राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउँछौँ : शेखर कोइराला

हिमाल प्रेस २४ माघ २०७९ १६:११
4
SHARES
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउँछौँ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको बताएका छन्। सौराहामा भइरहेको नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनको आज (मंगलबार) उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन ओइटिङ’ हो,’ उनले भने, ‘अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा छ, यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा कांग्रेसमा छलफल भइरहेको छ।’

यस्तै उनले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन्। उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदाता सँगसँगै कांग्रेस रहेको बताएका हुन्।

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ। उनले भने, ‘तपाईं मतदाताहरूले फेरि दुःख पाउनु पर्‍यो। ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाईंहरू लाग्नुस्।’

उनले अन्य राजनैतिक दलहरूसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताए। ‘सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ,’ उनले भने। प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =