सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाह र दुई मन्त्रीले लिए शपथ

हिमाल प्रेस २७ माघ २०७९ १६:१८ | Friday, February 10, 2023
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाह र दुई मन्त्रीले लिए शपथ

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले शाहलाई शपथ खुवाएका हुन्।

नेकपा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि कांग्रेसका शाह बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। शाह संविधानको धारा १६८ (३)बमोजिम प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हुन्।

अब शाहले पनि नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। मुख्यमन्त्रीको शपथ लिएसँगै शाहले कांग्रेस र नेकपा एकीकृत समाजवादीका एकएक जनालाई समेटेर सानो आकारको मन्त्रिपरिषद्‌ बनाएका छन्।

उनले कांग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरेका हुन्। मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

५३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन २७ सांसदको समर्थन आवश्यक पर्छ। यहाँ निर्णायक भने नागरिक उन्मुक्ति पार्टी रहेको छ। पार्टीले यसअघिका मुख्यमन्त्री रावललाई आफ्ना माग पुरा नगरेको भन्दै विश्वासको मत दिएन र एकमहिनामै सरकार ढल्यो। अहिले पनि आफ्ना माग पुरा नगरे कसैलाई पनि समर्थन नगर्ने उक्त पार्टीको अडान कायमै छ।

नागरिक उन्मुक्तिले जेलमा रहेका रेशम चौधरीसहित मुद्दा खेपिरहेका आफ्ना पार्टीका नेता कार्यकर्ता बिनाशर्त रिहाइ हुनुपर्ने माग अघि सारेको छ। सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९ सांसद छन्। यहाँ कांग्रेस नै सबैभन्दा ठूलो दल हो। त्यस्तै नेकपा माओवादीका सभामुखसहित ११ जना, नेकपा एमालेका उपसभामुखसहित १० जना, नागरिक उन्मुक्तिका ७ जना, एकीकृत समाजवादीका ४ जना, राप्रपाका १ जना र १ जना स्वतन्त्र सांसद छन्।

प्रकाशित: २७ माघ २०७९ १६:१८ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast