लिड्ससँग बराबरीमा रोकिएपछि टान हागको आक्रोश : यस्तो प्रदर्शन स्वीकार्य छैन

हिमाल प्रेस २६ माघ २०७९ ९:४३
8
SHARES
लिड्ससँग बराबरीमा रोकिएपछि टान हागको आक्रोश : यस्तो प्रदर्शन स्वीकार्य छैन

काठमाडौँ- लिड्स युनाइटेडसँग २–२ को बराबरीमा रोकिएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले आफ्ना खेलाडीहरूको आलोचना गरेका छन्। प्रशिक्षकवीहिन टिमसँग बराबरीमा रोकिनु अस्वीकार्य भएको उनको प्रतिक्रिया थियो।

लिड्सले केही दिनअघि मात्र प्रशिक्षक जेसी मार्चलाई बर्खास्त गरेको थियो। अन्तरिम प्रशिक्षक माइकल कुबालाको नेतृत्वमा ओल्ड ट्राफोर्ड पुगेको लिड्सले विल्फ्रिड नोन्टोको गोलमार्फत पहिलो मिनेटमै अग्रता लिएको थियो।

खेलको सुरुवातमै पछि परेको युनाइटेड तत्काल खेलमा फर्कने अपेक्षा गरिएको थियो। तर युनाइटेडले गोल गर्न सकेन। बरु दोस्रो हाफको सुरुवातमै गोल खायो। यसपालि राफाएल भारानले आफ्नै पोस्टमा गोल गरे।

दोस्रो हाफको ६२ औँ मिनेटमा भने युनाइटेडले गोल फर्काउन सक्यो। मार्कस रासफोर्डले यो सिजनको २० औँ गोल गर्दै युनाइटेडको आश जगाए। वाउट वेघ्रोस्टले सेन्ट्रल फरवार्डको पोजिसन ओगट्दा विंगमा खेलेका रासफोर्डले डिएगो डालोटको क्रसमा गोल गरेका थिए। विश्वकपपछि १४ खेल खेलेका रासफोर्डको यो १२ औँ गोल हो।

आठ मिनेटपछि युनाइटेडले खेल बराबरीमा ल्यायो। जेडोन सान्चोले गोल गरेसँगै युनाइटेड कम्तीमा एक अंक बटुल्ने बाटोतर्फ उन्मुख भएको थियो।

‘डर्बीमा एक अंक बटुल्नु खराब नतिजा होइन। त्यो पनि २–० ले पछि परेको स्थितिलाई उल्टाएर। तर फेरि के पनि सत्य हो भने डर्बीमा यो किसिमको सुरुवात हुनु दुःखद हो। यस्तो प्रदर्शन स्वीकार्य हुन सक्दैन। हामीले यो खेल जसरी हुन्छ जित्नु पर्ने थियो। किनभने यो महत्त्वपूर्ण लडाइँ थियो। तर हामी लडाइँका लागि तयार थिएनौँ,’ टेन हागले भने।

यो नतिजापछि युनाइटेडको २२ खेलबाट ४३ अंक भएको छ। र तेस्रो स्थानका यथावत छ। एक खेल कम खेलेको न्युकासल युनाइटेड ४० अंकसहित चौथो स्थानमा छ। न्युकासलको जस्तै २१ खेल खेलेको म्यानचेस्टर सिटी युनाइटेडभन्दा दुई अंकले अघि रहँदै दोस्रो स्थानमा छ।

उता लिड्सका लागि भने युनाइटेडबाट खोसेको एक अंक महत्त्वपूर्ण रह्यो। यही एक अंकका कारण लिड्स रेलिगेसन क्षेत्रबाट उक्लिएको छ। १६ औँ स्थानमा पुगेको लिड्सको १९ अंक भएको छ। जुन १८ औँ स्थानमा रहेको एभरटनको भन्दा एक मात्र बढी हो। लिड्स र एभरटनसँगै, वेस्टह्याम युनमइटेड, बर्नमाउथ र साउथह्याम्पटन ‘रेलिगेसन ब्याटल’ मा छन्।

प्रकाशित: २६ माघ २०७९ ९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =