लिग जित्न सकिएन भने बहाना बनाउने छैनौँ : मिकेल आर्टेटा

हिमाल प्रेस २१ माघ २०७९ १५:४५
10
SHARES
लिग जित्न सकिएन भने बहाना बनाउने छैनौँ : मिकेल आर्टेटा

काठमाडौँ- यसपल्ट इंग्लिस प्रिमियर लिग जित्न नसके आफूहरूसँग कुनै बहाना नहुने प्रशिक्षक मिकेल आर्टेटाले बताएका छन्। सिजनको बीचमा नयाँ खेलाडी थपेपछि आफूहरू थप बलियो भएको र यसले उपाधि दौडमा सहयोग गर्ने उनको भनाइ थियो।

सन् २००४ पछि लिग च्याम्पियन बन्न नसकेको आर्सनल हाल शीर्षस्थानमा छ। च्याम्पियन सिटीभन्दा पाँच अंकले अघि रहेको आर्सनलले ‘जनवरी ट्रान्सफर विन्डो’ मा तीन खेलाडी अनुबन्ध गरेको थियो।

पाँच करोड पाउन्डभन्दा बढी खर्च गरेर मिकेल आर्टेटाले अनुभवी मिडफिल्डर जर्जिन्हो, फरवार्ड लियान्द्रो ट्रोसाडए र रक्षक याकुब किविओरलाई टिममा भित्र्याएका छन्।

‘हो हामीसँग अब कुनै बहाना रहने छैनन्। नयाँ खेलाडी थपिएका छन्। टिमका रुपमा मेहनत गर्नुछ। सही ढंगले अभ्यास गर्नुछ। अनि सम्भवसम्म सबै खेल जित्नुछ,’ मिकेल आर्टेटाले भने।

आर्सनल अझैँ अरु खेलाडी थप्ने पक्षमा थियो। युक्रेनी विंगर मिखाइलो मुड्रिक आर्टेटा र ब्राइटनका मिडफिल्डर मोसेस काइसेडो आर्टेटाको रोजाइमा थिए। तर मुड्रिकलाई चेल्सीले अनुबन्ध गर्‍यो भने काइसेडोलाई ब्राइटनले बेच्न मानेन।

‘सरुवा बजारमा हामीले जे जति गर्न सक्यौँ, त्यसमा म खुसी छु। हामी जानकार थियौँ, जनवरीको बजार हाम्रा लागि सहज हुने छैन भनेर। त्यही पनि हाम्रो उद्देश्य तीन मुख्य पोजिसनका खेलाडी अनुबन्ध गर्ने थियो। त्यसमा हामी सफल भयौँ,’ आर्टेटाको भनाइ थियो।

गाब्रियल मार्टिनेलीले आर्सनलसँग नयाँ सम्झौता गरेको खबरले आर्टेटा प्रफुल्लित देखिए। ब्राजिलका फरवार्ड मार्टिनेलीले यो सिजन आर्सनलका लागि सात लिग गोल गरिसकेका छन्।

‘उनी प्रतिभावान् खेलाडी हुन्। उनले केही पक्षमा अझ मेहनत गर्न बाँकी छ। तर साँच्चै भन्दा यो सिजन उनको प्रदर्शन तारिफयोग्य छ,’ २१ वर्षीय फरवार्डबारे आर्टेटाले भनेका छन्।

आर्टेटाका अनुसार बुकायो साका र विलियन सालिबाले पनि चाँडै नै आर्सनलसँग सम्झौता नवीकरण गर्नेछन्।

प्रिमियर लिगमा शनिबार साँझ आर्सनलले एभरटनको सामना गर्ने तालिका छ। आर्टेटाले आर्सनललाई आफ्नो पूर्वक्लबविरुद्ध हालसम्म जित दिलाउन सकेका छैनन्। सिटीसँगको दूरी आठ अंकमा पुर्‍याउने लक्ष्यका साथ गुडिसन पार्कमा ओर्लिदा आर्सनल पूर्णरुपमा सचेत भने हुनेछ। किनभने एभरटन सिन डाइचको प्रशिक्षणमा पहिलो खेल खेल्दैछ।

‘हामीले एभरटनविरुद्धका पछिल्ला खेलहरू जित्न सकेका छैनौँ। गुडिसन पार्कमा एभरटनको सामना गर्न त्यसै पनि सजिलो हुँदैन। अहिले त झन् एभरटनमा नयाँ प्रशिक्षक आएका छन्। त्यसकारण यो खेल पक्कै सजिलो हुनेछैन,’ आर्टेटाले भनेका छन्।

प्रकाशित: २१ माघ २०७९ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =