कोही बाटो नबिर्सिन हिँड्छन्, कोही बाध्यताले…

विवेक विवश रेग्मी २८ माघ २०७९ ११:०२
148
SHARES
कोही बाटो नबिर्सिन हिँड्छन्, कोही बाध्यताले…

कुनै बेला भरियाहरू नुन बोकेर हिँड्ने बाटो अहिले ठेगानाविहीन बनेको छ। भोजपुर, खोटाङ, धनकुटालगायतका ठाउँबाट नुनसहित खाद्यान्न लिन सुनसरीको चतरा झर्ने ढाक्रे र भरिया पुरानो बाटोेले ठेगाना गुमाएपछि आफैँ बेठेगान छन्।

चतराबाट दक्षिणतर्फ अक्करे भीर हुँदै केही गाउँबस्ती छिचोल्दै तमोर तरेपछि धनकुटा र भोजपुरसम्म पुगिन्छ। तर यो बाटो हिँड्ने मानिस अहिले छैनन्। हिँड्दै गरेको भेटिए, किन यो बाटोको यात्रामा हिँडेको भनेर प्रश्न उब्जन्छ नै। किनकि अहिले गाउँसम्मै सप्तकोसीबाट जेटबोट र गाडी पुगिसकेका छन्। प्रायः मानिस गाडी र जेटबोटमै लामो तथा छोटो दूरीको यात्रा गर्छन्।

अघिल्लो शनिबार बाटोमा भेटिएकामध्ये केहीले बाटो नबिर्सिन र केहीले बाध्यताले यात्रा गरेको सुनाए।

भोजपुरको हतुवाढी‍-४ घोडेटारबाट सुनसरीको इटहरी आउँदै गर्दा बाटोमा भेटिएका गंगाबहादुर खड्काले जेटबोट र गाडीमा भाडादर महँगो भएकै कारण यो बाटो हिँडेको सुनाए।

‘१५ मिनेटको बाटोमा ७ सय देखि ८ सय तिर्नुपर्छ, पैसा नहुनेलाई के गर्नु?’ खड्काले भने, ‘आधा घण्टाको बाटो गाडीमा १५ सय लाग्छ, कहिले त १९ सयसम्म लिन्छ।’ उनले आफूले विगतमा यही बाटोबाट नुन बोकेको कुरा स्मरण गरे। पहिला नुन बोक्न हिँड्दा सजिलै लागे पनि अहिले बाटो अप्ठ्यारो महसुस भएको उनी बताउँछन्।

‘अहिले गाडीले नुन पुर्‍याउँछ, पहिले त कति हिँड्यौँ नि यो बाटो,’ उनी भन्छन्, ‘गाडी र बोट गाउँसम्मै पुगे पनि पैसा नहुने मान्छेलाई पत्तो लाग्यो त?’ उनले यो बाटो हिँड्नु आफ्नो बाध्यता रहेको सुनाए। जेटबोट र गाडी गाउँसम्मै पुगे पनि आम्दानीको स्रोत दर्बिलो नहुँदा बेलाबेला यही बाटो हिँड्ने गरेका छन् खड्का।

यात्राका क्रममा भेटिएका हतुवागढी‍-४ कै बद्री विष्टले भने गाउँसम्म जेटबोट पुग्दा आफूहरू खुसी भएको बताए। ‘जेटबोट गाउँसम्मै आइपुग्दा हामी खुसी त छौँ, तर कतिपय मानिस दुःखी पनि छन्,’ विष्टले भने, ‘घरमा पाँच भाइ जागिरे छन्, एउटा किसान छ भने सबैभन्दा बढी दुःखी त्यो किसान हुनुपरेको छ। किसानसँग बोटमा जाने पैसा हुँदैन, उचित आम्दानीको स्रोत हुँदैन।’ उनी किसान अहिले पनि पैदलै हिँड्नुपरेकोमा दुःखी छन्।

सोही ठाउँका कृष्ण कार्कीले स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले कहिलेकाहीँ हिँड्ने गरेको बताए। ‘सुविधा लिनुभन्दा पनि हिँड्दा शरीरलाई फाइदा पनि पुग्छ। पहिला यही बाटो भारी बोकेर हिड्थ्यौँ,’ उनले भने, ‘८‍-१० वर्षपछि यो बाटो हिँड्दा गाह्रो त भयो, तर विगतको सम्झना आयो।’

उनका अनुसार पहिले-पहिले भारी बोकेर हिँडेभन्दा अहिले हिँड्न गाह्रो हुन्छ। ‘बाटोमा भेटिने घर मासिएका छन्। पहिला हामी भारी बोक्न आउँदा यही ठाउँमा कति रात पनि बितायौँ,’ कार्की भन्छन्, ‘घरहरू मासिएसँगै यो बाटो पनि हिँड्नेहरू शून्यजस्तै छन्।’

पहिले हिँडेको बाटो दोहोर्‍याएर हिँड्दा नबिर्सिने उनी बताउँछन्। उनले भने, ‘बाटो नबिर्सिनका लागि भए पनि बेलाबेला हिँड्नुपर्छ भनेर हिँडेका हौँ, तर गाह्रो हुँदोरहेछ।’

पाँच महिनादेखि पदयात्रा

‘चतरा हाइकिङ’का अभियन्ता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका भीषण राईका अनुसार यात्रामा घुम्तीखोला र तांकेरा देखिन्छन्। घुम्तीखोला आसपास रहेका दर्जन बढी घर अहिले रित्तिएका छन्।

‘ढाक्रेहरूका कारण व्यापार व्यवसाय हुन्थ्यो। ढाक्रेहरू आफैँले खाना बनाएर खाँदा दाउरा बिक्री गरिन्थ्यो। होटलमा खाना खाने चलन थिएन,’ उनी करिब डेढ दशक अघितिर फर्किएर भन्छन्, ‘हामी आफैँ पनि यात्रा गर्दा पकाउने सामान आफैँ बोक्ने र घरमूलीहरूसँग दाउरा र भाँडाकुँडा मागेर बाटोको यात्रा गुजार्थ्यौँ।’

सप्तकोसीबाट गाउँसम्मै जेटबोट र गाडी पुगेका कारण बस्ती उजाडिएको छ। तांकेरा गाउँमा थाेरै मात्घर र छन्। यहाँका विपन्नहरू भीरपाखामा काम गरेर जीवन गुजारिरहेका छन्।

पाँच महिनाअघि यही टिमका उनै भीषण र पत्रकार नवराज विष्टले नेतृत्व गरेर ‘चतरा हाइकिङ’ नाम दिइएपछि अहिले निरन्तर पदयात्रा भइरहेको छ। स्थानीय पर्यटन प्रवर्धनसँगै स्वास्थ्यका लागि फाइदा पुग्ने भएकाले ‘हाइकिङको कन्सेप्ट’ ल्याएको नवराज बताउँछन्। उनका अनुसार हाइकिङकै क्रममा बाटोमा भेटिनेहरूसँग स्थानीय ठाउँको पुरात्तात्त्विक महत्त्वबारे बुझ्ने काम पनि हुन्छ।

‘हिँड्नु स्वास्थ्यका लागि फाइदा हो। हामी आफैँ हिँड्ने काम मात्रै गरेका छैनौँ,’ उनले भने, ‘हिँड्नका लागि अरूलाई उत्साहित पनि गरिरहेका छौँ। सँगै आफूले हिँडेका ठाउँमा समाचार र स्टोरीको खोजी पनि हुन्छ।’

‘हाइकिङ ग्रुप’कै युवराज भट्टराई र गोकुल थापाले पनि युवा अभियानमा साथ दिइरहेका छन्। युवराज भन्छन्, ‘पहिले‍-पहिले ढाक्रे र भरिया हिँडेको बाटोमा अहिले त हामी रहरले पदयात्रा हिँड्यौँ, तर कतिपय गाउँले अहिले पनि कोही रहरले हिँड्छन्, धेरैजसो बाध्यताले हिँडिरहेका छन्।’

जेटबोट व्यवस्थित गर्न मेयरको चासो

सप्तकोसी नदिमा जेटबोट सञ्चालन गर्दै आएका व्यवसायीहरूसँग बराहक्षेत्र नगरपालिकाले छलफल गरेको छ।

सप्तकोसी नदिमा चतराबाट भोजपुरको कोप्चेसम्मको जलमार्गमा सञ्चालन भइरहेको जेटबोट व्यवसायलाई व्यवस्थित बनाउन नगरपालिकाले व्यवसायीहरूसंग छलफल गरेको हो। व्यवसायीहरूले कानुनी झमेला, असुरक्षा र मार्गलाई विस्तार तथा व्यवस्थापनमा आइपर्ने समस्याबारे जानकारी गराएका थिए।

बराहक्षेत्रका मेयर रमेश कार्कीले बराहक्षेत्रको पर्यटन र बराहक्षेत्रको नामलाई जेट बोटले प्रचारप्रसार तथा पर्यटनलाई आकर्षण गराउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै थप व्यवस्थित गर्न चासो देखाएका छन्।

‘जेटबोट लगायतका साहसिक व्यवसायलाई प्रवर्धन र व्यवस्थित बनाउन कार्यविधिको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘व्यवसायीलाई प्रोत्साहन, सुरक्षा, व्यवस्थापन, भाड दरको व्यवस्थापनसँगै जेटबोट व्यवसायलाई स्थानीय सरकारसँग करको दायरामा ल्याउन खोजेका छौँ।’

हाल बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित चतरामा स्टेसन बनाएर बराहक्षेत्र आधा दर्जन भन्दा बढी कम्पनीले लामो तथा छोटो दूरीका जेटबोट सञ्चालन गर्दै आएका छन्।

प्रकाशित: २८ माघ २०७९ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =