सन्दीपको निलम्बन फुकुवाविरुद्ध माइतीघरमा प्रदर्शन

दिपेश श्रेष्ठ २१ माघ २०७९ १४:२९
10
SHARES
सन्दीपको निलम्बन फुकुवाविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ– नाबालिक बलात्कारका आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले निलम्बन फुकुवा गरेको विरोधमा माइतीघरमा गरिएको प्रदर्शन गरिएको छ।

उनीहरूले ‘बलात्कारी रमाउँदै, पीडित डराउँदै’ ‘चतुर चन्दको चातुर्‍याइँ, बलात्कारीको हर्षबढाइँ’ ‘मेरो राष्ट्रिय टिममा बलात्कारी अभियुक्त हुनु हुँदैन’ जस्ता प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका छन्।

नागरिक समाज, महिला अधिकारकर्मी र बुद्धिजिवीहरूले पनि सन्दीपलाई क्यानले निलम्बन फुकुवा गरेको निर्णयविरुद्ध आपत्ति जनाइरहेका छन्।

सन्दीपले बलात्कार गरेको भन्दै एक नाबालिगले भदौ २१ गते प्रहरी वृत्त गौशलामा जाहेरी दिएकी थिइन्। जाहेरी पर्दा नेपालबाहिर रहेका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। त्यसको भोलिपल्ट क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। कात्तिक १८ गते काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

मुद्दाको छिनोफोनो नहुँदै सन्दीपको निलम्बन फुकुवा गरेपछि क्यानको चौतर्फी आलोचना भइरहेको छ। नेपाल टि२० लिग विवादित बनेपछि अप्ठ्यारोमा परेको क्यानले सन्दीपको मामलामा अशोभनीय निर्णय गर्दा भने अप्ठ्यारो मानेको देखिएन।

नाबालिगमाथि बलात्कार गरेको अभियोग पुष्टि भएमा सन्दीपलाई १० वा १२ वर्षसम्म कैद सजाय हुनसक्ने स्थिति छ। तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिने अवस्था छ भनेर उच्च अदालतले पनि स्वीकार गरेको छ। तर क्यान भने सन्दीप दोषमुक्त भइसके झैँ गरी निर्णय गरिरहेको छ।

                                                                                                                                                                                                                                                                                     तस्बिरहरू-दिपेश श्रेष्ठ/हिमाल प्रेस
प्रकाशित: २१ माघ २०७९ १४:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =