६ लेन सडक निर्माणमा इटहरीका मेयरको चासो

हिमाल प्रेस २३ माघ २०७९ २०:२७
10
SHARES
६ लेन सडक निर्माणमा इटहरीका मेयरको चासो सडकको अवस्थाबारे जानकारी लिँदै मेयर पौडेल। तस्बिर-विवेक विवश रेग्मी/हिमाल प्रेस

इटहरी– निर्माणाधीन ६ लेन सडकमा इटहरीका मेयर हेमकर्ण पौडेलले चासो देखाएका छन्। इटहरी २० तरहराको पानीपियादेखि धरान जोड्ने सेउती पुलसम्म सर्वसाधरणहरूलाई दैनिक आवतजावत गर्न सास्ती भएको भन्दै मेयर पौडेलले तत्काल काम सक्न निर्देशन दिएका छन्।

तरहरादेखि सेउतीसम्मको ५ किलोमिटर सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको भन्दै सोमबार स्थलगत निरीक्षण गर्दै मेयर पौडेलले चाँडै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। लामो समयदेखि ठेकेदार पक्षको लापरबाहीले काम समयमा नसकिएको भन्दै तत्काल काम सक्नका लागि निर्देशन दिएको बताए।

‘तरहरादेखि सेउती पुलसम्मको बाटो नबन्दा यात्रुलाई सकस हुँदै आएको समस्या आएकाले आज निरीक्षण गरी काम तत्काल सुरु गरी सक्न निर्देशन दिएको छु,’पौडेलले भने,‘करिब ३ महिनाभित्र पूर्ण रूपमा काम सम्पन्न गर्ने जानकारी पाएको छु।’

मेयर पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेतालगायतले स्थलगत निरीक्षण गरेका थिए। निर्माणाधीन ६ लेन सडकको सेउतीदेखि धरानको तीनकुनेसम्म सडक निर्माण सम्पन्न भइसकेको छ। यस्तै, इटहरीदेखि तरहरास्थित पानीपियासम्मको करिब ५ किलोमिटर सडकको काम पनि यसअघि नै सम्पन्न भइसकेको छ।

इटहरीदेखि विराटनगर लाइनमा पनि काम भइरहेकाले निर्माण रोकिएको ठाउँमा तत्काल काम अगाडि बढाउन मेयर पौडेलले चासो देखाएका हुन्। पानीपिया क्षेत्रमा भेटिएका ठेकेदार पक्षका व्यवस्थापक तारा खड्कालाई सोमबार मेयर पौडेलले भेटेर काम चाँडै सक्नका लागि निर्देशन दिएका हुन्।

रानी-विराटनगर-इटहरी-धरान सडक योजनाका प्रमुख इन्जिनियर धनकुमार शाक्यलाई पनि यसअघि उपमहानगरपालिकामा नै बोलाएर ६ लेन सडक विस्तारको काम छिटो गर्ने विषयमा छलफल गरिएको थियो।

मुख्य बजार क्षेत्रमा ६ लेनकै सडक निर्माण भए पनि तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्म भने चारकोसे वनक्षेत्र पर्ने भएकाले यहाँ ४ लेन सडक विस्तार गर्नेगरी ठेक्का लागेको छ। तर, काम सुस्त गतिमा हुँदा दुःख पाइएको स्थानीय सर्वसाधारणको गुनासो छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =