तीन विषयको विकल्प खोज्न आवश्यक देखिएको छ; व्यक्ति, सिद्धान्त र शासकीय संरचना। यसलाई विस्तारमा चर्चा गरौँ।

व्यक्ति : माथि चर्चा गरिएका अवस्थाहरूको कारक र यथास्थितिको परिणति, नेतृत्व क्षमता र नेतृत्व गुण हुन्। समयले नेतृत्वको परिवर्तन अपेक्षा राख्दछ। यो तीस वर्षको अवधिमा विश्वमा धेरै परिवर्तन भइसकेको छ। ज्ञान, विज्ञान, सोच, तरिका, तकनिकी व्यवस्था आदिमा आएको परिवर्तनको आयाम धेरै फराकिलो छ। आईटीमा डिजिटल डिभाइड भन्दछन् उन्नत मुलुकहरू। जेनेरेसन एक्स भन्नेहरू पनि छन्। त्यो जेनेरेसन एक्सको चाहना, उत्प्रेरणा, इनोभेसन, उद्यमशीलता र स्मार्टनेस (S.M.A.R.T.) आदिसँग पुरानो पुस्ताको नेतृत्वले कुनै तादात्म्य राख्न सकिरहेको छैन।

साठी वर्ष नाघेको मेरो जेनेरेसनलाई उनीहरू ट्युबलाइट भन्दछन्, अर्थात् बल्न त बल्ने, प्रकाश पनि दिने तर ढिलो गरी बल्ने। परिवर्तनको गति ढिलो भएको रुचाउने जमात। भन्नेले त अमेरिकामा पनि ८० वर्षे राष्ट्रपति छ भन्छन्। मलेसियामा महाथिरले नब्बे वर्षमा पनि शासन चलाए भन्दछन्। कुरो के हो भने शासन, प्रशासन, सुशासनको विधि र प्रक्रियामा संलग्न हुने विज्ञ र विज्ञताको हो। हाम्रो मुलुकचाहिँ नपढेर नै पीएचडी डिग्री पाउने मुलुक हो। त्यसैले नेतृत्वको विकल्प आवश्यक देखिएको हो।

सिद्धान्त : सन् २००८ पछिको विश्व आर्थिक अवस्थाले भिन्न स्वरूप देखाएको छ। विश्व आर्थिक व्यवस्थाले ल्याएको तरंगहरू हाम्रो घरआँगन र चुलोसम्म पनि आइपुग्छ। समसामयिक विश्वमा नाम चलेका अर्थशास्त्रीहरू के भन्न थालेका छन् भने पुँजीवाद र साम्यवाद दुवै असफल भए।

फ्रान्सका नामुद अर्थशास्त्री पिकेटीको विचारमा साम्यवाद या समाजवादसँगको प्रतिस्पर्धामा पुँजीवादले जितेको अनुभूति गरे पनि यो आफैँमा असफलताको बाटोमा हिँडिरहेको छ। असीको दशकदेखि विश्वव्यापीकरण भएको भूमण्डलीकरणको आर्थिक सिद्धान्त फेरि एकपटक डिग्लोबलाइजेसनतर्फ लम्किरहेको छ। विश्वबजार उदारीकरणबाट संरक्षणतर्फ गइरहेको छ। यस्तो अवस्थामा नेपालले लिने नीतिहरू समयसापेक्ष हुन जरुरी छ।

राजनीतिक वादलाई यसले लिने आर्थिक सिद्धान्तले निर्देशन गर्ने सर्वमान्य मान्यतामा विश्वास गर्दा नेपालका कम्युनिस्ट पार्टीहरूले लिएका समान वितरणका वितरणमुखी वेलफियर स्टेटका आर्थिक सिद्धान्तहरू अब काम नदिने भएका छन्। त्यसैगरी समाजवादको बिल्ला भिरेको र लोकतन्त्रको खोल ओढेको नेपाली कांग्रेसले अवलम्बन गरेको अर्धपुँजीवादी, अर्धसाम्यवादी अर्थ नीति पनि पुरानो भइसकेको छ। यस परिदृश्यमा मुलुकलाई गति दिन सक्ने नवधारणासहितको ऊर्जाशील राजनीतिक एवम् आर्थिक सिद्धान्त आवश्यक भएको छ।

शासकीय संरचना : २०७२ को संविधानले परिकल्पना गरेको संघीय स्वरूपको सञ्चालनका लागि दुईदुई पटक आवधिक निर्वाचन भइसकेको छ। यी निर्वाचनहरूले के देखाएका छन् भने बहुमत प्राप्त गरी शासनसत्तामा रहँदा सर्वसत्तावादी हुने प्रवृत्ति दुईदुई पटक संसद् विघटन गरेबाट प्रस्ट भयो।

समावेशी सिद्धान्त नातागोता, इष्टमित्र र आर्थिक लाभको माध्यम बन्यो। शासकीय स्वरूप न हाँस न बकुल्लाको चालजस्तो देखियो। यो न त पूर्ण संसदीय व्यवस्था रह्यो न त समावेशी। निर्वाचन पद्धति अति महँगो, आवधिक निर्वाचनले बहुमतको सरकार दिन असक्षम, भ्रष्टाचार शासकीय परिचय भयो। विकेन्द्रित शासन भनियो तर अधिकारहरूलाई केन्द्रीकृत गर्नमा आनन्द लिइयो। वित्तीय विकेन्द्रीकरणले संघीयताको खर्च धान्न मुस्किल पर्ने अवस्था देखिँदैछ। यस्तो अवस्थामा संघीयता नेपालका लागि सेतो हात्ती भएको देखिँदैछ।

१२ भाइमध्ये को कसले मुख मात्र चलाउँछन्, कलम पनि चलाउँछन् र कति जना अदालतको ढोकामा याचनासहित पुग्दछन्, त्यो हेर्न बाँकी नै छ।  मुख र कलम मात्र चलाएको देखियो भने रविको आरोप पुष्टि हुन्छ।

अतः उपरोक्त कारणहरूले गर्दा राजनीतिक विकल्पको खोजी भएको हो। यसमा प्रत्यक्ष, परोक्ष तथा अपरोक्ष रूपमा सुषुप्त अवस्थामा रहेको विद्रोहका स्वर सतहमा देखिन थालेका छन्। सत्ताको तर मारिरहेकाहरूले भित्तामा लेखिएका अक्षरहरू पढेर बेलैमा सचेत हुन जरुरी देखिन्छ।

मानिसले भन्ने गर्दछन् कि कुनै राजनीतिक सिद्धान्त नभएको, सांगठनिक आधारसमेत नभएको, अनुभवहीन एउटा ठिटो टेलिभिजनमा ठूलो स्वरले कराएकै भरमा संघीय संसद्का लागि भएको निर्वाचनमा २० सिट जित्न कसरी सम्भव भयो? मतदाताले स्वतन्त्र पार्टीका नेता रवि लामिछानेमा पुरानो नेताहरूमा भएको कुटिल, झेली र अकर्मण्य चरित्र खोेजेका होइनन्। उनीहरूले मात्र परिवर्तन खोजेका हुन्।

परिवर्तन स्थापित राजनीतिक दलहरूले दिन सक्ने पत्यारिलो उद्घोषण गरेको भए सायद निर्वाचनको परिणाम अर्कै हुन पनि सक्दथ्यो। अर्को एउटा उदाहरण हेरौँ- त्यो के भने राप्रपाको अध्यक्षले “भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो” भने। यो स्टेटमेन्ट असहज, अपत्यारिलो र असामयिक हो। यद्यपि यही कुरा बुझ्दा बुझ्दै पनि मतदाताले किन मत दिए होलान्?

विकल्प नै अबको रोजाइ हो। त्यही चाहको परिणाम हो रविको स्वतन्त्र पार्टीको उदय। तर जसरी उदाए त्यसैगरी अस्ताउलान् भन्ने पो देखिन थाल्यो। मानिसले उफ्रिन मात्र होइन थामिन पनि जान्नुपर्दछ। अनुभवहीन भनेर सबैले भनेको अवस्थामा अनुभवी खारिएका रणनीतिकारहरूको सुझाव लिएर सम्हालिएर हिँड्नुपर्ने थियो।

‘उत्ताउली गाई बाघले खाई’ भन्ने उखान चरितार्थ गर्न भएन। यिनले हालै उठाएको १२ भाइको किस्सा पनि हेर्न सुन्न लायक नै छ। यस आरोपमा केही दम पनि छ। आरोपित १२ भाइमध्ये को कसले मुख मात्र चलाउँछन्, कलम पनि चलाउँछन् र कति जना अदालतको ढोकामा याचनासहित पुग्दछन्, त्यो हेर्न बाँकी नै छ।  मुख र कलम मात्र चलाएको देखियो भने रविको आरोप पुष्टि हुन्छ। हैन, न्यायको गुहार लगाउँदै अदालत पनि गए भने चाहिँ आरोप आक्रोसको अभिव्यक्ति र फोस्रो लोकरिझ्याइँ सम्झनुपर्ने हुन्छ। हेर्दै जाऊँ, यो मुलुकका राजनेताहरूको निष्ठामा शंका नगरौँ तर प्रतिष्ठा भने दाउमा लागेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =