पार्टीभित्रै ‘चेपुवा’ मा माधव नेपाल

हिमाल प्रेस २४ माघ २०७९ २०:०१
56
SHARES
पार्टीभित्रै ‘चेपुवा’ मा माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल पक्ष बलियो देखिएको छ। पार्टी निर्माणमा अध्यक्ष माधवकुमार नेपालको भूमिका रहे पनि स्थानीय तह, प्रदेशसभा/प्रतिनिधिसभा चुनावपछि उनी कमजोर बनेका हुन्।

पार्टी बैठकमा पछिल्लो राजनीतिक गतिविधिमा एकीकृत समाजवादीको भूमिकालाई लिएर अध्यक्ष नेपालको आलोचना हुने गरेको छ। हालै सम्पन्न पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठकमा पनि नेताहरूले अध्यक्ष नेपालको कार्यशैलीमाथि असन्तुष्टि जनाएका थिए।

पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा नेपालको ‘सुस्त निर्णय नीतिका’ कारण पार्टी किनारा लागेको नेताहरूको आरोप थियो। एक नेता भन्छन्, ‘अध्यक्षको कमजोर रणनीति, अस्पष्ट कार्ययोजनाका कारण पार्टी झन् कमजोर हुन सक्नेमा हामी गम्भीर छौँ। यस विषयमा पार्टी बैठकमा अध्यक्षको आलोचना हुने गरेको छ।’ सोही कारण नेपाल चेपुवामा पर्दै गएको ती नेताको बुझाइ छ।

नेपाल कार्यकारी भूमिका रहे पनि संगठन र सिद्धान्तमा खनालको वर्चस्व छ। खनाल एमालेमा रहँदा जबजको विरोध गर्थे। एकीकृत समाजवादी निर्माणपछि खनालले जबजलाई हटाइदिए भने नेपाल जबजकै पक्षधर छन्।

‘जबज अब समय सान्दर्भिक छैन। हामी आमूल परिवर्तनका लागि सिद्धान्त फेर्नुपर्छ’, खनाल भन्छन्, ‘अब समाजवादको यात्रामा अघि बढ्नुपर्छ। समाजवादी सिद्धान्तमा अघि बढ्न जबजले हुँदैन।’
समाजवादीले माक्र्सवाद, लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मानेको छ। नेपालले खनालको सैद्धान्तिक प्रस्तावमा हस्ताक्षर गरेका छन्।

पछिल्लो समय समाजवादीको बैठक निरन्तरजसो बस्दै आएको छ। तर निर्णयविहीन हुन्छ। यसो हुनुको कारण नेपाल-खनाल टकराव रहेको नेताहरूको बुझाइ छ। नेपालले अघि सारेको प्रस्ताव खनाल पक्षले नमान्दा अनिर्णीत हुने गरेको हो।

‘पार्टीमा बैठक बसेको बस्यै भए पनि निर्णयविहीन छ। कारण के हो थाहा भएन’, पार्टी नेता विरोध खतिवडा भन्छन्। पार्टीमा संगठन निर्माणसमेत हुन सकेको छैन। पार्टीको तल्लो तहसम्म दुवै नेताका गुट सक्रिय छन्।

जनसंगठनमा समेत खनालकै दबदबा छ। यही कारण नेपालमाथि बारम्बार प्रहार गर्छन्। ‘सानै विषयलाई पनि अनावश्यक लामो बनाउने गरिएको छ। एउटै बैठकले केही गर्न सक्दैन’, अध्यक्ष नेपाल निकट एक नेताले भने, ‘बैठक बस्ने तर निर्णय नहुँदा हास्यास्पद जस्तो देखिन्छ।’

केही महिनाअघि एमसीसीका विषयमा नेपाल-खनालबीच टकराव थियो। नेपाल तत्कालीन गठबन्धन बचाउन एमसीसीका पक्षमा थिए भने खनाल विपक्षमा थिए। संसद्बाट एमसीसी अनुमोदन हुने दिन खनाल उपस्थित नै भएनन्।  चुनावमा पार्टीको टिकट वितरणमा पनि समस्या थियो। नेपालले आफू पार्टीभित्र घेराबन्दीमा पर्ने गरेको गुनासो गर्दै आएका छन्।

अर्का नेता मुकुन्द न्यौपाने पनि नेपालको विपक्षमा छन्। पाँचौँ विस्तारित केन्द्रीय कमिटीको बैठकमा न्यौपानेले नेपालको विपक्षमा प्रस्ताव ल्याएका थिए।

नेपालले ‘वाम एकताको’ प्रस्ताव गरे पनि एमालेसँग एकता गर्न नहुने बताएका थिए। तर न्यौपानेले ‘काउन्टर प्रस्ताव’ ल्याउँदै एमालेसहितको विस्तृत एकताको विषय उठाए। उनले पार्टीभित्र स्वार्थी र सत्ताभोगी बढेको आरोप लगाए। नेपालले खनाल र न्यौपाने मिलेर आफूलाई हमला गरेको दुःखेसो गरेका छन्।

नेपाल-खनालबीच टकरावका कारण वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गरेनन्। खनाल गौतमप्रति असन्तुष्ट थिए। जबज छाड्न नसक्ने बरु गौतम नभित्र्याउने खनालको अडान थियो।

नेपालले पार्टी कार्यालयमै बोलाएर गौतमलाई एकताका कुरा गरेका थिए। करिबकरिब गौतम समाजवादी भित्रिनेमा सहमत थिए। ‘सिद्धान्तमा सहमत हुन सकिँदैन भने मिल्नुको तुक थिएन,’ खनाल भन्छन्, ‘वामदेवजी मात्र होइन, अरू जोकोही पनि।’ नेपालको निर्णयविरुद्ध खनाल विपक्षमा उभिए। यही कारण तत्काललाई वामेदव समाजवादी भित्रिनेमा रोक लाग्यो।

खनालकै अडानका कारण वामदेव गौतम र प्रदीप नेपाल पार्टीमा भित्रिन चाहेनन्। जबजलाई नमानेसम्म पार्टीमा प्रवेश नगर्ने अडान उनीहरूको थियो।

अन्य पार्टीसँग एकता बन्द

एकीकृत समाजवादीले अन्य वामपन्थी पार्टीसँग एकता गर्न कार्यदल गठन गर्‍यो। महासचिव बेदुराम भुसालको संयोजकत्वमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको कार्यदल थियो। यसले अन्य पार्टीसँग छलफल पनि गर्‍यो।

माओवादी र जनता समाजवादी पार्टी (जसपा)सँग औपचारिक छलफल पनि गर्‍यो। तर खनाल यस विषयमा असन्तुष्ट थिएनन्। खनालले एमालेसहितको एकताको कुरा उठाएपछि तत्कालका लागि एकता टरेको छ।

‘सबै दलसँग कार्यगत एकता गर्न सकिन्छ। हिजो कांग्रेससँग पनि कार्यगत गठबन्धन भएकै हो। तर कुनै पार्टीसँग एकता तत्काल सम्भव छैन’, सम्मानित नेता खनाल भन्छन्। उनी अबको पाँच वर्ष संगठन विस्तारमा लाग्नुपर्ने र कसैसँग एकता नगर्ने पक्षमा छन्।

‘यस विषयमा पार्टीको केन्द्रीय कमिटी बैठकमा घनीभूत छलफल भयो। संगठन विस्तार नगरी एकतामा लाग्दा पार्टी झनै कमजोर बन्छ भन्ने राय रह्यो’, पार्टी प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले भने, ‘अब पाँच वर्ष पार्टी सुदृढीकरणमा लाग्ने हो।’ पार्टी केन्द्रीय कमिटी बैठकले भने संविधान रक्षाका लागि एकताबद्ध भई अघि बढ्न आह्वान गरेकोछ।

पार्टीको आइतबार सम्पन्न बैठकको निर्णयमा भनिएको छ, ‘समाजवादी कार्यदिशा अँगालेका सम्पूर्ण वामपन्थी र कम्युनिस्ट पार्टीहरूलाई संविधान, लोकतन्त्र र राष्ट्रिय सर्वाभौमिकताको रक्षा गर्दै समाजवाद उन्मुख आर्थिक-सामाजिक रूपान्तरणका लागि एकताबद्ध भई अगाडि बढ्न यो बैठक आह्वान गर्दछ।’

भ्रातृ संगठनमा पनि खनालको दबदबा छ। समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली अध्यक्ष नेपाल पक्षधर हुन् भने महासचिव आरती लामा खनाल निकट हुन्।
युवा संघका अध्यक्ष नरेश शाही र महासचिव जीएम खनाल पक्षका। उपाध्यक्ष नितेश पौडेल नेपाल पक्षका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =