काठमाडौँ- राप्रपाका सहअध्यक्ष रवीन्द्र मिश्रले विवेकशील साझाको प्रथम अधिवेशन सफलताको शुभकामना दिएका छन्।
आजबाट काठमाडौँमा सुरु हुने विवेकशीलको प्रथम महाधिवेशन सफल बनाउन सामाजिक सञ्जालमार्फत मिश्रले शुभकामना दिएका हुन्। विवेकशीलका पूर्वसंयोजक समेत रहेका मिश्रले आफ्नो पार्टी परिवर्तनको निर्णयले पार्टीलाई जटिलता ल्याएको औल्याएका छन्। तर जटिलतासँग जुध्दै सम्हालेर लैजानेप्रति नमन समेत भनेका छन्।
मिश्रले केही महिनाअघि मात्रै विवकेशील साझा छाडेर राप्रपा प्रवेश गरेका थिए। गएको स्थानीय निर्वाचनसम्म उनी नै पार्टीका संयोजक थिए।
पार्टीले चुनावमा लज्जास्पद हार व्यहोरेको भन्दै मिश्रले संयोजकबाट राजीनामा दिएका थिए। पार्टीमा राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा उठाएपछि विवाद बढेको थियो। अन्ततः प्रतिनिधिसभा निर्वाचन अघि उनी राप्रपा प्रवेश गरेका थिए।
यता विवकेशील साझाले भने उनलाई आजको कार्यक्रममा निम्तो दिएको छैन। बाबुराम भट्टराई, घनश्याम भुसाल, सीके राउतलाई बोलाए पनि मिश्रलाई नबोलाउँदा सामाजिक सञ्जालमा चर्चा भएको थियो।
विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु। मेरो ‘मार्ग परिवर्तन’ले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन! हाम्रो ‘विचार’मा अन्तर भए नि ‘नियत’मा अन्तर छैन भन्नेमा विश्वस्त छु।
— Rabindra Mishra (@RabindraMishra) February 10, 2023