राजस्व चुहावट आरोपमा ६ वटा मुद्दा दायर

हिमाल प्रेस २२ माघ २०७९ १६:०१
4
SHARES
राजस्व चुहावट आरोपमा ६ वटा मुद्दा दायर

काठमाडौँ– राजस्व अनुसन्धान विभागले पछिल्लो तीन महिनाको अवधिमा राजस्व चुहावटका छ मुद्दा दायर गरेको छ। विभागले आइतबार प्रेस नोट जारी गर्दै गत कात्तिक दोस्रो सातायता राजस्व चुहावटसम्बन्धी ६ र विदेशी मुद्रा अपचलनसम्बन्धी ५ वटा मुद्दा दायर गरेको जनाएको छ।

यस्ता वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई कारबाही भएको विभागले जनाएको छ।

विभागका अनुसार पछिल्लो तीन महिनामा राजस्व चुहावटका एक सय ९९ सूचना आएका थिए। जसमध्ये ७६ सूचनामाथि थप अनुसन्धानका लागि विभिन्न निकायमा लेखि पठाएको र छ सूचनामाथि अनुसन्धान टुंग्याएर मुद्दा दर्ता भएको विभागले जनाएको छ।

दायर भइसकेका छ मुद्दामा ८ प्रतिवादीलाई ६४ करोड ३१ लाख रुपैयाँ बराबर सजाय माग दाबी गरिएको छ। यही अवधिमा विदेशी विनिमयको अपचलनतर्फ ६ सूचना आएकामा ५ मुद्दा दायर भएका छन्। ६ जनाविरुद्ध ५२ लाख ३३ हजार रुपैयाँ बराबर माग दाबी गरी मुद्दा दायर गरिएको प्रेस नोटमा उल्लेख छ।

वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई ५८ लाख १८ हजार बराबर जरिवाना गरिएको विभागले जनाएको छ। आर्थिक सुशासन कायम गर्न पछिल्लो समय राजस्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणलाई प्रभावकारी बनाउँदै लगिएको विभागले दाबी गरेको छ।

‘राजस्व चुहावटमा संलग्न व्यवसाय, फार्म तथा व्यक्तिको कारोबारस्थलमा विभागले अनुमगन बढाउने, कारोबारस्थलबाट कागजात नियन्त्रणमा लिने, अनुसन्धान गर्ने र कानुनले तोकको सीमाभित्र तथा अभियोजन गर्ने वा कर निर्धारण गर्ने काम भएको छ,’ प्रेस नोटमा उल्लेख छ।

सरकारले पछिल्लो केही समय आयातमा कडाइ गरेका चिनी, कपडाजन्य सामान, मदिरा तथा विद्युतीय सामानमा चोरी पैठारी बढी हुनसक्ने भन्दै विभागले अनुगमन बढाएको जनाएको छ।

यस्तै भन्सार बिन्दु प्रयोग नगरी गोदामस्थलमा स्रोत नखुलेका मालवस्तुको भण्डारण र कारोबार गरेको सूचनाको आधारमा यस्ता क्रियाकलापमा संलग्न व्यवसायीलाई अनुसन्धानको दायरामा ल्याएको विभागले जनाएको छ।

प्रकाशित: २२ माघ २०७९ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =