बुटवलमा बाँदर आतंक

विनोद परियार १९ माघ २०७९ ६:४४
6
SHARES
बुटवलमा बाँदर आतंक बुटवलको एक घरमा पसेका बाँदर। तस्बिर : हिमाल प्रेस

बुटवल बजारको उत्तरतर्फ चुरे पहाड छ। पहाडमा जंगल भए पनि बाँदरका लागि चाहिने आहारा छैन।  खानेकुराकै खोजीमा सहर पसेका बाँदरले बालबालिकाले खाजा वा खाना खोसेर खाइदिन थालेका छन् भने धपाउन खोज्दा आक्रमण हुन थालेपछि सर्वसाधारण हैरान छन्।

बुटवल- बुटवलका जनप्रतिनिधिका लागि टाउको दुखाइ बनेको छ बाँदर आतंक। दिनहुँजसो बाँदरको आक्रमणबाट घाइते हुने क्रम बढ्न थालेपछि जनप्रतिनिधिमाथि बाँदर आतंकबाट मुक्ति दिलाउन दबाब पर्न थालेको छ।

पहाडी भेगमा बाँदरले कृषि उपज नष्ट गर्ने घटना नयाँ होइन। बुटवल बजारमै बाँदरका कारण मानिस हिँडडुल गर्न र घरमा खानेकुरा लिएर बस्न नसक्ने अवस्था उत्पन्न भएपछि स्थानीयले उपमहानगरपालिका गुहारेका छन्।

पहाडको फेदीमा रहेको बुटवलमा जंगलबाट आहारा खोज्दै बाँदर बस्ती छिर्न थालेपछि समस्या भएको हो। बुटवलको पुरानो बटौली बजारमा बाँदरका कारण पसल र घरमा खाने सामान राख्नै नसकिने वातावरण बनिरहेको स्थानीय बताउँछन्। बाँदरलाई लखेट्दा उल्टै टोक्ने गर्छन्। बाँदरको टोकाइबाट घाइते हुनेको संख्या पनि बढ्दै गएको छ।

जंगलनजिकै रहेका बुटवल वडा १, २, ३, ४, ५ र ६ का बासिन्दा हैरान भएका छन्। पुरानो बुटवल, मैनाबगर, फूलबारी, गोलपार्क, चिडियाखोला, ज्योतिनगर, अमरपथ र कालिकानगर देवीनगरसम्म बाँदरले आतंक मच्चाएको छ।

बुटवल- १ का हकी मोहम्मद बाँदरका कारण आफू आजित भएको  बताउँछन्।  ‘बुटवलमा बाँदरकै कारण घरबाहिर निस्कन सक्ने अवस्था छैन,’ उनले भने, ‘दैनिक रूपमा दुई/तीन जना बाँदरले चिथोरेर घाइते भइरहेका छन्।’

उनले बुटवल उपमहानगरपालिकासँग अनुरोध गरिए पनि  समस्या समाधान नभएको बताए।  मोहम्मदले भने, ‘बालबालिकाले खाजा वा खाना खाँदा बाँदरले खोसेर खाइदिन्छन्। धपाउन खोज्दा टोक्ने गर्छन्।’

बुटवल- २ का भूमिराम पन्थीले टोलटोलमा बाँदरले आतंक मच्चाएकाले समाधानको उपाय खोजी गरिदिन उपमहानगरको ध्यानार्कषण गराएका छन्। उनले सहरका गल्लीगल्लीमा छिरेको बाँदर धपाउने उपाय उपमहानगरले खोज्नुपर्ने बताए। ‘बाँदरको डरले घरभित्र पसेपछि निस्कन नसक्ने, बाहिर निस्केपछि घरभित्र पस्न नसक्ने अवस्था भएको छ,’ उनले दुःखेसो पोखे।

पारी बुटवलका मिठाई पसलमा बाँदरले एक्कासि आएर जुठो हाल्ने, सामान फाल्ने गरेकाले व्यापार चौपट भएको व्यवसायीहरूको भनाइ छ। ‘बाँदर बजारका घरघरमा छिर्न थालेपछि साह्रै समस्या भएको छ,’ बुटवल- १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले भने, ‘व्यवस्थापन कसरी गर्ने हामी हैरान छौँ।’

बाँदरले टोकेर घाइते भएको गुनासो लिएर आउनेहरू बढ्दै गएको र बाँदर नियन्त्रण गर्ने उपाय नपाउँदा समस्या भोग्नुपरेको उनले सुनाए। ‘बाँदरलाई मार्न भएन, छोप्न सकिँदैन,’ उनले भने, ‘समस्या धेरै छन्। तर समाधान कसरी गर्ने अन्योलमा छौँ।’ पाँच वर्षयता बुटवलमा बाँदरले उपद्रो मच्चाउन थालेको बस्नेतले बताए।

बुटवल उपमहानगर- ५ का वडाध्यक्ष हरि श्रेष्ठले बाँदर नियन्त्रण कसरी गर्ने भन्ने विषयमा अध्ययन थालिएको बताए। ‘यो समस्या प्रत्येक वर्ष बढेको छ,’ उनले भने, ‘वडाध्यक्षमा निर्वाचित भएयता बाँदरलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे अध्ययन गरिरहेको छु।’

वडा न. ५ ले एक लाख रुपैयाँ छुट्याएर खोर बनाउने योजना बनाएको छ। वडाध्यक्ष श्रेष्ठका अनुसार बुटवल उपमहानगरको पशुपक्षी शाखासँग समन्वय गरेर दीर्घकालीन उपायका बारेमा छलफल भइरहेको छ।

बुटवल बजारको उत्तरतर्फ चुरे पहाड छ। त्यो पहाडमा पहिलेदेखि बाँदर थिए। तर पछिल्लो समय पहाडमा जंगल भए पनि बाँदरका लागि चाहिने आहारा नभएपछि ती आहाराकै खोजीमा सहर पसेको जानकारहरू बताउँछन्।

बुटवल उपमहानगर पशुपक्षी शाखाका प्रमुख ‘बाँदर सहर पस्नुमा मुख्य कारण आहारा नै हो,’ झविन्द्र बन्जाडेले भने, ‘पहिले जंगलमा बाँदरका लागि वन केरा, वरपीपल, स्वामीजस्ता फल लाग्ने रूख छैनन्। जंगल भरिएको देखिए पनि बाँदरको आहारा हुने वृक्ष नहुँदा उनीहरू सहर छिर्न थालेका हुन्।’

बुटवलमा बाँदरको समस्या दैनिक बढ्दै गएपछि विज्ञहरूसँग छलफल गरी कार्ययोजना बनाइरहेको बन्जाडेले बताए। ‘बाँदरले आहारा नपाएकाले आक्रमण गरेको हो,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गरेर खोरमा राखेर खानेकुरा दिन थाल्ने हो भने समस्या समाधान हुन सक्छ।’ बाँदरलाई आहारा दिएर आतंक नियन्त्रण गर्न सकिने उनको बुझाइ छ।

बुटवल उपमहानगरमा करिब तीनदेखि पाँच सयको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ।

प्रकाशित: १९ माघ २०७९ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =