काठमाडौँका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु

हिमाल प्रेस २५ माघ २०७९ १४:४६
8
SHARES
काठमाडौँका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु प्रतीकात्मक तस्बिर।

काठमाडौँ– काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य-मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएको छ।

०७७ मंसिर २५ गतेको सम्झौताअनुसार बत्ती जडान कार्यको प्रक्रिया अघि बढेको हो।

बत्तीको कम्पनी, थान र कुन क्षमता, मर्मतसम्भार, महसुल तिर्नेजस्ता विषय स्पष्ट भएको महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले बताए। यसका लागि ११ करोड ९९ लाख ७४ हजार ९ सय रुपैयाँ लागत अनुमान गरिएको छ।

जसमा कामपाले ६० र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने छन्। रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो।

स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरूपता कायम गर्न साझेदारसँग सहकार्य गरिएको विभागका प्रमुख थापाको भनाइ छ।

लैनचौरदेखि महाराजगञ्ज, माइती घर मण्डलादेखि बागबजार, बागबजारदेखि शीतल निवास, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमल पोखरी र चावहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन्।

यसैगरी विद्युत् प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकी, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेलवरिपरि बत्ती जडान हुनेछन्।

जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि कामपालाई हस्तान्तरण गरिनेछ। सडक बत्ती प्रयोग भएबापत्को शुल्क कामपाले प्राधिकरणलाई बुझाउनेछ। कामपाको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ।

बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने विश्वास कामपाको छ। उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीले भन्दा बढी उज्यालो दिने र त्यसको प्रकाश साँझको समयमा बढी चम्किलो हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =